रोचक खवर

खुद्रे आयोजनामा डोजर निषेध

काठमाडौं । सरकारले साना तथा खुद्रे आयोजनामा डोजर लगाउन रोक लगाएको छ । स्थानीय सरकारहरुलाई परिपत्र गर्दै केन्द्र सरकारले उक्त निर्णय गरेको हो ।

अब एक करोड रुपैयाँसम्मभन्दा साना आयोजनामा डोजर प्रयोगमा रोक लगाएको हो । सरकारी तथा सार्वजनिक आयोजनामा डोजर प्रयोगमा रोक लगाइएको हो ।

श्रम, रोजागर तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय सरकारलाई उक्त परिपत्र गरेको हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रम निर्देशका–२०७५’ लागू गर्दै मन्त्रालयले हेवि इक्विपमेन्ट प्रयोगमा रोक लगाएको हो । अब ठूला आयोजनामा मात्र यस्ता उपकरण प्रयोग हुनेछन् ।

खासगरी स्वदेशमै रोजगारी सिर्जना होस र देशभित्रै युवाले कामको अवसर प्राप्त गरुन भन्ने उद्देश्यले यस्तो निर्देशन दिइएको हो ।

मानव श्रमका लागि लामो समय लागेपनि गुणस्तर र रोजगारी सिर्जनाका दृष्टिकोणबाट साना आयोजना पनि प्रभावकारी हुने सरकारको अनुमान रहेको छ ।

सार्वजनिक क्षेत्रमा रोजगार प्रत्याभूत गर्ने गरी सरकारले निर्देशिका जारी गरेको परिपत्रमा उल्लेख छ । नेपाल सरकार, प्रदेश सरकारका विषयगत मन्त्रालय र निकायले समेत साना आयोजना सबैमा डोजर लगाउन पाउने छैनन् ।

सरकारले स्थानीय तहसम्म रोजगार सेवा केन्द्र सक्रिय बनाउँदै छ । आयोजनाहरुले आवश्यक पर्ने कामदार तिनै रोजगार केन्द्रबाट प्राप्त गर्ने भएका छन् ।

मन्त्रालयका अनुसार अहिलेसम्म करीव १७ लाख युवाले बेरोजगार सूचिमा नाम टिपाएका छन् । उनीहरुलाई यी साना आयोजनामा काममा लगाएर रोजगारी सिर्जनाको योजना सरकारसँग रहेको छ ।

बेरोजगार यूवालाई वर्षमा कम्तिमा ९० दिन रोजगारी नभए नभए आधा समयको बेरोजगार भत्ताको कानूनि प्रावधान रहेको छ ।

पछिल्लो समय नेपालमा ससाना आयोजनामा समेत डोजर प्रयोग बढेपछि वातावरणीय दोहन अधिक भइरहेको छ भने यसले गाउँघरमा ठूलो विनास भइरहेको छ ।

वर्षायाममा त्यसले ठूलो जनधनको क्षति समेत गरिरहेको छ ।