फिचर

जनकपुर विमानस्थलमा अब इन्धन भर्ने सुविधा

जनकपुर । वायुसेवा कम्पनीले अब जनकपुर विमानस्थलमा पनि जहाजमा इन्धन भर्न पाउने भएका छन् ।

जसले गर्दा जहाजले अतिरिक्त इन्धन बोकेर जानुपर्ने बाध्यता हटेको छ ।

शुक्रबार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादबले हवाई इन्धन रिफ्युलिङ स्टेशनको उद्घाटन गरेका हुन् ।

नेपाल आयल निगमले जनकपुर विमानस्थल संचालनमा आएको ५३ वर्षपछि हवाई इन्धन रिफ्युलिङ स्टेशन खोलेको हो ।

मन्त्री यादबले बुद्ध एयरको जहाजमा इन्धन भर्दै सेवा प्रारम्भ गरेका हुन् । निगमले विमानस्थल कम्पाउण्डमै रिफ्युलिङ स्टेशन खोलेको हो ।

यहाँ ४१ हजार लिटर क्षमताका दुई ट्यांकर इन्धन राखिएको निगमले जानकारी दिएको छ । यहाँ विराटनगर डिपोबाट हवाइ इन्धन आउने भएको छ ।

उक्त अवसरमा मन्त्री यादवले विमानस्थललाई सुविधा सम्पन्न बनाउने प्रतिवद्धता जनाउँदै जनकपुरको विकासमा यो विमानस्थलको ठूलो महत्व रहेको बताए ।