अमेरिका

न्युयोर्कमा ट्याक्सी चालक काम असुरक्षित बन्दै, फेरी अर्को ट्याक्सी चालकको गोली हानी हत्या

गत २६ तारिख शुक्रबार न्युयोर्क ब्रुकलिनस्थित ईस्ट न्युयोर्कको सडकमा एक पेसेन्जर कार (लिब्री कार) ड्राईभर युवाको लास सडकमा लडिरहेको अवस्थामा फेला परेको छ । प्रहरीका अनुसार भ्याली स्ट्रिममा बसोबास गर्दै आएका २९ वर्षिय नोमन सलेमीको लास टाउकोको पछिल्लो भागमा गोली हानिएको अवस्थामा फेला परेको हो । शुक्रबार  बिहान करिब ३ बजे ईस्ट न्युयोर्कको एटलान्टिक एभेन्यु र विलियम एभेन्युको इन्टर्सेक्सनमा सलेमीको लास फेला परेको प्रहरीले संचार माध्यमलाई बताएको छ ।

न्युयोर्कस्थित अधिकांश आप्रबासीले गर्दै आएको ट्याक्सी ड्राईभरको काम २ दिन पछि छोडेर फर्माक्युटिकल कम्पनीको नयाँ जागिर सुरु गर्ने तयारीमा रहेका पाकिस्तानी मुलका सलेमीको अर्को जागिर खाने धोको पुरा नहुँदै समाप्त भएको एबिसि ७ न्युयोर्कले लेखेको छ । सलेमीको वालेट लास भेटिएको ठाउँ भन्दा ५ ब्लक पर फेला परेको छ भने उनले पेसेन्जर बोक्दै आएको अल्टिमा गाडी चोरी भएको छ । प्रहरीले यो बिषयमा सुचना उपलब्ध गराउनेलाई ५ हजार अमेरिकी डलरको पुरस्कार घोषणा गरेको छ । सुचना प्रहरी हटलाईन १-८००-५७७-८४७७  मा उपलब्ध  गराउन सकिने छ । सलेमीले  “एब्रिव्हेर कार सर्भिस” मार्फत काम गर्दै आएका थिए ।  

पछिल्लो समय न्युयोर्कमा ट्याक्सी ड्राईभिङ व्यवसाय असुरक्षित बन्दै गएको छ ।  

२ हप्ता पहिले न्युयोर्क शहरमा २५ वर्षिय एक ट्याक्सी चालक लुटेराको गोलीले मारिएका थिए । गत जुन महिनामा पनि न्युयोर्कको रकल्यान्ड काउन्टीमा एक ट्याक्सी चालक गाडी भित्रै गोली लागेको अवस्थामा मृत भेटिएका थिए ।  

श्रोत : एबिसि ७ न्युयोर्क