समाचार

१५ मंसिर अगाडी नै उपनिर्वाचनको सिफारिस

काठमाडौं । निर्वाचन आयोगले आगामी १५ मंसिर अगावै उपनिर्वाचन सम्पन्न गर्न सरकार समक्ष सिफारिस गरेको छ।

आयोगका अनुसार मध्य मंसिरभन्दा अगाडी नै उपनिर्वाचन सक्न सरकारलाई सिफारिस गरिएको छ ।

आयोगले उपनिर्वाचनको विषयमा प्रधानमन्त्रीसँग छलफल गरिसकेको छ । अब दलहरुसँगको छलफलमा मिति तयर गर्ने सरकारको छ ।

आयोगका अनुसार अहिले देशभर ५० स्थानमा उपनिर्वाचन गराउनु पर्ने आवश्यकता छ । विविध कारणले खाली भएका संघ, प्रदेश र स्थानीय तहमा निर्वाचन गराउनु पर्छ ।

त्यसमध्ये प्रतिनिधिसभा सदस्यको कास्की ३ खाली छ । यो स्वा. सांसद तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारीको क्षेत्र हो ।

उनी १५ फागुनमा हेलिकोप्टर दूर्घटनामा परी निधन भएको हो ।

प्रदेशतर्फ बाग्लुङ २ (ख) मा गण्डकी प्रदेश सांसद टेकबहादुर घर्ती, प्रदेश ५ को दाङ ३ (ख)मा उत्तरकुमार ओली र प्रदेश ३ को भक्तपुर १ (ख)बाट हरिशरण लामिछानेको निधन भएपछि प्रदेशसभाका तीन स्थान खाली छन् ।

सुनसरी, धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको निधन भएकाले यहाँ पनि उपनिर्वाचन गराउनु पर्नेछ ।

विभिन्न तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ३६ जिल्लाका ४१ वटा वडा अध्यक्षको पद पनि रिक्त रहेको आयोगको भनाई छ ।

नेपालमा डेढ वर्ष अगाडी निर्वाचन भएपछि संघीयता पूर्ण रुपमा लागू भएको थियो ।