समाचार

फेरि राजनीतिक अस्थिरताको खतरा- भारतीय सक्रियताले संसय बढायो

गुगल फाईल फोटो

विश्वन्युज संवाददाता
काठमाडौं
नेपालमा नाटकीय ढंगले राजनीतिक घटनाक्रम परिवर्तनको संकेत देखिन थालेको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वराजाको विदेश भ्रमणले नेपालमा राजनीतिक नयाँ रुप देखिन थालेको छ । यो बीचमा भारतीय पक्षबाट भएका महत्वपूर्ण भेटवार्ताले नेपालको राजनीतिमा नयाँ उतारचढाव आउन सक्ने अनुमान गरिएको छ ।
भारतीय गुप्तचर निकाय रिसर्च एण्ड एनालाइसिस विंग (रअ) प्रमुख सामन्थकुमार गोयलको नेपाल भ्रमण र भाजपाका नेताहरुको निरन्तरको भ्रमणलाई स्वाभाविक रुपमा लिन नसकिने राजनीतिक विश्लेषकहरुले बताएका छन् । राजनीतिक विश्लेषकहरुले नाटकीय ढंगले राजनीतिक घटनाक्रम अगाडि बढेको बताएका छन् ।
राजनीतिक विश्लेषक प्राडा विष्णु दाहालले पछिल्ला राजनीतिक घटनाक्रम नाटकीय भएको बताएका छन् । उनले भनेका छन्, ‘राजनीतिक घटनाक्रमलाई हेर्दा सामान्य मान्न सकिदैन । नेपालका राजनीतिक दलले नै भारतीय पक्षसँग निरन्तर छलफल गर्नुको कुनै रहस्य रहेको छ । यसको असर सत्तारुढ दलमा छिट्टै देखिने छ ।’
भारतीय नेताहरुको निरन्तरको नेपाल भ्रमण, स्वास्थ्य उपचार वा आरामका लागि भन्दै ओली र प्रचण्डको विदेश भ्रमणलाई पनि आम नागरिकले राजनीतिक अस्थिरतासँग जोडेर हेरेका छन् । पछिल्लो समय उपप्रधान तथा रक्षामन्त्री रहेका ईश्वर पोखरेलको पूर्वराजा ज्ञानेन्द्र शाहसँग भएको छलफल, पूर्वराजावादीको सक्रियता, पूर्वराजाको भेटवार्ता लगायतका कारणले पनि नेपाली राजनीति अहिले तरंगित भएको छ ।

सत्तारुढ नेकपामा विवाद तीव्र

आम नागरिकको इच्छा र चाहनाका साथ झण्डै दुई तिहाई बहुमत प्राप्त नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । पार्टी एकताको एक वर्ष पुगे पनि अझै कार्यविभाजनमा समस्या देखिएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विगतको सहमतिलाई लिएर विवाद छ । प्रधानमन्त्रीको कार्यावधि बाँटफाँट गरेका दुई अध्यक्षले अहिले राजनीतिक रुपमा एकले अर्कोलाई निश्चित ठाउँमा राखेर आफ्नो स्वार्थसिद्ध गर्ने तर्फ केन्द्रित भएका छन् ।
पार्टीभित्रका अन्य गुट उपगुट मार्फत दुवै जनाले एकअर्का विरुद्ध आन्तरिक शक्ति प्रयोग गरिरहेका छन् । प्रधानमन्त्रीसमेत रहेका ओलीले द्वन्द्वकालिन घटनालाई हतियारको रुपमा उठाएका छन् भने प्रचण्डले सरकारको नेतृत्वलार्य हतियार बनाएका छन् । दुवै जना वरिष्ठ नेता माधवकुमार नेपालको समर्थनमा एकअर्का विरुद्ध बहुमतको खेलमा समेत लागेका छन् । यसले नेकपाभित्रको शक्ति संघर्षलाई प्रष्ट पार्छ । पूर्वएमालेका नेता सूर्य थापा र पूर्वमाओवादीका नेता रामप्रसाद सापकोटा दीपशिखाबीचको सार्वजनिक विवाद पनि यहीँ सेरोफेरोमा केन्द्रित रहको नेकपाका एक नेताले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले पार्टी एकताका बेलामा आलोपालो प्रधानमन्त्रीको सहमतिमा हस्ताक्षर गरेका थिए । अहिले उनलाई सरकारको नेतृत्व छाड्ने मन छैन्, त्यसैले विभिन्न बहानामा उनले प्रधानमन्त्री ओलीले पार्टी एकताका बेलामा आलोपालो प्रधानमन्त्रीको सहमतिमा हस्ताक्षर गरेका थिए । अहिले उनलाई सरकारको नेतृत्व छाड्ने मन छैन्, त्यसैले विभिन्न बहानामा उनले आफ्नो कुर्सी जोगाउनका लागि फालेका विभिन्न कार्ड भएको एक नेताले विश्लेषण गरे । त्यस्तै प्रचण्डलाई पनि अहिले प्रधानमन्त्री भन्दा पनि पार्टी अध्यक्ष चाहिएको ती नेताको भनाई छ । त्यसैले अहिलेको विवाद झनझन् चर्किदै जानेछ । दुई अध्यक्षबीच फेरि अर्को सहमति नभएसम्म नेकपा भित्रको विवाद थप चर्किने छ ।
नेकपामा ओली अल्पमतमा छन् । हरेक कमिटीमा ओलीले आफ्नो बहुमत गुमाउदै गएका छन् । पहिले जस्तो बलमिच्चाई गर्नबाट ओली पछि हट्न थालेका छन् । आफ्नो बहुमतलाई बरकरार राख्नका लागि उनले प्रचण्ड वा माधवकुमार नेपालसँग सम्झौता गर्नुपर्ने बाध्यता छ । पछिल्लो समय संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको जिम्मेवारी नेपाल निकट योगेश भट्टराईलाई दिएको कुरा पनि शक्ति संघर्षका रुपमा हेरिएको छ । नेकपा भित्रको विवाद अझै केही समयसम्म निरन्तर चल्ने अनुमान गर्न सकिन्छ ।

काँग्रेसमा पनि उत्तिकै समस्या

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसमा अहिले आउँदो महाधिवेशन केन्द्रित बहस चलिरहेको छ । पटक–पटक बस्ने केन्द्रीय कार्यसमिति बैठकमा आउँदो महाधिवेशनका विभिन्न पक्षमा छलफल चलिरहेको छ । सभापति शेरबहादुर देउवाले भने आउँदो चैतमा हुने महाधिवेशन झण्डै एक वर्ष सार्ने तयारी गरेका छन् । त्यसको संस्थापन इतरका समूहले विरोध जनाएका छन् ।
प्रदेश र स्थानीय तहका विभिन्न पार्टी संरचनाको पूर्णका विषयमा छलफल चलिरहेको छ । प्रतिस्पर्धाका आधारमा गर्नुपर्ने युवा नेताको मागलाई नेतृत्वले व्यवास्था गरेको नेता प्रदीप पौडेलले जानकारी दिए । उनले सभापति देउवाले महाधिवेशन नै सारेर लोकतान्त्रिक मूल्य–मान्यताको खिल्ली उडाएको आरोप लगाए । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताले महाविधेशन तोकिएकै समय अर्थात आउँदो चैतमा गर्नुपर्नेमा जोड दिएका छन् । तर सभापतिले विधानअनुसार एक वर्ष लम्बाउने इच्छा व्यक्त गरेका छन् ।
नेपाली काँग्रेसभित्रको विवाद पनि शक्ति संघर्षका रुपमा लिन सकिन्छ । सभापति देउवा अर्को कार्यकालको सभापतिको उम्मेद्वार बन्ने पकका जस्तै छ । यहीँबीचमा वरिष्ठ नेता पौडेलले आफू उठ्नेगरी विभिन्न समूहसँग छलफल गरेका छन् । त्यस्तै काँग्रेसमा अहिले अबको नेतृत्व लिनका लागि कोइराला परिवार सक्रिय भएको छ । महामन्त्री डा. शशांक कोइरालाले सभापतिको उम्मेदवार बन्ने इच्छा व्यक्त गर्न थालेका छन् । कोइराला परिवारले अहिले आउँदो महाधिवेशनका लागि पार्टी भित्रका विभिन्न पक्षसँग छलफल गरिरहेको छ ।
आन्तरिक विवादमा रुमलिएका कारण काँग्रेसले संघीय संसदमा जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेको छैन् । सदनमा प्रभावकारी प्रतिपक्षको अभावमा सरकारले लोकतान्त्रिक मुल्यमान्यता बिरोधी विभिन्न कानुन ल्याएको छ । नेपाली काँग्रेसको बिरोधले काम गर्न छाडेको छ । विप्लव नेकपाका नेता कुमार पौडेल प्रहरीको गोलीबाट मारिएपछि अवरुद्ध गरेको सदन काँग्रेसले उपलब्धिविहीन तरिकाले खोलेको छ । सदन अवरोधमा समेत आफ्नो अडानमा काँग्रेस कायम रहन सकेन् । अन्य प्रतिपक्षलाई पनि नेतृत्व दिनेगरी काम नगर्दा सरकारले मनलाग्दी निर्णय गरिरहेको छ ।

भारतको सक्रिय भूमिका

नेपाल र भारतबीचको सम्बन्ध संसारमै नयाँ र घनिष्ठ रहेको चर्चा हुने गरेको छ । सरकार–सरकारबीचको सम्बन्ध भन्दा पनि नागरिक नागरिकबीचको सम्बन्ध दरिलो छ । कला संस्कृति मात्र होइन सामाजिक, आर्थिक संरचना पनि मिल्दाजुल्दा छन् । त्यही कारणले नेपाल–भारत सम्बन्ध विशेष प्रकारको छ । तर, भारतले आन्तरिक मामिला र विवादका विषयमा अनावश्यक चासो राख्ने भएकाले नेपाली राजनीतिमा भारतलाई हेर्ने दृष्टिकोण राम्रो छैन ।
पछिल्लो समय भारतीय गुप्तचर निकायका प्रमुखको भ्रमण, भाजपाको विदेश विभागका प्रमुखको नेपाल भ्रमण र भदौ चारदेखि हुने भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणमा पनि राजनीति–राजनीतिको नयाँ फण्डा लुकेको राजनीतिक विश्लेषकहरुले बताएका छन् । भारतले जुन विषयमा छलफल गरेर अगाडि बढ्दा राम्रो हुन्थ्यो, त्यो नगरेर नेपालको आन्तरिक मामिलामा छुस्सछुस्स अनेक बहानामा छिर्न खोज्ने गरेको परराष्ट्रमामिलाका विज्ञ प्राडा उद्धब प्याकुरेलले बताएका छन् ।
नेपालको राजनीतिमा भारतले खेल्न खोज्नुको मुख्य कारण नेपाली नेताको कमजोरी हो । आफूलाई बलियो बनाएर भारतसंग प्रस्तुत हुनुपर्नेमा नेपाली नेता गरुणको छायामा परेजस्तो अवस्थामा छन् । भारतले चाहेमा जे पनि गर्न सक्छ भन्ने बुझाई नेपालका राजनीतिक दल र नेताहरुमा छ । रअप्रमुखसँगको भेटवार्ताका विषयमा सरकारले अहिलेसम्म कुनै पनि प्रतिक्रिया जनाएको छ्रैन । नेपालको आन्तरिक मामिलाका विषयमा भारतले नेताहरुसँग खुलेरै छलफल गर्छ ।
भारतमा प्रचुर बहुमतसहित भाजपा नेता नरेन्द्र मोदी सरकारको दोस्रो पटक नेतृत्वमा छन् । नेपालका लागि खतरा भनेको भारतमा भाजपा नेतृत्वको सरकार भएको र आरएसएसको गतिविधिले नेपालका राजनीतिक एजेण्डामा समस्या पर्न सक्ने विश्लेषक प्याकुरेलले बताए । सुगौली सन्धीदेखि नेपालका शासकले जनतालाई केही गर्न नपर्ने र भारतको समर्थन भए पुग्ने भन्ने मानसिकता सुरु भएको र अहिले पनि त्यसैले निरन्तरता पाईरहेको उनको प्रतिक्रया छ । नेपालका पछिल्ला गतिविधिले फेरि एक पटक राजनीतिक अस्थिरता पैदा हुन्छ कि भन्ने आशंका व्यक्त गरिएको छ ।