समाचार

अमेरिकामा विभत्स सप्ताहन्त, नश्लबादी घृणा बन्दुकबाट पोखिंदा मारिए निर्दोस ३२ जना

प्रभात भट्टराई/न्यूह्यामसर
अमेरिकामा सप्ताहन्त एक किसिमको उत्सवनै हो । पाँच दिन लगातार काम गरेपछि पाइने दुई दिने ‘विकेन्ड’ मा भरमार रमाइलो गर्ने मुड हुन्छ आम कामकाजी देखि उच्च पदस्थसम्मकै । राष्ट्रपति डोनाल्ड ट्रम्प पनि विकेन्ड पारेर आफ्ना बिभिन्न गल्फ क्लवहरुमा पुगि रहेका हुन्छन् । यस्तै गच्छे अनुसारको तालिका हुन्छ सबै अमेरिकीहरुको विकेन्डमा ।
तर, यो साताको विकेन्ड भने अमेरिकामा आँशु लिएर आइदियो । १३ घण्टाको अन्तरालमा भएका दुई भयानक गोली काण्डका कारण यो सप्ताहन्त कालो विकेन्डमा परिणत भयो । टेक्सासको सीमावर्ती सहर एलपासोमा शनिबार दिउँसो र ओहायोको डेटनमा शनिबार नै मध्यरात भएको ‘मास सुटिङ’मा ३२ ले ज्यान गुमाए भने ५० बढि घाइते भएका छन् ।
यो घटनाले अमेरिकामा अहिले सबैको चैन हराएको छ । अमेरिकी संविधानको दोस्रो संसोधन मार्फत जनतालाई प्रदान गरिएको बन्दुक बोक्न पाउने हकमाथि पुर्नव्याख्याको बहस फेरि तात्न पुगेको छ । अमेरिकामा बन्दुकबाट हुने नरसंहार नौलो भने होइन । सन् २०१९ लागेपछि मात्र २१ वटा मास सुटिङ भइ सकेका छन् भने १३१ जनाले ज्यान गुमाएका छन् । यी घटनामा झन्डै ७० जना घाइते छन् । तर, जब एउटै घटनामा अलिक ठूलो संख्यामा हताहती हुन्छ तब यो बिषयमा धेरै हल्लाखल्ला मच्चिने र केही दिनमा फेरि सेलाउने गरेको छ ।
यसपाली टेक्सास र ओहायो सुटिङ भने फरक प्रवृत्तिका तर अत्यन्त चिन्ताजनक घटनाका रुपमा देखिएका छन् । त्यसमा पनि टेक्सास सुटिङ साँच्चिकै कहाली लाग्दो छ । डाल्लास नजिकै घर भएका २१ बर्षका प्याट्रिक क्रुसियस आम नरसंहारकै लक्ष बोकेर साढे छ सय माइल टाढाको एलपासो १० घण्टा ड्राइभ गरेरका पुगेका थिए । यसरी एलपासोलाई लक्षित गर्नुको कारण भने ‘हिस्पानिक (मेक्सिन मूल)’का व्यक्तिहरुलाई सिध्याउने रहेको उनको मेनिफेष्टोबाट प्रहरीले पत्ता लगाएको छ । हिस्पानिकहरुले अमेरिकालाई ‘विषाक्त बनाएको कारण सफाइ गर्न लागेको’ आशयको क्रुर मेनिफेष्टो उनले तयार गरेको प्रहरीको भनाइ छ ।
मेक्सिकोसँग सीमा जोडिएको सहर एलपासोमा हिस्पानिकहरुको बहुमत छ । त्यसैले विकेन्डमा धेरै सर्वसाधारण किनमेलका लागि निस्किन्छन् भन्ने रणनीतिक योजनाका साथ उनी दिउँसो १२ बजे त्यहाँस्थित वालमार्ट सपिङ सेन्टरमा पुगेका थिए । कालो हुडी र हेड फोन लगाएर राइफल भिरेको उनको भिडियो सिसिटिभी क्यामेराहरुमा देखेपछि प्रहरीले उनलाई फलो गरेका थिए । उनलाई नियन्त्रणमा लिन प्रहरीले केही घण्टा नै मेहनत गर्नु पर्यो । उनको अन्धाधुन्द गोली प्रहारबाट नाबालक देखि बृद्धसम्म मारिएका छन् । घटनास्थलमै २० जनाले ज्यान गुमाए भने घाइते भएका २६ मध्ये सोमबार बेलुकासम्म उपचारका क्रममा थप दुईको मृत्यु भएको छ । एकै परिवारका तीन जनाको समेत ज्यान गएको छ । छ जना त मेक्सिकन नागरिककै मृत्यु भएको छ । मेक्सिकोले आफ्ना नागरिक गोली काण्डमा मारिएको प्रति कानुनी उपचार खोज्ने जनाइ सकेको छ ।
आफुलाई बन्दुक राख्न पाउने अधिकारको धुरन्धुर समर्थक दावी गर्दै आएका राष्ट्रपति ट्रम्पको समेत मथिंगल यो घटनाले खलबल्याएको छ । उनले सोमबार बिहान देशबासीलाई सम्बोधन गर्दै कुनै पनि जातिय घृणा, स्वेत राष्ट्रबाद (ह्वाइट नेशनलिजम) र घरेलु आतंकबादलाई अमेरिकामा ठाउँ नरहेको बताएका छन् । ट्रम्पले यसअघि नामै काटेर यी तत्वहरुको विरोध गरेका थिएनन् । तर, एलपासो बन्दुकधारीले उनैबाट प्रेरणा पाएर हिस्पानिकहरुलाई सिध्याउन लागेको आशयको मेनिफेष्टो तयार पारेपछि भने राष्ट्रपति ट्रम्प बोल्न बाध्य भए । उनले गत अक्टुबरको मध्यावधि चुनावताका अविछिन्न रुपले मेक्सिकन आप्रवासीले अमेरिकालाई विषाक्त तुल्याएको बताएका थिए । साथै गत महिना एक चुनावी सभामा गैर कानूनी रुपमा अमेरिका ‘छिर्नेलाई के गर्नु पर्छ’ भनेर उनले प्रश्न गर्दा उपस्थित भिडले ‘गोली हान्नुपर्छ’ भन्दा हाँस्दै सुनेर बसेका थिए । कुनै प्रतिवाद गरेका थिएनन् । अहिले मिडिया एवं विपक्षिहरुले तीनै भाषणका क्लिप र ट्विटहरु विश्लेषण गर्दै ट्रम्पकै उक्साहटमा घृणामा आधारित यस्ता घटनाले बढावा पाएको आरोप लगाउन थालेका छन् ।
सोमबार बिहानको सम्बोधनमा घृणा र स्वेत राष्ट्रबादको विरोध गरे पनि बन्दुक नियमनको सम्भावित कदमप्रति भने उनी मौन बसे । मानसिक रोग र भिडियो गेमहरुका कारण यस्ता समस्या आएको भन्दै त्यसप्रति सचेतता अपनाउन आवश्यक कानूनी प्रवन्धका लागि न्याय विभागलाई निर्देशन दिने उनले बताएका छन् । तर, डेमोक्र्याट मात्र होइन उनकै समर्थक मिडिया र केही रिपब्लिकनले पनि बन्दुक नियमनमा कदम चाल्न अब ढिलाइ गर्न नहुने बताउन थालेका छन् । ट्रम्प पक्षधर न्यूयोर्क पोष्टले युद्धमा प्रयोग हुने हतियार सर्वसाधारणलाई बिक्रिमा रोक लगाउन माग गर्दै सोमबार कभर स्टोरी नै बनाएको छ । किनभने टेक्सास र ओहायो दुबै घटनामा स्वचालित र सयौँ राउण्ड फायर हुने अत्याधुनिक हतियार प्रयोग भएका थिए । सिएनएनका राष्ट्रिय सुरक्षा सम्बाददाता जीम सिउटोले त आफुले यस्ता हतियार इराक र अफगानिस्थान युद्धमा पनि नदेखेको भन्दै ट्विट गरेका छन् ।
टेक्सास घटनाको १३ घण्टा पछि मध्यरातमा ओहायोको डेनर स्थित एक बारमा २४ बर्षका कोनर बेट्स नामका गोरा पुरुषले नै अन्दाधुन्द गोली चलाउँदा नौ जनाको ज्यान गयो । डेनरलाई प्रहरीले फायर खोलेको ३० सेकेन्ड भित्र गोली हानेर लडाइ सकेका थिए । तर, त्यति अवधिमा उनले नौ जनाको ज्यान लिए र २६ जनालाई घाइते बनाए । हिंसात्मक व्यवहारका कारण पटक पटक नसिहत खेपेका एवं स्कुलबाट समेत अनुशासनको कारबाही गरेर निकालिएका व्यक्तिको हातमा यस्तो नृशंस हतियार पर्नु आपत्तिजनक भन्दै बन्दुकको अधिकारको पक्षधरहरुले नै आपत्ति जनाएका छन् । उनले आफ्नी बहिनीको समेत हत्या गरेका थिए ।
अमेरिकी संविधानको दोस्रो संसोधनले आम नागरिकलाई हतियार राख्ने अधिकार दिएको छ । सिकार खेल्ने अमेरिकी संस्कृतिको सम्बद्र्धन एवं आत्मरक्षाका लागि यो अधिकार दिइएको संविधानका ज्ञाताहरु बताउँछन् । तर, संविधानका निर्माताहरुले परिकल्पना गरेको हतियार र अहिलेको स्वचालित मेसिनगनमा ठूलो परिवर्तन आएको भन्दै त्यसमा समय सापेक्ष सुधार गरिनु पर्ने मत व्यापक हुँदै गएको छ । तर, रिपब्लिकन पार्टी भित्र बलियो प्रभाव रहेको नेशनल राइफल एसोसिएसन (एनआरए)ले यसमा थप कानुनी व्याख्या गर्न नदिन चालेको लविङ अहिलेसम्म सफल भइ रहको छ । एनआरए रिपब्लिकनको दाता मात्र होइन यसका केयन् अभियन्ताले उक्त दलबाट राजनीति गरि रहेका छन् । निवर्तमान राष्ट्रपति बाराक ओबामाले आँशु खसाएर बन्दुक नियमनका लागि संसदसँग हार गुहार गर्दा पनि सकेनन् । स्वचालित मेसिनगनहरु बिक्री वितरणमा रोक, बन्दुकको लाइसेन्स पाउनु अघि बलियो पृष्ठभूमी जाँच एवं बन्दुक किन्न पाउने उमेर १८ बर्षबाट बढाएर २१ बर्ष पुर्याउनु पर्ने मागमा अहिले बहुमत अमेरिकीको समर्थन देखिन्छ ।
अमेरिकामा पछिल्ला तीन बर्षमध्ये एउटै ‘मास सुटिङ’बाट सन् २०१६ मा ओर्लान्डोमा ४९ जना, २०१७ मा लस भेगासमा ५८ जना एवं साउदरल्याण्ड स्प्रिङमा २७ जना, २०१८ मा स्टोनमेन डग्लसमा १७ जनाले एकै ठाउँमा ज्यान गुमाएका थिए ।