12-Dec-2019 | २६ मंसिर २०७६, बिहीबार

उत्पात प्रकृति

२२ श्रावण २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


पदमा लिंखा मगर / न्यूयोर्क

 

हामी मान्छे ! 

चेतनशील प्राणी 

त्यसैले त हर कुरा नियाली रहन्छौं l 

हो त ! पहिलेभन्दा 

यो प्रकृति प्रकोप उत्पात छ अहिले 

मान्छे धेरै भएर  

मासिन शुरु भयो 

कलि लाग्यो 

अब उत्पात हुन्छ l

मान्छे मात्र नभएर अब त 

गाउँ गाउँको रुखहरू 

अनि ढुंगा र माटो 

शहरतिर बसाईं सर्दैछन् 

पहिले एउटा घर भएको क्षेत्रमा

एक सय वटा त 

पाँच वटा भएको ठाउँमा 

पाँच सयवटा घर बनिसके

त्यही पनि झुपडीको ठाउँमा गगनचुम्वी

आकाशबाट वर्सिने उही मात्राको  पानी

पहिले त्यो एउटा घर वरिपरिको खाली ठाउँमा

झरेर जमिनमा छलबल रमाउँथ्यो 

अब कता जाने ?

छतमा नै सुक्ने कि 

या त घर छेडेर जमिनमा पस्ने ?

या त आकाशमा नै फर्किने ?

निकास त चाहिन्छ नै 

अब बग्नु परेन त ?

निकास खोज्दै 

घरको पेटी पेटी अनि गल्ली गल्ली 

भागेको पानीले, आफ्नो बाटोमा परेको  

कहिले के त कहिले के बगाउँदै 

बाढीले प्रकृति प्रकोपको दोष खेपेको छ

हो ! त्यसैगरी बिकासको नाममा

डोजर चल्छ 

जङ्गल फांँडिएको छ

पहाडको ढुंगा झिकिएको छ 

अब अविरल वर्षालाई 

खोक्रो बनेको माटो मात्रको जमिनले कसरी थेग्ने ?

त्यसैले त माटो पनि पानीसंगै बगेर 

पहिरो बन्छ, अनि रहन्छ  कुरूप पहाड

पहिरोले प्रकृतिक प्रकोपको दोष खेपेको छ

सम्पती जोड्नुको नाममा हरेक सहरमा 

बिना पिलर बिना जग 

गगनचुम्वी भवन बन्ने होड चलेको छ 

जमीनको सन्तुलन छैन 

भूकम्प जान्छ

घर भत्किन्छन्  

मान्छे मर्छन् 

फेरि भूकम्पले 

पकृति प्रकोपको दोष खेपेको छ

आजकल जंगली हात्तीहरू पनि बौलाउन थाले 

घर घर पसेर विध्वंश पार्न थाले 

आफू बस्ने जंगलको आक्रमण भएको 

खेल्ने ठाउँ साँघुरो भएको 

उसले कसरी व्यक्त गर्ने 

आफूप्रतिको अत्याचारलाई प्रतिकार गर्दा

जंगली जनावरहरूले  

उत्पातको विल्ला भिरेका छन् 

अब के ?

हामी चेतनाको सदुपयोग गरेर  

चेतनशील बनौं 

भौतिक विकासको साथमा  

प्राकृतिक विनाशलाई पनि नियालौं 

सम्पत्तिको नाउँमा 

गगनचुम्वी भवन जोड्दै गर्दा 

धर्तिको पनि ख्याल गरौँ 

अनि रोकौं…

बाढी पहिरो भूकम्प आक्रमण ..

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार