खेलकुद

नेपालमा खेलाडीको सामाजिक र स्वास्थ्य सुरक्षाको ग्यारेण्टी छैन

खेलाडी/प्रशिक्षक : जनक सिंह खड्का

न्यूयोर्क शहरमा पात्र र चरित्र अनेक भेटिन्छन् । सबै आप्रबासीको आ-आफ्नो कथा हुन्छ । कतिपय कथाहरु व्यक्तिगत दायरामा सकिन्छन् । कतिपय कथाहरु समाज र समुदायसँग सम्वन्ध राखेर अघि बढेका हुन्छन् । अझ भनौं देशसँग पनि सरोकार राख्ने व्यवसायिक खेलाडीको कथा । व्यवसायिक यात्रा जिवनयात्रा भन्दा पृथक चिज हो । यद्यपी व्यवसाय नै जिवनको अंश बनाईसकेकालाई भने व्यवसायिक जिवन दैनिकी जस्तै हुँदो रहेछ । सन्दर्भ; लामो व्यवसायिक खेलाडीको जिवन बिताईसकेका अन्तर्राष्ट्रिय नेपाली कराते खलाडी तथा प्रशिक्षक जनक सिंह खड्काको । धेरैजसो खेलाडीहरु व्यवसायिक खेल उर्जाशिल उमेर खेलिसकेपछि सन्यास लिन्छन् । केही अभ्यासलाई निरन्तरता दिन्छन् । कमै खेलाडीले मात्र भेट्रान भन्नुपर्ने उमेरमा पनि खेलाडीकै रुपमा खेलिरहन्छन् । अनि अत्यन्तै कम खेलाडीले मात्र आफू खल्ने, अरुलाई प्रशिक्षण दिने र निर्णायकको रुपमा रेफ्रीको भूमिका पनि निर्वाह गर्दछन् । यी सबै कलेवरहरु पुरा गर्दै सकृय भई निरन्तरता दिईरहेका व्यक्ति हुन् – खेलाडी खड्का । उनै चर्चित खेलाडीसँग संघर्ष, सफलता र चुनौतीका सम्वन्धमा विश्वसन्देश साप्ताहिकका लागि योगेश आदीले गरेको कुराकानी ।

– जनकजी अमेरिकामा पनि हाम्रो भेट भयो, व्यस्त शहरको अमेरिकन जिन्दगी कस्तो बित्दैछ ?

मेरो लागि व्यस्तता नै जिन्दगी भईसक्यो मित्र । धनगढीको स्कूले जिवनदेखि नै खेल्न शुरु गरें । काठमाडौंबाट कलेज ग्राजुएट हुँदासम्म पनि बिध्यार्थी र खेलाडी नै भएर बाँचे । खेल्ने खेलाउने काम भाको मान्छे म । व्यस्तता त आदत भैसक्यो ।

– घरपरिवार बालबच्चा भाको मान्छेको समय खेलकुदमै बित्दा घरव्यवहारमा असर पर्दैन ?

मैले नेपालमा व्यवसायिक खेलकुद गरेकोले मेरो जिवनजिबिका नै खेलकुदबाट भयो । मैले आफ्नो बेष्ट दिएँ । कराते नै दैनिकी जस्तो भएकोले घरपरिवारमा सबै एड्जष्ट भएरै बित्यो ।

– व्यवसायिक भन्नाले कस्तो ? के के गर्नु भयो र ?

म नेपाल कराते फेडेरेशन (एनकेएफ) को पत्र थामेको खेलाडी तथा कोच हुँ । नेपाल स्पोर्टस् क्लबको सचिव भएर लामो समय काम गरें । मेरो आफ्नै कराते च्याम्पियन्स डोजो एण्ड फिटनेस क्लब पनि छ । जसको म प्रशिक्षक र प्रेसिडेण्ड हुँ । अझ भन्नै पर्दा म मेरिडियन हेल्थ केयर सेन्टर, नेपालको प्रोमोशनल मोडल र ब्राण्ड एम्बेस्डर पनि हुँ । यसर्थ मैले आफूलाई व्यवसायिक नै भन्न रुचाउँछु ।

– खेलेर खान पुग्न अवस्थामा नेपाल पुगेको हो र ?

सामान्यतया पुग्दैन । तर आजकल निजी बिद्यालय तथा हुनेखानेले बालबच्चालाई अतिरिक्त कृयाकलाप गराउने प्रचलन बनेकोले केही सहयोग भने पुगेको छ । थप हामीले आफ्नै प्रशिक्षण स्कुल तथा फिटनेस स्कुलहरु पनि सञ्चालन गर्ने गर्छौ ।

– तपाईको क्लब र कराते स्कुललाई अमेरिकामा पनि बिस्तार गर्नु भएको छ ? 

हाललाई छैन तर सोचमा छु । यद्यपी खेलाडीको रुपमा पनि पटक पटक खेलेको छु । म खेल्नकै लागि नेपालबाट २००८ देखि हालसम्म ८ पटक अमेरिका आईसके ।

– नेपाली र अमेरिकाको खेलाडी एबम् खेल परिपाटी बीच केही भिन्नता पाउनु भयो ?

धेरै फरक छ । हाम्रोमा खेलाडीको सामाजिक र स्वास्थ्य सुरक्षाको ग्यारेण्टी छैन । केही दुर्घटना होला भनेर मनमा एक किसिमको डर लिएर खेल्नु पर्छ । प्रशिक्षण पनि यहाँ व्यवस्थित, नियमित र थप अनुशासित हुँदो रहेछ ।

– उमेरले खेल स्पिरिटलाई कत्तिको असर पार्दो रहेछ ?

पक्कै पनि २२/२५ वर्षको युवाहरुको जस्तो स्टामिना र स्पिरिट हुँदैन तर अनुभव पक्कै हुन्छ । हामी धेरैसँग भिडिसकेको खेलाडीसँग अरूको प्लान र टेक्निक बुझ्ने कला पनि बिकास भएको हुन्छ । तँपाईले ओभर ३५ का खेलाडीहरुले कयौं मार्शल आर्ट टाईटल जितेको उदाहरणहरु पाउनु हुन्छ ।

– खेलाडीलाई देशले के दिए हुन्थ्यो जस्तो लाग्छ ?

सानो ईभेण्ट मात्र खेल्ने पनि खेलाडी । चेस, स्नुकर, कबड्डीदेखि फुटबल खेल्ने पनि खेलाडी । खेलाडी परिभाषा फराकिलो छ । यसर्थ राज्यले सबै खेलाडीलाई सेवा सुबिधा दिनुपर्छ म भन्दिन । तर योगदान अनुसार राष्ट्रियस्तरमा खेलकुदको बिकास र बिस्तारको लागि लागिपर्नेहरुलाई भने सहुलियत दिए हुन्थ्यो जस्तो लाग्छ ।

– समयको लागि धन्यबाद । अमेरिकामा पनि तँपाईको क्लब देख्ने पाऊ है ?

धन्यबाद । मेरो बिचार राख्ने मौका दिनुभो ।पक्कैपनि भविष्यमा अमेरिकामा पनि केही गर्नेछु ।