समाचार

नेपालको आर्थिक वृद्धिदर ७.०५ प्रतिशत

काठमाडौं । नेपालले आर्थिक वर्ष २०७५\७६ मा ७.०५ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार नेपालले लगातार तेस्रो वर्ष ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि हाँसिल गर्ने क्रममा यो उपलब्धी प्राप्त गरेको हो ।

आव २०७३\७४ मा ७.७४ प्रतिशत आर्थिक वृद्धि भएकोमा आव २०७४\७५ मा ६.३ प्रतिशतको आर्थिक वृद्धिदर रहेको थियो ।

गत आवमा सरकारले १३ खर्ब १५ अर्ब १६ करोड बजेट विनियोजन गरेको थियो । त्यसमध्ये १० खर्ब ९४ अर्ब मात्र खर्च भयो ।

भूकम्प आएको वर्ष सबैभन्दा कम आर्थिक वृद्धि भएकोमा त्यसपछिका वर्षमा भने निकै सकारात्मक आर्थिक वृद्धि देखिएको छ ।

खासगरी ठूला आयोजना र पूर्वाधार निर्माणले कुनै न कुनै रुपमा गति लिएका कारण त्यसको प्रभाव अर्थतन्त्रमा सकारात्मक देखिन थालेको छ ।

भूकम्पपछिको पुनर्निर्माणले पनि ठूलो राहत सरकारलाई दिइरहेको छ । विद्युतको नियमित आपूर्ति हुनु र त्यसले पेट्रोलियम पदार्थ आयात घट्दा पनि राष्ट्रिय अर्थतन्त्र सकारात्मक रहन भूमिका खेलेको हो ।

यसैगरी सरकारले आर्थिक वर्ष २०७५\७६ मा ८६० अर्ब राजश्व संकलन गर्ने संशोधित लक्ष्य लिएकोमा ८५९ अर्बं ५९ करोड राजश्व संकलन गर्न सफल भएको छ ।

मुद्रास्फिती जेठ मसान्तसम्म ४।५ प्रतिशत रह्यो । शोधनान्तर घाटा जेठसम्म ९० अर्ब ८३ करोड रहेको तथ्यांकमा उल्लेख छ ।

आर्थिक वर्ष २०७५\७६ मा १४ खर्ब १८ अर्बको आयात भएको र ९७ अर्ब ११ करोडको मात्रै निर्यात भएको छ ।

जेठसम्म ७ खर्ब ९९ अर्ब विप्रेषण भित्रिएको तथ्यांक अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ ।