फिचर

विमानस्थलमा मध्यरातमा आउने जहाजलाई सहुलियत

काठमाडौं । सरकारले त्रिभुवन विमानस्थलमा मध्यरातपछि अवतरण गर्ने जहाजलाई सहुलियत दिने तयारी गरेको छ ।

यसको सिफारिस गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सरोकारवालालाई निर्देशन दिएका छन् ।

खासगरी रातको १२ बजेपछि आउने जहाजका लागि नेभिगशनल शूल्क तथा ग्राउण्ड ह्याडिलिङमा दिन सकिने सुविधा सहुलीयत र सुविधाबारे मन्त्री भट्टराईले सरोकारवालासँग प्रस्ताव मागेका हुन् ।

७ दिन भित्र नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमले यस्तो प्रस्ताव सरकारलाई दिने भएका छन् ।

उता, सरकारले नेपाल आउने जहाजका लागि इन्धन शूल्क विदेशको तुलनामा झण्डै दोब्बर भएको गुनासो सम्बोधन गर्न इन्धनको मूल्य घटाउने सम्बन्धमा पनि पहल थालेको छ ।

विदेश उडान गर्ने कम्पनीहरुले नेपालको इन्धन महंगो भएको भन्दै गुनासो गर्दै आएका छन् । नेपाल आयल निगमको विमानस्थल डिपो प्रमुखसँग यस सम्बन्धमा सम्बोधनको लागि विभागीय पहल गर्न आग्रह गरिएको छ ।

विमानस्थलमा विदेशबाट सभा सम्मेलनका लागि आउनेहरुका लागि अध्यागमनमा छुट्टै डेस्क समेत स्थापना हुने भएको छ । साथै नेपालबाट विदेशमा अध्ययनका लागि जाने विद्यार्थीका लागि पनि अध्यागमनमा छुटटै डेस्क स्थापनाको निर्णय सरकारले गरेको छ ।

त्रिभुवन विमानस्थललाई बुटिक एयररपोर्टका रुपमा रुपान्तरण गरिरहेको सरकारले १ जनवरीमा यसको औपचारिक उद्घाटन गर्ने भएको छ ।

यही दिने नेपाल भ्रमण वर्ष २०२० को पनि शुभारम्भ हुनेछ ।

नेपालमा अनअराइभल भिषाका लागि आउने पर्यटकको सहजिकरण गर्न अनलाइन सीस्टम प्रभावकारी बनाउन र उपकरणहरु चुस्त राख्न पनि मन्त्री भट्टराईले निर्देशन दिएका छन् ।

विमानस्थलको सुन्दरता कायम राख्दै पूर्वाधारहरु निर्माणमा गम्भीर भएर लाग्न समेत मन्त्रीले सरोकारवालासँग आग्रह गरेको छन् ।

विमानस्थलबाट हुन सक्ने उडान अवतरणको ढिलाईका सम्बन्धमा यात्रसलाई रियल टाइम जानकारी गराएर अपडेट हुन सक्ने प्रणालीको विकास गर्न समेत मन्त्री भट्टराईले आग्रह गरेका छन् ।