कला / साहित्य

माया मारेर मारिने चिज होइन रहेछ

आरएल श्रमजीवी
युरोपबाट

भोटु भनेर सम्बोधन गरौं कि खै के भनेर सम्बोधन गरुँ तिमीलाई ? हिजो तिमीले नै मलाई छोटु भनेर सम्बोधन ग¥यौ मैले त्यसको सट्टा तिम्रो बाल्यकालको प्रिय नाम भोटु भनेर सम्बोधन गरेको थिएँ । सम्बोधनमा पनि यति ठूलो बहस किन भनेर तिमी भन्दी हौ । हो, सम्बोधनबाटै सम्बन्धहरु नजिक र टाढा हुन्छन् । भोटु भन्ने अधिकार गुमाइसकेको छु । तिम्रो नजरमा म के छु मलाई के थाहा । तर, मेरो नजरमा तिमी एक मेरो जिजिविषा ! त्यसैले त आज तिम्लाई शब्दले सम्बोधन गर्ने भनेर अलमलमा छु । पराल साल अगष्ट २५ का दिन मैले पानी, दही र केरा दिएर बिदा गरेको थिएँ । आँखा टिल्पिल पार्दै बिदा हुने बेलामा भनेकी थियौ– छोटु म तिमीलाई लामो इमेल लेख्छु । आज तीन वर्ष बितिसक्दा पनि तिम्रो लामो इमेल आएन । सायद इमेल लेख्ने फुर्सद भएन होला … हगी भोटू ?
कस्तो होला तिम्रो इमेल भनेर एक अजनबीको तरह एक साल लालसामा बितेपछि युरोपको काम र महाथकानका कारण बिस्मृति रोगी अर्थात् अल्जाइमरको रोगी जस्तै सम्झँदै झल्यास्स हुँदै फेरि अर्कै कुरा सम्झन पुग्थें । अस्ति तिम्रो बैशाखी टेकेको फोटो देखेर मन भारी भो उत्तर खोजे पोस्ट गरेको फोटोको क्याप्सनले उत्तर दिएन तर तिमीले नजन्माएको छोरोले आमा भनेको त्यसैमा खुशी भएको कुरा राखेकी रहिछौ । तिमी कति खुशी छौ, तर म नजरअन्दाज गर्न सक्छु । तिम्लाई त लाग्छ होला म तिमीबिना नै खुशी छु ! अहँ, त्यो कदापि हुन सक्दैन, मैले त मात्रै समयसँग चल्न सिकेको हुँ ! ओंठमा मुस्कान लिएर हिँड्ने सबै खुशी कहाँ हुन्छन् र ! छातीभरि सहन नसक्ने पीडा भएर त आजकल सधैं मुस्कुराउने बहाना खोजिरहेको छु । लाग्छ होला मैले तिम्लाई गर्ने माया झुट थियो ! तर, होइन म त तिम्लाई सच्चा दिलदेखि नै माया गर्थें, मेरो जिन्दगीमा कुनै यस्तो परिस्थिति आएको थियो कि मार्कस्पोम्बालाको डाँडामा तिम्रा बलिन्द्र धारा आँशुकै कारण म तिमीदेखि चुपचाप टाढा हुनुपर्ने थियो । त्यसैले तिमीदेखि टाढा गएँ ! तर, तिमीदेखि जति टाढा गए पनि तिम्रो याददेखि कहिले टाढा जान सकिन र जान पनि चाहन्न । यो पूरै जिन्दगी तिम्रै यादमा बिताउन चाहन्छु । आफैँलाई थाहा छैन त्यो याद कस्तो थियो । भन्ने कुरा त धेरै थिए, तर लेख्न सकिन किनकि मैले लेख्ने हरेक शब्दमा मसीभन्दा बढी आँसु प्रयोग गरेको छु ।
हुन त तिम्लाई केही भन्ने अधिकार छैन मलाई तर पनि म चाहन्छु तिमी मलाई बिर्सिएर बाँच, दिल खोलेर हाँस ।
म तिम्रो नजरमा धोकेबाज बनेको छु तर मैले तिम्लाई धोका दिएको होइन मेरो आफ्नै बाध्यता थियो त्यसैले तिमीदेखि दूर गएको हुँ । यदि धोका नै दिएको थिएँ भने आज तिम्रो बैशाखी टेकेको तस्वीर हेर्दा पीडा मलाई किन हुन्थ्यो ? तिम्रो याद आउँदा आँशु किन झथ्र्यो ? विश्वास छ तिम्ले किताब लेख्दैछु त्यो किताबमा लेखिने एउटा पात्र म पनि हुनेछु होला कि ? म तिमीसँग कहिले गुनासो गर्दिन किनकि मेरो बाध्यता र विवशता कति–कति ? ती सबै म तिम्लाई कहिले खुलाउन सक्दिन । तर, तिमीलाई थाहा छ मेरो विगतको बसोवास अनि मेरो लिस्बनदेखि बेल्जियमसम्मको आवरण । भुइँमा पछारिएको मात्र थाहा हुन्छ पछारिँदा साह्रो शरीरभरि कसरी दुख्छ ? एक पल्ट भुइँमा पछारिएर त उठ ।
हो त्यतिबेला जीवन चिनिन्छ, जगत देखिन्छ । भोटु आज म युरोपमा सात वर्षको भएँ अर्थात् मेरो युरोपको जीवन ७ वर्षमा दौडिरहेको छ । आजको दिन मैले जीवनका आरोह–अवरोहलाई गम्भीर शिवालोकन र समीक्षा गर्नैपर्छ । कसरी यो ज्यानमाथि घात–प्रतिघात भो ? क–कसले लुटे ? किन यसरी धोका खायो यो ज्यानले ? यहाँसम्म कसरी पुग्यो ? लगाएका लुगा जोगाउन मैले एउटा साथीको दराजमा राखेको थिएँ ती मन परेका कोट–सर्ट फ्याँकिदा म रोएको थिएँ ।
… हुन त सबै देश छोडेका परदेशीको कथा मात्र हुँदैन, व्यथा पनि हुन्छ । आफ्नो मातृभूमिको माया कसलाई हुँदैन र ? कोही पनि रहरले आफ्नो जन्मभूमि छोडेको हँुदैन सबैका बाध्यता र मजबुरीले परदेश भासिएका हुन्छन् । यतिबेला म भुइँमा पछारिएर उठेको छु । पुराना मेरा गल्ती पाठ हुन् मैले भोगेको यो संसार खुल्ला विश्वविद्यालय हो । मलाई युरोपले धेरै सिकायो पनि चिमोट्यो, घोंच्यो भत्भती पोल्यो अन्तिममा मलाई यसले मलाई श्रमको मूल्य दियो । सीप, जाँगर र असीमित ऊर्जा दियो पनि । सपना त म सधैं देखिरहन्थें । अब छिट्टै आफ्नै गाउँ फर्कनेछु । मलाई मेरै गाउँको माया छ । मलाई लुइँटेल गाउँ, रानीपानी चापकोबोट बालुवा र अन्त्यमा मेरा पुर्खा खरानी बनाइएको ठाउँ कनिकेश्वर घाट नै मेरा लागि प्रिय छन् । म त्यत्तिकै फर्कने छैन, मसँगै मेरा सपना छन् तर राजनीतिक स्थिति उही छ । लगानीको वातावरण छैन देशमा । कृषि, पर्यटन र घरेलु उद्योगमा ठूलो लगानी गरे मात्र देश बन्छ तर अहिलेसम्म लगानी गर्ने कुरामा कोही तम्सिएका छैनन् । अब पनि लगानी गर्ने वातावरण नबने हाम्रो देश कहिल्यै पनि बन्दैन । हैन र ?
तिमीले लामो इमेल नलेखे पनि मैले पहिला लेखे के फरक भो र ? तिमीले कासकाइसमा हिँडेका पाइला हुन् वा एन्थ्रोपेनमा तिनै बाटोले मलाई खिल्ली उडाएपछि मैले लेख्नैपर्ने बाध्यता भो । मेरो खबर जान्ने हो भने म जति दिन बाँच्छु सके जति सबैका लागि ओंठमा एउटा मुस्कान राख्नेछु । मेरो कसैसँग प्रतिस्पर्धा पनि छैन, कसैप्रति रिसराग पनि छैन । र, कुनै गुनासो पनि छैन । हार्ने डर पनि छैन, कसैलाई जित्ने मोह पनि छैन । सकेको कर्म गर्दै जाने हो बाँकी आफैँ हुँदै जान्छ । न बाँच्दा संसारको सबै कुरा प्राप्त हुन्छ, न मर्दा आफूसँग भएको केही कुरा लान नै पाइन्छ ।
बाँचुञ्जेल प्रकृतिलाई भोग्ने, मर्दा प्रकृतिलाई नै सबै छाडेर जाने हो हरेक मान्छेले । युरोपको भूमिमा तिमी मलाई पछ्याउँदै भेटेपछि मैले भनेको थिएँ भोटु तिमी मेरो नाफाको मान्छे । तिमीसँग अथाह सम्भावना छ । थाहा छैन यतिबेला तिमी आफैंसँग लड्दै छौ कि ? जित्ने र हार्ने समयको कुरा हो । मलाई भनेकी थियौ कि अर्को वर्षमा मेरो जीवनको किताब लेख्ने छु । खै किताब आएन ? मैले त किताब लेख्दा लेख्दै डर लागेर आयो छोपेर लेख्नै सकिन यो जीवनको क्यानभास किन श्यामश्वेत बनाउने भनेर लुकाएर लेख्नै जानिन । हो, नेपाली साहित्यमा बीपी कोइराला जस्तो बेजोड लुकाएर लेख्न सक्ने मैले अरुलाई पढेको छैन । झूरहरू विज्ञापनकै भरमा बिक्छन् तर गतिला हँुदैनन् । अन्त्यमा भोटु बरु पराई नै बन, तर आफन्त जस्तो मात्रै नबन । सहन गाह्रो हुन्छ के ?
यो जिन्दगी बगिरहेछ, फेरि नफर्कने गरी । हामीले देखेका, भोगेका यी प्रत्येक पल बितेपछि फेरि फर्किएर आउने छैनन् । आखाँको पलसँगै सबैथोक अतितमा फेरिन्छन् । हामीले हिँडेका प्रत्येक पाइला, बोलेका प्रत्येक शब्द, खसालेका प्रत्येक आँशु, बाँडेका प्रत्येक मुस्कान यी कुनै पनि फेरि फर्कंदैनन् । समय मात्र अघि बढिरहन्छ । हिजै जस्तो लाग्दालाग्दै थुप्रै शिशिरहरू आउँछन् र जान्छन्, थुप्रै वसन्तहरू आउँछन् र जान्छन् । हाम्रा सबैथोक याद बनेर रहन्छन् । जब जिन्दगीको अन्तिम दिनहरू हाम्रासामु आउँछन्, हामी ती यादहरूलाई केलाउँछौं… मन त्यस्तो एउटा घर रहेछ जहाँ जिन्दगीका हरेक पर्खालहरुबाट जिन्दगी बाँचुन्जेल कहिले हाँसेर त कहिले खुसी भएर र कहिले रोएर दिनहरु बिताइन्छ । त्यसैले भोटु … माया मारेर मारिने चिज होइन रहेछ ।