बिचार

मर्यादा र भयको न्यारेटिभ

पुरुषोत्तम लम्साल

 

संकटमा सहकार्य

अनकन्टार पहाडमा विपन्नको झुपडी थियो । ओत लाग्न मात्र मिल्ने । एकजनाका लागि सुत्न मात्र पुग्ने, ओल्टीकोल्टी गर्न मात्र पुग्ने स्थान भएको ।

एक दिन ठूलो पानी पर्यो । पानीले निथ्रुक्क भिजेको साधुले झुपडीको ढोका ढक्ढक्याए । भने, ‘ओत लागेर आजको रात यहीं गुजार्न पाए हुन्थ्यो ।’

बृद्धले ढोका खोले । अतिथिलाई भित्र बोलाए । बृद्धले भने, ‘यहाँ सुत्न एकजनाका लागि मात्र पुग्ने स्थान छ । तर, हामी दुईजना बसेर पनि रात काट्न सक्छौं ।’ दुबैजना बसेर रात बिताउन लागे ।

यत्तिकैमा बाटो भुलेर अर्को बटुवा ढोकामा आइपुग्यो । ढोका खुल्लै थियो । थरथर काँपिरहेको बटुवाले भन्यो, ‘यो वर्षामा टाउको मात्र ओत लगाउन पाए म बाँच्ने थिएँ ।’

साधुले लखतरान बटुवाको हात समाते । साधुले भने, ‘यहाँ एकजनाका लागि मात्र सुत्ने स्थान थियो । म आएँ, हामी दुईजना बसेर रात बिताइरहेका छौं । तिमी आयौ, उभिएर रात काट्ने भए खुसीसाथ भित्र आऊ ।’

संकटको परिस्थितिमा तीनै जनाले उभिएर रात बिताए ।

भ्रामक नै सही समाजवादको निर्धन झुपडीमा टुकी त बलेकै छ । तर, रात बिताउन खुल्ला हृदयले आमन्त्रण मागिरहेको अवस्थामा निषेध र मुठभेड निम्त्याउने अभिव्यक्ति र व्यवहार मनकारी छैन ।

छद्यभेषीको मर्यादा

शहरमा नामूद छद्यभेषी थियो । रुप परिवर्तन गरेर चटक देखाउँथ्यो । एकदिन ऊ दरबार पुग्यो र भन्यो ‘महाराज ! भोको पेटको गर्जो टार्न पाँच रुपैंया मात्र भने पनि पुरस्कार पाउँ ।’

राजा कलाका पारखी थिए । तर पुरस्कारको स्थानमा दान मात्र दिने सिद्धान्तमा बाँधिएका थिए । राजाले भने, ‘तिम्रो कलाको सम्मान गर्दै म पुरस्कार त दिन्छु तर दानको रुपमा मात्र ।’

‘महाराजको सिद्धान्त तोड्ने अपराध म गर्दिन । मलाई केही दिनको समय दिइयोस्’ भन्दै छद्यभेषी बाटो लाग्यो ।

अर्को दिन शहरको मुख्य चोकमा समाधिको मुद्रामा एक साधु भेटिए । आँखा बन्द थियो, ओमकार झङ्कृत थियो । लामालामा जटा भएका साधुको अनुहारमा तेज थियो । ध्यानमग्न साधुमा सबैको आँखा जान थाल्यो । साधुको अगाडि भक्तिपूर्वक बटुवाहरुले प्रश्न गर्न थाले । ‘स्वामी कहाँबाट आउनुभयो ?, आहार के चाहिन्छ ?, यो कठोर तप के का लागि ?’ यस्तै यस्तै ।

ध्यानमुद्राको साधुलाई आफ्नो अगाडि को छ भन्ने थाहा थिएन । ऊ अविचलित ध्यानमै रह्यो । घरघरमा साधुको चर्चा हुनलाग्यो । सभ्य, शिक्षित, सरकारी, दरबारी, धनी, दानी एकएक गरेर साधुको दर्शनमा आउन थाले । फलफूल, मिष्ठान्न, भोजनादी लिएर आउनेले आहारका लागि अनुनय गर्न थाले । तर साधु डेग चलेन ।

साधुको अद्भुत चर्चा दरबारसम्म पुग्यो । अर्कोदिन बिहानै दरबारका महामन्त्री सुनचाँदिका मुद्रा रथमा हालेर साधुकहाँ पुगे । महामन्त्रीले विनित स्वरमा भने ‘हामीसँग कुनै भौतिक लालशा छैन, कृपा गरेर आँखा खोल्नुहोस् र यो दान स्वीकार गर्नुहोस् ।’ साधु वाचाल तपस्यामै लीन, आँखा खोलेनन् । महामन्त्रीको अनुरोध पनि व्यर्थ भयो ।

महामन्त्रीले दरबारमा पुगेर राजालाई सबै वस्तुस्थितिको जानकारी गराए । आफ्नो राज्यमा यशश्वी साधुको आगमन हुँदा पनि स्वागतमा जान नपाएकोमा राजालाई ग्लानी हुन थाल्यो । भोलीपल्ट बिहानै भाइभार, रत्न जुहारात लिएर राजा तपस्वी भएको स्थानमा पुगे । तपस्वीको पाऊमा आफुले ल्याएको सम्पूर्ण वस्तु चढाएर राजा विन्ती गर्न थाले ‘स्वामी ! मेरो राज्यमा तपाईको त्याग र तपस्याप्रति कृतार्थ छु, आँखा खोलेर आशिर्वाद पाउँ ।’

न तपस्वी डरायो, न चल्यो । न आँखा खोल्यो, न बोल्यो । राजासामू पनि आँखा नखोली, दान ग्रहण नगरी एकाग्र ध्यानमा रहने तपस्वी अलौकिक र सांसारिक वस्तुबाट मोहभंग भएको निश्कर्ष सबैबाट निस्कियो ।

चौथो दिन छद्यभेषी पुनः दरबारमा देखा पर्यो । र, राजाको अगाडि बिन्ती बिसायो, ‘देख्नुभयो त महाराज !, अब त मेरो कला अझ मन पर्यो होला । हजुर प्रसन्न हुनुभएको भए मलाई त्यही पाँच रुपैंया पुरस्कार प्राप्त भए म दालचामलको प्रबन्ध गर्न सक्थें ।’

राजा जिल्ल परे । ‘हे मुर्ख ! जब राज्यको सम्पूर्ण जनता तेरा लागि सबैथोक लुटाउन तयार थिए, त्यो बेला तेरो आँखा किन खुलेन ? अहिले फेरि किन चाहियो पाँच रुपैया पुरस्कार ? तलाई राजदण्डको भय लागेन ?’ राजाले प्रश्न गरे ।

छद्यभेषीले उत्तर दियो, ‘महाराज त्यो बेला म तपस्वी साधुको रुपमा थिएँ । सन्यासीको भेषमा थिएँ । त्यहाँ मर्यादाको प्रश्न थियो । मैले मोहमा आएर ती सबैको दानदातव्य ग्रहण गरेको भए सारा तपस्वी साधुको मर्यादामाथि प्रश्न उठ्थ्यो । साधु र सन्यासीका लागि धन दौलत र वैभव व्यर्थ र तुच्छ हुन्छन् भन्ने मर्यादा जोगाउन मैले त्यसो गरें ।’ ‘सबैखाले मोह त्याग गरेको अवस्थामा प्राणी भयमुक्त हुन्छ, उसले थप्यो ‘मेरो नजिक राजा छन् भन्ने थाहा नपाएको अवस्थामा भयको के अर्थ ?’

निरुत्तर राजा निकैबेर गहिरो सोचमा डुबिरहे । त्यसपछि छद्यभेषी र उसको परिवारको संरक्षणको दायित्व दरबारको भयो ।

सरकार र पार्टीको सहचालक, सञ्चालक वा उत्तोलक जे भए पनि कम्तीमा माथिको कहानीको छद्यभेषीबाट झैं मर्यादाको अपेक्षा राख्नु गलत हुँदैन ।

भयको न्यारेटिभ्स

भयको विलोम साहस, निर्भय, अभय आदि हुन्छ । भय अर्थात् डर, एक प्रकारको त्रासग्रस्त मनोविज्ञान । खासमा भय ज्ञात वस्तु, पदार्थ, अवस्थाबाट उत्पन्न हुन्छ । अनुभवै नगरिएको स्थितिमा भय उत्पन्न हुँदैन । अर्थात् भय वास्तविक र काल्पनिक हुन्छ । वास्तविक भयले भन्दा बढी काल्पनिक भयले मान्छेलाई भयभित बनाउँदछ । अज्ञात भएबाट मान्छे विरलै डराउँछ । जस्तो स–साना बालबालिका अँध्यारोमा किन खेल्छन् ? आगोसँग किन जिस्किन्छन् ? सर्पसँग किन डराउँदैनन् ? साधारण स्थितिमा मान्छेमा किन मृत्युको भय देखिंदैन ? किनकि, उसले अनुभव गरेको हुँदैन । मान्छे ईश्वरसँग किन डराउँछ ? किनकि ऊ कर्मको फलबारे जानकार छ ।

जे. कृष्णमूर्तिले कहीं लेखेका थिए ‘भय वस्तुतः कायरताको प्रतिकृति हो ।’ उनको भाषामा कायरताको अर्थ आन्तरिक दुर्बलता हो । संकटको सामना गर्ने क्षमता क्षीण हुँदै जाँदा अथवा आन्तरिक दुर्बलता प्रबल हुँदै जाँदा मान्छेलाई भयले छोप्दै लान्छ भन्ने कृष्णमूर्तिको तर्क थियो ।

फियर एण्ड फ्रिडममा फेरेज नेडेस्डी लेख्छन्ः भय त्यहाँ उत्पन्न हुन्छ जहाँ एक विशिष्ट प्रकारको जीवनप्रति मोह हुन्छ । त्यो विशिष्टता कायम राख्नु र त्याग गर्नुबीच स्वतः भयको प्रतिक्रिया देखिन्छ । लौकिक वा सांसारिक मोहबाट अलगाव नहुँदासम्म भय स्थीर रहन्छ । फेरेज आकांक्षा र भयबीच पनि उस्तै सपाट सम्बन्ध केलाउँछन् । एउटा विशिष्टताबाट अर्को विशिष्टतामा जाँदा भय नियन्त्रण त हुन्छ तर निर्मूल हुँदैन भन्ने उनको ठम्याई छ ।

अन्तरआत्मा कलुषित भएको अवस्थामा व्यक्ति आरामको निद्रा सुत्न सक्दैन । किनकि स्थायी आशंका नै भयको कारण हो । धोकाको भय, बदलाको भय, रहस्य खुल्ने भय, असहयोगको भय इत्यादिले व्यक्तिलाई गाँजिरहेको हुन्छ । अर्थात्, संकटग्रस्त व्यक्ति स्थायी पृथकताको कल्पनाबाट पनि भयभित भइरहेको हुन्छ । यही कारण ऊ सम्झौतापरस्त भइहुन्छ, आत्मसमर्पण गर्दै गर्दै गइरहेको हुन्छ ।

रिचर्ड गार्नेटको दृष्टिकोण सापटी लिने हो भने कुनै वस्तुसँग अति गहनतम् निकटता वा लगावले मानसिक कष्ट दिइरहँदा व्यक्तिमा भयको जोखिम बढी हुन्छ । हो पनि, शारीरिक कष्ट पो स्नायुगत हुन्छ मानसिक कष्ट कल्पनागत पनि हुन्छ, भावनागत पनि हुन्छ । भयभित के ले बनाउँछ ? संकटबाट बच्नका लागि व्यक्तिले यसअघि एकत्रित गरेको संगठित गरेको सञ्चित अनुभवले बनाउँछ ।

मान्छे जेसँग भयभित हुनपर्ने हो ऊ वा त्योसँग डराउँदैन र जहाँ भयको कारण छैन त्यहाँ भयभित भइरहेको हुन्छ । चोर चोरी गर्न डराउँदैन । छली ठगी गर्न डराउँदैन । कपटी षड्यन्त्र गर्न डराउँदैन । ब्यभिचारी व्यभिचार गर्न डराउँदैन । बेइमान असत्य बोल्न वा झुठा मिथ्या भाषण गर्न गराउँदैन । तर सबैमा समान प्रकृतिको भय हुन्छ । ज्ञात भय । यस्तो बेलामा मान्छे माटोको पुत्लासँग पनि डराउँछ । शरीर, मन र आत्मा कमजोर भइसकेपछि अवरोधसँग संघर्षको अपेक्षाभन्दा भय घनिभूत हुन्छ । यो कर्मको फलबारे ज्ञात भय हो ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भयभित्र विचित्र संयोग भेटिन्छ । युद्धकालमा साम्राज्यवादका मतियारहरुले सिध्याइदिने भय थियो । शान्तिकालमा आएपछि प्रतिक्रियावादीहरुले नै सिध्याइदिने भय रह्यो । कहिले दरबार हत्याकाण्ड र कहिले मदन भण्डारीको उदाहरण दिएर दर्जनौं स्थानमा दर्जनौंपटक उनले आफ्नो भय प्रकट गरेका छन् । जनताको घेरामा रहँदा भन्दा सुरक्षाकर्मीको घेरामा रहँदा ‘प्रचण्ड’मा ज्यादा भय प्रकट हुने स्थिति दोहोरिइरहेको छ । हिजो विप्लवको भयले सताएको पनि देखियो । हुँदाहुँदा अब कमल थापाहरुसँग ‘प्रचण्ड’ भयभित भइरहेका छन् । ज्ञानेन्द्र शाहलाई आफैंले नारायणहिटीबाट गलहत्याएर नागार्जुनमा सीमित गरेको दावी गर्ने ‘प्रचण्ड’ तिनै ज्ञानेन्द्र शाहसँग भयभित भइरहेका छन् ।

उनलाई थाहा छ, फरकफरक स्वार्थ समूह फरकफरक आवरणमा तर एउटै उद्देश्यका लागि काम गरिरहेका छन् । तर ती सबका विरुद्ध संगठित मुक्का प्रहार गर्ने शक्ति, साहस र सामथ्र्य क्षीण छ । यसैले भयग्रस्त अभिव्यक्ति दोहोरिने क्रम बढ्दो छ । भयमाथि विवेकले नियन्त्रण गर्ने कि आवेगले ? भयलाई मर्यादाको सीमाभित्र रहेर कज्याउने कि उत्तेजित वा अमर्यादित भएर ? प्रचण्डहरुले नै जानून् ।