स्वास्थ्य

भारतमै उठ्यो तरकारीमा विषादी मुद्दा

काठमाडौं । भारतबाट नेपाल आउने तरकारी तथा फलफूलमा हानिकारक विषादी पाइएपछि सरकारले नाका मै त्यसको चेकजाँच गर्ने निर्णय गर्यो ।

केही समय कार्यान्वयन पनि भएपछि अचानक भारतले सन्धी सम्झौताको हवाला सरकारलाई उक्त निर्णय फिर्ता लिन बाध्य बनायो ।

अहिले भारतीय सीमा नाकाबाट निर्वाध रुपमा विषादीसहितको तरकारी र फलफूल भित्रिरहेको छ ।

यही मेसोमा स्वयमः भारतमा तरकारीमा भएको विषादीको विषयले चर्चा पाउन थालेको छ ।

शनिबार भारतीय संचारमाध्यमहरुले तरकारीमा रहेको अत्यधिक विषादीले क्यान्सरसम्मको जोखिम हुने भन्दै खोजमुलक सामग्री प्रकाशित गरेका छन् ।

छिटो पकाउने तथा राम्रो फलाउने लोभमा आँपदेखि अदुवासम्मका फल र तरकारीमा विषादीको मात्रा अधिक रहेको पाइएको छ । प्राकृतिक रुपमा पाक्न फललाई लामो समय लाग्छ ।

तर, कृषकलाई त्यतिन्जेल धैयै गर्ने फुर्सद छैन । त्यसकारण उनीहरु एकसाथ छिटो र सबै पकाउने गरी विषादीको प्रयोग गर्छन् ।

यस्तो विषादीमा सुक्ष्म रुपमा क्यान्सरसम्मको जोखिम उत्पन्न गर्ने तत्व रहने बताइएको छ । तरकारी र फलफूलमा विषालु रसायन प्रयोग गरिन्छ र उक्त रसायनको अवधि पुरा नहुँदै त्यो बजारमा आइपुग्छ ।

त्यसपछि हरेक भान्सामार्फत आम मानिसलाई विष खुवाइरहेको तथ्य संचारमाध्यमले बाहिर ल्याएका छन् ।

आँप तथा यस्ता फलफूल पकाउन क्याल्सियम कार्बाइड प्रयोग गरिन्छ ।

भारतमा उत्पादन भएको ठूलो परिमाणको तरकारी नेपालमा आउने गरेको छ । नेपाल तरकारीमा आत्मनिर्भर हुने सम्भावना रहेपछि व्यवसायिक कृषिले प्राथमिकता नपाउँदा आयात गर्नुपर्ने बाध्यता रहेको छ ।