14-Nov-2019 | २८ कार्तिक २०७६, बिहीबार

कथा : बीस बर्ष अघिको बिन्दुको डायरीबाट…

२८ श्रावण २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


प्रेमकृष्ण श्रेष्ठ/ किर्तिपुर

 आकाससँग मेरो दुई बर्ष प्रेम चल्यो । त्यो अन्तरालमा हामी बीच शारीरिक समागम पनि भयो । शारीरिक समागमकै परिणामस्वरुप म गर्भवती भएँ । आफ्नो अवस्थाको बारेमा आकासलाई भन्दा आकासले भन्यो — ‘यो पेटको शिशु मेरो बच्चा हो । म स्वीकार गर्छु यस्लाई ।’ आकासले यसो भन्दा मैले ठूलो सान्त्वना पाएकी थिएँ । शुरुमा त मलाई आकासले आफ्नो पेटको शिशुलाई स्वीकार्छ कि स्वीकार्दैन भन्ने कुरामा ठूलो आशंका थियो ।

आकासले मलाई सम्झाउने खातिर यसो पनि भन्यो – “यो पेटको शिशु जन्मियो भने यस्को नाम ‘किरण’ राख्छु किनभने मलाई किरण नाम निकै मन पर्छ ।” आफ्नो प्रेमी आकासबाट यस्तो कुरा सुन्दा मैले आफ्नो पेटमा स्नेहालु हात सल्बलाएँ । आफ्नो सृजनामा मलाई गर्व भयो र दुनियाँले पाप भने पनि आकासको एक चिम्टी सिन्दुरले त्यो पाप छोपिने कुरामा म विश्वस्त थिएँ ।

समय बित्दै गयो । यता शिशु पेटभित्र दिनदिनै हुर्कदै थियो । उता दुनियाँले शिशुको पिताको चिनारी खोज्दै थियो । नवजात शिशुमाथि प्रश्नचिन्ह मडारिँदै गएको थियो । त्बिस्तारै शिशुको वारेमा थाहा पाएपछि आकासको परिवारले आफ्नो सन्तानको रुपमा स्वीकृति दिन तयार भएन । जातीय असमानताको कारण त्यो पेटको शिशुलाई आकासको परिवारबाट स्वीकार नगर्ने अडान आएपछि एक मात्र अन्तिम निर्णयको मालिक आकास हुन गएको थियो ।

निर्णायक घडीमा आएर आकासले भन्यो – “सरी बिन्दु, मलाई माफ गर । म आफ्नो परिवारको खिलाफ जान सक्दिनँ । त्यो पेटको शिशु अब तिम्रो मात्र हो, मेरो होइन ।”

जीवनको अन्तिम सहारा आकासबाट पनि यस्तो निर्णय सुन्दा म स्तब्ध बनें । सहनै नसके पछि मैले आक्रोश ओकलें; “उसो भए यो बच्चा कस्को हो ? के म बेश्या हुँ । जो प्रत्येक रात पुरुषको शरीर फेर्दै हिँड्छ । म त केवल तिम्रो मात्र प्रेमिका ।”

“के प्रमाण छ तिमीसँग ? यो शहरमा हजारौं लोग्नेमान्छेहरु छन् । सवैलाई यस्को पिता हो भन्यो भने यस्का पिता हुन्छन् ?” आकासले मलाई धम्कीको भाषामा बोल्यो । 

मेरो मुखबाट एउटा बाक्य फुत निस्क्यो – “त्यो रात के ?” हामी बीच नराम्ररी विवाद चर्कियो ।

आकास कुर्लिन थाल्यो “मैले तिमीसँग दुई बर्ष प्रेम गरें । त्यो अवधिमा सात सय उन्नतीस रात त अन्तै बिताएकी छौ ।” आकासको बोली सुन्नै नसकेपछि म भुइँमा थचक्क बसेँ । दुःख लाग्यो, सात सय उन्नतीस रात देखाएर आकासले एक महत्वपूर्ण रातलाई महत्वहीन पार्न खोज्दै छन् । आकासको लागि मैले सबै सपनाहरु त्यागेकी थिएँ । आकासले यसो भन्दा मैले रिसको झोँकमा भनें —”यदि यो बच्चा तिमीलाई तिम्रो जस्तो लाग्दैन र कुनै शंका छ भने यो कोपिलामा लात हानिदेऊ । यदि माली नै छैन भने त्यो फूलले फक्रेर के पाउँछ ?” आकासले म जस्तो एक कमजोर नारीकोे चुनौतिलाई सहर्ष स्वीकार गर्यो र मेरो पेटमा बेस्सरी लात हान्यो । आकासको आघात पाएर म अचेत बनें । होस खुल्दा हस्पितलमा मेरो पेट हलुंगो बनिसकेको थियो । त्यहाँ फूलको सपना देख्ने कोपिला, कोपिलामै ओइलाई सकेको थियो ।

समय बित्दै गयो । मेरो जीवनमा एउटा परपुरुष घाउ बनेर दुखिनै रहयो । त्यही बदनामीको कारण मेरो सिउँदो रंगिन चाहेर पनि । कहिल्यै रंगिएन । म आजिवन कुमारी नै बनें । आकासले त्यो घटनाको केही समय पछि घरपरिवारले रोजेकै एक युवतीसँग बिहे गर्यो । बिहे गरेपछि सपरिवार पोखरा सरे । त्यसपछि पोखरा र काठमाडौँको भौगोलिक दुरीले हाम्रो भेट कहिल्यै भएन । मलाई अव आकासको वारेमा केही जानकारी छैन ।

 

बीस बर्ष पछि बिन्दुको डायरीबाट…

गएको शनिवार म पशुपतिको मन्दिरमा पूजापाठको लागि जाँदै गर्दा आकाससित मेरो जम्का भेट भयो । आकास आफ्नी श्रीमती र छोरासँग आएको रहेछ । उस्ले मेरो बाटो छेकेर बेइज्जत गर्ने भाषामा बोल्यो — ‘पोते, सोते र सिन्दूर पनि देखिँदैन । अझै बिहे भएको छैन र तिम्रो ? कि बुढीकन्या नै बस्छौ अब ?’ एकक्षण हाँसे पछि पुन: आफ्नो छोरातिर इशारा गर्दै बोल्यो – ‘यो हो मेरो छोरा । हेर न छोरा त म जत्रो नै अग्लिसके !’ आफ्नो छोराको अग्लाईमा गर्व गर्दै बोल्यो । एकक्षण त चुप लागेँ तर ममाथि अन्याय नै भएको हो भन्ने बोध भएपछि आफूभित्रको कमजोर नारीलाई कतै फ्याकेर बोलेँ — ‘यदी किरण, यो धर्तीमा भएको भए, त्यो झन कति अग्लिसक्थ्यो होला, कल्पना गर्नुस् ।’ एउटी नारीको सानु स्वरको प्रश्न मेरो कर्णपर्दामा विस्तारै ठोकिन आयो – ‘को हो किरण ?’  मैले पुरुषको प्रत्युतर सुन्न चाहिनँ । म पूजा गर्न आएको, मन्दिरतिर विस्तारै पाइला बढाएँ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार