बिचार

नेपाली कवितामा मौलाएका बाद

आचार्य पीपलमणि सिग्देल

नेपाली कविताको आधुनिक स्वरुप विविध घुम्ती र मोडहरू पार गर्दै विभिन्न वाद र प्रवृत्ति अँगाल्न पुगेको छ । आधुनिक नेपाली कविताले पूर्वीय र पाश्चात्य शैलीलाई अँगाल्दै अनेक वाद, नयाँ आयाम र नवीनतम प्रवृत्तिहरूलाई आत्मसात गरेको छ । नेपाली कविताको विकासक्रमको अध्ययन र विश्लेषण गर्दा पनि वाद र प्रवृत्तिका आधारमा गर्नु उपयुक्त देखिन्छ । नेपाली कविताको आधुनिक काललाई यसरी विभाजन गर्न सकिन्छ । परिष्कारवादी धारा (वि.सं. १९७५ — १९९० सम्म), स्वच्छन्दतावादी–प्रगतिवादी धारा (वि.सं. १९९१—२०१६सम्म), प्रयोगवादी धारा (वि.सं. २०१७—२०२९ सम्म) र समसामयिक धारा (वि.सं. २०३० देखि हालसम्म) परिष्कारवादलाई शास्त्रीयतावाद भनेर पनि चिनिन्छ । यो वाद पाश्चात्य साहित्यको क्लासिसिजमबाट आएको हो । क्लासिकल शब्दको अर्थ शाश्वत रुपमा पठनीय साहित्य भन्ने अर्थ अझै जीवित छ । यस वादमा जीवनको स्पष्ट दृष्टि, विवेक तथा तर्क अनि भावनाको विषय संयोजन गरी सुन्दर शिल्पका साथ विषय संयोजन गरिन्छ । परिष्कारवादी कविहरू भावना र बौद्धिकतामा ध्यान दिँदै परिष्कार र परिमार्जनलाई महत्व दिन्छन् । भावनाको परिधिलाई वास्ता नगरी बोद्धिकतामा नै विशेष अभिरुचि राख्दछन् । नेपाली कविताको आधुनिक काल पनि परिष्कारवादबाट नै प्रारम्भ हुन्छ । यस वादका केन्द्रीय प्रतिभा लेखनाथ पौड्याल हुन् । उनको परिमार्जित कलमबाट कविताको विषय कलात्मक रुपमा प्रस्तुत भएको पाइन्छ । कथ्य र शिल्पका बीच देखिने अपूर्व सङ्गमनै उनको कलमको विशेषता हो । पौड्यालले प्रारम्भ गरेको यस यात्रामा सोमनाथ सिग्द्याल, बालकृष्ण सम, धरणीधर कोइराला, महानन्द सापकोटा, भवानीप्रसाद सापकोटा, रुद्रप्रसाद सापकोटा, पूर्णप्रसाद ब्राह्मण, भरतराज शर्मा, भरतराज मन्थलिय आदि कविहरूले कलम चलाएका छन् ।

परिष्कारवादपछि नेपाली कवितामा स्वच्छन्दतावादको प्रयोग प्रारम्भ हुन्छ । स्वच्छन्दतावाद पाश्चात्य साहित्यको रोमान्टिसिजमबाट नेपालीमा भित्रिएको वाद हो । यस वादलाई नेपाली कवितामा भित्र्याउने महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा नै यो वाद विकसित भएको हो । परिष्कारवाद र स्वच्छन्दतावादका बीच स्पष्ट भिन्नता देख्न सकिन्छ । यथार्थमा स्वच्छन्दतावादी कविहरूले स्वतस्फुर्त अनुभूतिको आत्मपरक अभिव्यक्तिलाई अङ्गीकार गरी नयाँ धाराको निर्माण गरेको प्रतीत हुन्छ । यी कविहरू सहज हृदयबाट प्रस्फुटित हुने भावुक अभिव्यक्ति र प्राकृतिक विषयवस्तुमा बढी जोड दिन्छन् । विराट् प्रकृतिको भण्डारमा आकर्षित भएर यिनीहरू काव्य सिर्जना गर्दछन् । परिष्कारवादी कवितामा आवेगलाई विवेकले नियन्त्रण गरिन्छ भने स्वच्छन्दतावादी कवितामा अतीतको गौरव, कृत्रिम र सहरी सभ्यताको खिल्ली उडाउँदै प्राकृतिक सभ्यताकै पक्षमा अभिव्यक्ति दिइएको हुन्छ । वि. सं. १९९१ मा देवकोटाले प्रारम्भ गरेको यस धारामा सिद्धिचरण श्रेष्ठ, युद्धप्रसाद मिश्र, माधव घिमिरे आदि कविहरूले कलम चलाएका छन् । कोमल हार्दिकता, कल्पनाको प्रचूरता, प्रकृतितर्फ उन्मुख, मानवप्रेम, देशप्रेम र विश्वप्रेम आदि विशेषताले स्वच्छन्दतावाद मौलाएको पाइन्छ ।  स्वच्छन्दतावादी–प्रगतिवादी कविहरूले स्वच्छन्दतावादका असल पक्षलाई अङ्गीकार गरी असान्दर्भिक र असाधारण पक्षलाई मिल्काउँदै यथास्थितिको विरोधमा काव्यधारा प्रवाह गरेको पाइन्छ । यस वादका कविहरूमा गोपालप्रसाद रिमाल अग्र पंतिमा पर्दछन् भने हृदयचन्द्र सिंह प्रधान, कृष्णचन्द्र सिंह प्रधान, भूपी शेरचन, विजय मल्ल आदि कविहरूले पनि ख्याती कमाएका छन् । शोषण, अन्याय, अत्याचारको विरोध गर्दै क्रान्ति र विद्रोहको मशाल बाल्दै परिवर्तनको स्वर बुलन्द गर्नु यस वादको मौलिक विशेषता हो । 

चेतनाको सत्तालाई अस्वीकार गरी अवचेतन मनमा विचरण गर्दै खण्डित मनोविम्बहरूका साथ अमूर्तताको केन्द्रीयतामा अनुभूति व्यक्त गर्नु प्रयोगवादी धाराको विशेषता हो । यो धारा स्वच्छन्दतावादी–प्रगतिवादी प्रवृत्तिको विरोधमा देखापरेको हो । यिनीहरू पाश्चात्य कवि पिकासोको अमूर्त कलाबाट प्रभावित छन् । यस धारामा खण्डित भावविम्बहरूको प्रयोग, विम्ब र प्रतीकको प्रयोग, भग्न प्रयोग, लुप्त विभक्तिको प्रयोग, दुरान्वयको प्रयोग, अमूर्तता आदि विशेषता रहेको पाइन्छ । यस धाराको विकास वि.सं. २०१७ सालतिर भएको हो । यस वादका केन्द्रीय प्रतिभा मोहन कोइराला हुन् भने उपेन्द्र श्रेष्ठ, मदन रेग्मी, द्वारिका श्रेष्ठ र कृष्णभक्त श्रेष्ठले पनि कलम चलाएका छन् । दार्जलिङबाट आयमेली आन्दोलन प्रारम्भ भएपछि यो वाद झनै मौलाएको पाइन्छ ।

यस आन्दोलनका नेतृत्वकर्ता ईश्वर वल्लभ, वैरागी काइँला र ईन्द्रबहादुर राई हुन् । यस वादले जीवनलाई चेप्टो किसिमले मात्र नहेरी लम्बाई, चौडाई र गहिराईबाट पनि हेर्नुपर्छ भन्ने मान्यता अघि सारेको पाइन्छ । नवीनतम प्रयोगको चाहना यिनीहरूमा मौलाएको पाइन्छ । 

मोहन काइरालाको प्रयोगवाद र ईश्वर वल्लभ आदिको आयमेली आन्दोलनपछि नेपाली कवितामा कठिनता र दुरुहता थपिएको महसुस हुन थाल्यो । बौद्धिकताको खोल ओढेर जटिलताका साथ पाठकसम्म पुग्दा समस्या पैदा भई पाठक र कविबीच ठूलो खाडल पैदा हुन थाल्यो । यसै सन्दर्भमा सरलताको खोजी गर्दै नयाँ बाटो र प्रवृत्तिको खोजी भयो । यसैको परिणामस्वरुप वि.सं. २०३० देखि नेपाली कवितामा परिष्कारवाद र स्वच्छन्दतावाद मिलाएर समसामयिक धाराको जन्म भयो । यस धाराले कवि, कविता र स्रोताबीचको सम्बन्ध सुमधुर पार्न प्रयत्न गरेको देखिन्छ । यस धाराका कविहरूले राजनीतिक, आर्थिक, सामाजिक विकृति र विसंगतिप्रति तीखो व्यङ््ग्यवाण प्रहार गर्दै सुधारको आवाज बुलन्द गरेको पाइन्छ । शैली, संरचना तथा साहित्यका विविध मूल्यको अभाव कतैकतै देखिए पनि भाव, विचार र वस्तुलाई समन्वय गरी जीवनका कथा, व्यथा र समस्याहरूलाई उद््घाटन गर्ने कार्यमा यो वाद सफल देखिन्छ । यस वादका प्रमुख कविहरूमा कणाद महर्षि, अशेष मल्ल, केदार न्यौपाने, गोविन्द गिरी ‘प्रेरणा’, दिनेश अधिकारी, डा. दुबसु क्षेत्री, विष्णुविभु घिमिरे, जीवन आचार्य, विमल निभा, अविनाश श्रेष्ठ, मेघराज मन्जुल, विमल कोइराला आदि पर्दछन् । यस धाराअन्तर्गत छन्दमा कलम चलाउनेहरूमा वासुदेव त्रिपाठी, घनश्याम कँडेल, दैवज्ञराज न्यौपाने, कृष्णप्रसाद भट्टराई, प्रयागराज वाशिष्ट, गणेश विशम, भरतराज पन्त, भरतराज मन्थलीय, रमेश खकुरेल, भुवनहरि सिग्देल, भानुभक्त पोख्रेल, मोदनाथ प्रश्रित आदि पर्दछन् । वर्तमानका अनेक कविहरूले यस धारामा कलम चलाइरहेका छन् । यसरी नेपाली समहित्यमा अनेक वाद र प्रवृत्ति मौलाएको पाइन्छ । वादभित्रपनि सबै कविहरुमा केही न केही नवीनतम मौलिक छटा र बान्की देखिन्छ नै ।