विश्व

नेपाली मूलकी प्रतिष्ठा मिस इङ्ल्याण्डको सेकेण्ड रनरअप

काठमाडौं । बेलायतको सौन्दर्य प्रतियोगिता मिस इङ्ल्याण्डमा नेपाली मूलकी प्रतिष्ठा तृष राउत सेकेण्ड रनर अप भएकी छन् । उनी २२ हजार प्रतियोगीलाई उछिनेर सेकेण्ड रनर अप भएकी हुन् ।
गत बिहीबार बेलायतको न्यू क्यासलमा भएको अन्तिम प्रतिस्पर्धामा उनले टप फण्ड राइजरको उपाधि पनि जितेकी छन् । विभिन्न राउण्डमा भएका प्रतियोगितामा उनी अब्बल साबित भइन् । प्रतियोगितामा भारतीय मूलकी सुन्दरी पहिलो भएकी थिइन् ।
फाइनलमा भएको प्रिजेन्टर राउण्डमा उनी पहिलो भइन् । उनले नेपालमा गएको भूकम्पको विषयबस्तुलाई टेलिभिजनमा प्रस्तुत गरेकी थिइन् ।
नेपाली मूलकी प्रतिष्ठा तृष राउत बेलायतको सौन्दर्य प्रतियोगिता मिस इङ्ल्याण्डको फाइनलमा प्रवेश गरेर सेकेण्ड रनर अप भएपछि नेपाली समुदाय खुसी भएको छ । प्रतियोगिताको सेमिफाइनलमा इको ड्रेस राउण्ड, लिटल ब्ल्याक ड्रेस राउण्ड र ब्यूटी विथ पर्पोज गरी तीन राउण्डमा समेत सफल भएकाले उनी बेलायतको सौन्दर्य प्रतियोगिताको दाबेदार बनेकी थिइन् । राउतले पब्लिक भोटका कारण पब्लिसिटी क्वीनको उपाधिसमेत जितिन् ।
१७ वर्षको उमेरदेखि नै मोडलिङमा लागेकी प्रतिष्ठाले इङ्ल्याण्डमा नेपाली समुदायको प्रतिनिधित्व गरेकी छन् । पढेरभन्दा परेर जानिन्छ भन्ने धारणा राख्ने उनले नेपाली समाजमा मेन्टल हेल्थको क्षेत्रमा काम गर्ने चाहना व्यक्त गरेकी छन् ।
बेलायतवासी नेपाली समुदाय उनलाई जिताउन विभिन्न कार्यक्रममा व्यस्त भयो । च्यारिटी कार्यक्रमबाट १० हजार पाउण्ड संकलन भएको थियो । नेपाली समुदायले प्रतिष्ठालाई नेपाली समुदायकै प्रतिष्ठाको रुपमा लिएको थियो ।
आफूले उपाधि नजिते पनि मानसिक स्वास्थ्य सचेतना र त्यस समस्याबाट पीडित बनेका व्यक्तिको सहयोगका लागि च्यारिटीबाट उठेको रकम खर्च गरिने बताइन् । प्रतियोगिता मात्र नभएर त्यसपछि पनि आफू मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिको सहयोगका लागि काम गर्ने प्रतिबद्धता जनाउँदै उनले जनचेतना कार्यक्रम आवश्यक रहेकोमा जोड दिइन् । उनले मानिसक स्वास्थ्य समस्याबाट पीडित व्यक्तिको सहयोगलाई आफूले महत्वपूर्ण स्थानमा राखेर काम गर्ने प्रतिबद्धतासमेत जनाएकी छन् ।
नेपालको संखुवासभा चैनपुरकी प्रतिष्ठा पेशाले भने फ्लोर प्लान आर्किटेक्ट हुन् । २६ वर्षीया प्रतिष्ठा नेपाली समुदायबाट फाइनल पुग्ने एक्ली प्रतिस्पर्धी थिइन् । फाइनल प्रतिस्पर्धामा ५४ जना सहभागी भएका थिए ।
राउत बेलायतको अन्डरसटमा बस्छिन् । उनका बाबु बेलायती सेनाका जागिरे थिए । प्रतिष्ठा भने हङकङमा जन्मेकी थिइन् । २६ वर्षीय प्रतिष्ठा आर्किटेक्ट डिजाइनमा रुचि राख्छिन् । उनले प्रतियोगितामा नेपाली समुदायले गरेको सहयोगमा धन्यवादसमेत ज्ञापन गरेकी छन् ।