रोचक खवर

एउटा खुट्टाले कत्थक नाच्ने सीताको कथा

म चञ्चले स्वभावकी थिएँ, नाम सीता सुवेदी । आमाले कति फुरफुर गरिराकी भन्नुहुन्थ्यो । गीत बजेको सुन्नेबित्तिकै खुट्टा सलबलाउन थाल्थ्यो । एक ठाउँमा बस्नै नसक्ने खालकी थिएँ । चितवन मेघौलीको हाम्रो घरमा आउने आफन्त पाहुनाले कति राम्री फुच्ची, हिरोइन बन्ला जस्ती छे, भन्थे । म गदगद भएर भित्र बाहिर गरिरहन्थे । ‘चकचके सीता’ भन्थे मलाई । पढाइमा मध्यम खालकी थिएँ । तर मेरो चञ्चलताले टिनएज टेक्दा नटेक्दै १२ वर्षको उमेरमा ममाथि वज्रपात भयो । सामान्य घाउको हेलचक्र्याइँले देब्रे खुट्टामा क्यान्सरको जिवाणु बसेछ । क्यान्सर भयो भन्ने सुनेपछि पनि मैले त निको हुन्छ होला भन्ने ठानेकी थिएँ । पछि आमाबुबा रोइरहन थालेपछि मलाई धेरै डरलाग्न थाल्यो । आखिर काट्नु पर्ने अवस्थामा पुगिसकेको रहेछ । आखिर विस २०५७ सालमा १२ वर्षको उमेरमै मैले देब्रे खुट्टा घुँडाभन्दा माथिदेखि नै गुमाउन पुगें । मैले कयौं महिना आफूलाई हेर्नै सकिन । म किन बाँच्नु छ र अब ? भन्ने भावना हरपल मनमा आउन थाल्यो । अरु दौडेको हिँडेको देख्दा आँखा पिलपिल भइरहन्थ्यो । एक्लै बस्दा मेरो काम भनेको रोइरहने मात्र भइरह्यो । सानासाना दुई बहिनी र एउटा भाइलाई देख्दा पनि मन भक्कानिएर आउँथ्यो । पहिलो सन्तानको नै यो हालत देखेर आमाबुबा साह्रै निराश हुनुहुन्थ्यो । मेरी आमा सरस्वती सुवेदी र बुबा बालकृष्ण सुवेदीको ममता र जिम्मेवारीपूर्ण संघर्ष अहिले म महसुस गर्न सक्छु । भगवान हुन् मेरा लागि ।
म स्कुल पनि जान्न भनेर बसेकी थिएँ । पछि घरपरिवार अनि स्कुलका सर–मिसहरुले हौसला दिनुभयो । स्कुल जान थालें । केही साथीहरुले ट्वाल्ल परेर हेरिरहे पनि धेरैले सहयोग र माया गर्थे । मलाई फेरि पढाइमा रुची बढ्न थाल्यो । मैले बोले पनि सबैले राम्रो भनिदिने ग¥यो । मैले नाचे पनि एकदम राम्रो भनिदिन थाल्यो । हौसला नै हौसलामा मैले जिन्दगीमा रंगहरु पोत्न थालें । जिन्दगी रंगीन देख्न थालें । गुमाएकी खुट्टाको अभाव मधुरो अनि समाजको माया चहकिलो बनेर आउन थाल्यो । उच्च शिक्षा हासिल गर्न काठमाडौंमा आएपछि त्यति सजिलो भएन । बैसाखीको सहारामा बस, टेम्पो, सिंढी, पुल इत्यादि पलपल झेलिरहनु पर्ने । हात र अर्को गोडा असाध्यै गल्ने । पछि बिस्तारै बानी पर्दै गयो । त्यतिबेला लाग्थ्यो, किताबमा पढेको जस्तै, सिनेमामा देखेको जस्तै मेरो देशको सडक, बस्ती पनि अपांग मैत्री कहिले बन्ला ? पसल डिपार्टमेण्टल स्टोर्सहरुले कहिले अपांग मैत्री पहुँच बनाउलाझैं लाग्थ्यो । अझै पनि खासै मैत्री छैन । धन्न मैले बैसाखीले सिंढीहरु चढ्न सक्छु । ह्वील चेयरमा बसेर संघर्ष गरिरहेकाहरु देखेर अझ मन दुख्छ ।
काठमाडौंमा बाँच्नका लागि पर्यटन क्षेत्रमा काम गरें । सामान्य जागिर खाएँ । पछि पढाइ बढाउन त्यो जागिर पनि छाडें । बुबाआमाले नै थेग्नुभयो । एमएसम्म त पढ्छु भन्ने थियो, त्यो गरें । भर्खरै त्रिभुवन विश्वविद्यालय अन्तर्गत पाटन क्याम्पसबाट नेपाली विषयमा स्नातकोत्तर गरें । दीक्षान्त समारोहमा फुर्का झुण्डिएको टोपी लगाउने दिन नजिकिंदै गर्दा उत्साहित भएकी छु । हाल म नृत्य विषयलाई लिएर अरु अध्ययन गर्दै छु । कत्थक विषयको तेस्रो वर्षमा पुगेकी छु । एउटै खुट्टाले भए पनि नाचेर रमाउन मनपर्छ । अरुलाई रमाइलो गरिदिन मनपर्छ । अहिलेसम्म मैले नेपालको विभिन्न ठाउँहरुमा गएर नृत्य गरिसकेकी छु । करिब ३०–३५ ओटा स्टेजहरुमा एउटा खुट्टाले नृत्य गरिसकेकी छु । आयोजकहरुले माया र सद्भाव राख्नुहुन्छ । म सकेसम्म दुःख र पीडालाई भुलाएर खुसीलाई आत्मसात गर्न चाहन्छु । जीवनमा उतारचढाव त कसको नहोला । वर्तमान र भविष्यलाई सजाउन सक्नुपर्छ जस्तो लाग्छ ।
अब मलाई कत्थकमा उच्च शिक्षा हासिल गरेर अन्तर्राष्ट्रिय स्तरको स्टेजमा कत्थक देखाउने धोको छ । अहिले म एक्लै बस्न थालेकी छु । खर्च आफै पु¥याएकी छु । विभिन्न जिल्लामा हुने महोत्सवहरुले मलाई पनि बोलाइदिए हुने जस्तो लाग्छ । जीवनमा माया र अपहेलना सबै झेलेकी छु । यद्यपि, के सिकेकी छु भने समाजमा माया र दया भएका मानिसहरु धेरै हुन्छन् । एकाध भेटिने अबुझ मान्छेहरुलाई समाजको उदाहरण बनाउनु हुँदैन ।
सबैको माया र साथ पाए जो–कोहीले पनि उच्च शिक्षा हासिल गर्न सक्दछ । समाजमा माया र आपसी सहयोगको खाँचो छ । मैले समाज र आफन्तबाट पाएको साथलाई नै मेरो सन्तुष्टी र सफलताको कसी ठानेकी छु । अपाहिज, अशक्त र अपांगलाई माया गर्न सिकौं । संसार सुन्दर छ । समाजका बिसंगति आफै घट्दै जानेछन् । यस्तै विषयहरुमा मैले लेखहरु पनि लेख्ने गरेकी छु । भविष्यमा आफ्नो कथाहरु लेख्ने छु । राम्रो कत्थक नाचेर संसारलाई देखाउने छु ।

(योगेश आदीसँगको कुराकानीमा आधारित)