समाचार

३५ हजार नेपाली बेचबिखनमा, १५ लाख बेचबिखनको जोखिममा

फाईल स्केच

विश्वन्युज संवाददाता
काठमाडौं
नेपालबाट हरेक वर्ष नेपाली नागरिक विभिन्न देशमा बेचबिखनमा पर्ने गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगको पछिल्लो प्रतिवेदनअनुसार नेपालबाट वैदेशिक रोजगारीमा, अध्ययनका लागि र अन्य पेशा व्यवसाय गर्न जाने नेपाली बेचबिखनको जोखिममा पर्ने गरेका छन् । ‘मानव बेचबिखनसम्बन्धी राष्ट्रिय प्रतिवेदन–२०७६’ का अनुसार हरेक वर्ष विभिन्न कारणले नेपाली नागरिक बेचबिखनमा पर्ने गरेका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा वैदेशिक रोजगारी, अध्ययन र मनोरञ्जनजस्ता पेशामा गएका हालसम्म झण्डै ३५ हजार नेपाली बेचबिखनमा परेको तथा १५ लाख जोखिममा रहेको उल्लेख गरिएको छ । नेपालबाट तेस्रो मुलुकमा मानव बेचबिखन र ओसारपसार बढी हुने गरेको छ । युरोपका विभिन्न देश तथा अष्टे«लियालगायत मुलुकमा पर्यटक, अध्ययनलगायत प्रवेशाज्ञामा लगी बँधुवाका रूपमा काम गर्न बाध्य पार्ने गरेको प्रतिवेदनमा जनाइएको छ ।
नेपालबाट खाडी राष्ट्र तथा मलेसियामा मानव बेचबिखन वैदेशिक रोजगारीका नामबाट सहजै हुने गरेको छ । घरेलु कामदार तथा अन्य पेशाका नाममा नेपाली महिलालाई खाडीका विभिन्न राष्ट्रमा बाध्यकारी श्रम तथा कतिपय अवस्थामा यौनशोषणसमेत गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ । नेपाली महिलालाई घरेलु कामदारका रूपमा खाडी राष्ट्र जान गरिएको निषेधपछि भारतीय मार्ग हुँदै जाने प्रवृत्ति बढेको छ । अधिकांश महिला बेचबिखन र यौन शोषणको सिकार हुने जोखिम रहेको छ ।
रोजगारीको नाममा विदेश पुगेका महिला यौन शोषणमा पर्ने गरेका आयोगले जनाएको छ । आयोगका सदस्य मोहना अन्सारीले भनिन्, ‘वैदेशिक रोजगारी, अध्ययन, मनोरञ्जन र अन्य क्षेत्रमा कामका लागि गएका नेपाली बेचबिखनमा पर्ने गरेको देखिएको छ, यस्तो कार्यले अपराध मात्र नभई मानव अधिकार र मानिसको बाँच्न पाउने अधिकारको गम्भीर उल्लङ्घन भएको छ ।’
नेपाल प्रहरीको तथ्याङ्कअनुसार नेपालमा वार्षिक दुई सयदेखि तीन सयको सङ्ख्यामा उजुरी पर्ने गरेको छ । आर्थिक वर्ष २०७४÷७५ मा ३०७ उजुरी परेको थियो । आर्थिक वर्ष २०७५÷७६ को चैत मसान्तसम्म १७४ मानव बेचबिखनका उजुरी परेका थिए । अघिल्लो आवको तुलनामा मानव बेचबिखनसम्बन्धी उजुरी घटेको देखिन्छ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार नेपालमा एक वर्षमा १३ हजार ६७८ नागरिक हराएका छन् । तीमध्ये केवल ४७ प्रतिशत मात्र फेला परेका छन् । यसरी हराएका र फेला नपरेका व्यक्ति अधिकतम बेचबिखनमा पर्ने गरेको पाइएको छ ।
प्रतिवेदनका अनुसार १० हजारभन्दा बढी व्यक्तिलाई सीमा नाकाबाट फिर्ता गरिएको छ । आव २०७५÷७६ को मसान्तसम्ममा १७४ उजुरी परे पनि बेचबिखनमा परेका ६४० जनाको उद्धार गरिएको छ भने ३७४ स्वदेशभित्र बेचबिखनमा परेका तथा २६६ जनालाई विदेशबाट उद्धार गरिएको छ । वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार आव २०७४÷७५ मा दुई हजार ३८३ उजुरी परेका छन् । नेपालबाट भारतमा यौन व्यवसायका लागि अझै पनि लैजाने गरेको पाइएको छ ।
खुला सिमाना, कमजोर र परम्परागत सीमा अनुगमन, नेपाल–भारत सहकार्य र समन्वयको औपचारिक प्रणालीको अभवाले भारतमा करीब एक करोड तीन लाख व्यक्ति बाध्यकारी श्रम तथा आधुनिक दासताको सिकार भएको प्रतिवेदनमा उल्लेख छ । भारतमा मात्र होइन चीनमा समेत मानव ओसारपसार र बेचबिखन हुने गरेको पाइएको छ ।
चीनमा जबर्जस्ती विवाह, यौनशोषण तथा व्यवसायका लागि छिमेकी राष्ट्रहरूबाट महिलालाई लैजाने गरेको प्रतिवेदनमा उल्लेख छ । गत आवमा केरुङ नाका हुँदै चीनमा बेचबिखनका लागि लैजान लागेका २९ महिलाको उद्धार गरिएको छ । नेपालबाट चीनमा बेचबिखन भएका घटनाको व्यवस्थित अभिलेखीकरण भएको पाइँदैन । यद्यपि अध्ययनका क्रममा पर्यटक प्रवेशाज्ञामा चीन लगिएका नेपाली महिलालाई डान्स रेष्टुरेन्टमा काममा लगाउने गरिएको पाइएको छ ।
मानवअधिकार आयोगले मानव बेचबिखनको समग्र अवस्थालाई अध्ययन गरेर दश बँुदा सिफारिस गरेको छ । नेपालमा मानव बेचबिखनका क्रममा हराएका व्यक्ति, वैदेशिक रोजगारी, पर्यटन तथा रोजगारी, मनोरञ्जन व्यवसायलगायत नाममा बेचबिखन हुने गरेको पाइएको छ । मानव बेचबिखनमा विशेषगरी महिला र बालबालिका पर्ने गरेका छन् । खासगरी सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर, धादिङ, नुवाकोट लगायतका उपत्यका आसपासका जिल्लाका नागरिक बेचबिखनमा पर्ने गरेका छन् । आर्थिक अवस्था कमजोर भएका परिवारका सदस्य सजिलै बेचबिखनमा पर्ने गरेको सम्बद्ध अधिकारीहरुले बताएका छन् ।