समाचार

योगेश भट्टराई बने पर्यटन मन्त्री

काठमाडौं । नेकपाका युवा तथा प्रभावशाली नेता योगेश भट्टराई पर्यटन मन्त्रीमा नियुक्त भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

बुधबार अपरान्ह मन्त्री भट्टराईले शितल निवासमा राष्टपति विद्यादेवि भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिए ।

लगत्तै उनी मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । नेकपाका युवा तथा आशालाग्दो नेतृत्वका रुपमा भट्टराईले विशिष्ट पहिचान बनाएका छन् ।

मन्त्रालय सम्हालेपछि मन्त्री भट्राईले मन्त्रालयको भूमिका निर्वाह गर्ने क्रममा सबैको साथको आवश्यकता रहेको औल्याए ।

आफूलाई दिउँसो १ बजेमात्र मन्त्री हुने जानकारी प्राप्त भएको भन्दै उनले आफूलाई योग्य सम्झेकोमा प्रधानमन्त्रीलाई धन्यवाद पनि दिए ।

उनले आफूले इमानदारीसाथ जिम्मेवारी निर्वाह गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले भ्रमण वर्षको सफलता, नेपाल एयरलाइन्सको गरिमा बढाउने तथा पूर्वाधार निर्माणलाई प्राथमिकता दिने उनले बताए ।

मन्त्रालयमा कार्यालय सहयोगीदेखि राज्यमन्त्रीसम्मको सहयोगको आवश्यकता रहेको भन्दै उनले सबैबाट आफूले सिक्न चाहेको बताए ।

निर्देशनभन्दा बढी सामूहिक निर्णयमा ध्यान दिने उनको भनाई छ । मन्त्री भट्टराईलाई मन्त्रालयमा राज्यमन्त्री धनबहादुर बुढा, सचिव मोहनकृष्ण सापकोटा, मन्त्रालयका सहसचिवहरु, कर्मचारी तथा व्यवसायीहरुले मन्त्रालयमा स्वागत गरे ।

मन्त्री भट्टराईको जिम्मेवारीमा ६ महिनादेखि थाती रहेका कामहरुलाई अगाडी बढाउनु ठूलो चूनौतिका रुपमा रहेका छन् ।

१५ फागुन २०७५ मा हेलिकोप्टर दूर्घटनामा परी पर्यटन मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि यो मन्त्रालय नेतृत्वबिहिन अवस्थामा थियो ।