अमेरिका

राजन विश्वकर्मा अमेरिकामा सम्मानित

क्यालिफोर्निया । अमेरिकाको सान फ्रान्सिस्को बे एरियामा कार्यरत ९ वटा नेपाली संघसंस्थाहरुले एक समारोहबीच सामाजिक अभियन्ता राजन विश्वकर्मालाई सम्मानित गरेका छन् । द्वन्द्वको चपेटामा परी आमाबाबुको सुरक्षा र मायाबाट वञ्चित बालबालिकाहरुलाई धेरै वर्षदेखि पालनपोषण र शिक्षादीक्षा दिँदै आएकी मदर राजन विश्वकर्माले सामाजिक न्याय क्षेत्रमा ठूलो योगदान गरेको ठहर गर्दै नगदसहित च्याम्पियन अफ सोसियल जस्टिस अवार्डद्वारा सम्मानित गरेको हो ।
कार्यक्रमको सभापतित्व नेपाली जनसम्पर्क समिति अमेरिका उत्तर क्यालिफोर्निया च्याप्टरकी कार्यबाहक सभापति लक्ष्मी केसी कार्कीले गरेकी थिइन् । प्रेम परियारले सञ्चालन गरेको कार्यक्रममा समाजसेवी महिला नेतृ हेमा पनेरुले स्वागत मन्तव्य राखेकी थिइन् । आयोजक संस्थाका तर्फबाट नेपाल विश्व सहयोग संघ (एनएजीसी)का संस्थापक अध्यक्ष मणी नेपाली पनेरुले राजन विश्वकर्माले गरेका आदर्श कामहरुमा संस्थाहरुको सक्दो सहयोग रहने बताए ।
कार्यक्रममा द्वन्द्वपीडित र अनाथ बालबालिकाहरुलाई मदर राजनले गरेको सहयोग तथा उनको जीवन संघर्ष र योगदानबारे निर्माण गरिएको डकुमेन्ट्री प्रदर्शन गर्दा उपस्थित सहभागीहरु भाव विभोर भएका थिए ।
कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष धनन्जय नरसिंह केसी, शिक्षाविद डा. आमोद पोखरेल, समाजसेवी विद्यासागर योन्जन, नान्सका पूर्वअध्यक्ष डिकेन्द्र मास्के, लायन्स क्लब अफ बर्कली लालीगुराँसका चार्टर प्रेसिडेन्ट निर्मल फुयाँल, नान्सका पूर्वअध्यक्ष यान राई, आयोजक संस्था हिमालयन फाउण्डेसनका अध्यक्ष तथा नेपाली कम्युनिटी सेन्टरका अध्यक्ष यज्ञलाल श्रेष्ठले मन्तव्य राखेका थिए ।
कार्यक्रममा आयोजक संस्थाहरु नेपाली जनसम्पर्क समिति अमेरिका उत्तर क्यालिफोर्निया, गिरिजाप्रसाद कोइराला फाउण्डेसन, एनआरएनसीसी युएसए क्यालिफोर्निया च्याप्टर, द ह्वाइट जोन इन्टरनेशनल क्यालिफोर्निया च्याप्टर, वेष्ट अमेरिका नेपाली महासंघ, नेपाल एशोसियसन फर ग्लोबल कोअपरेशन, हिमालयन फाउण्डेशन कोर्प, नीलकृष्ण जसोदा फाउण्डेशन तथा गोर्खा अमेरिका सम्पर्क समितिका प्रतिनिधि, नान्सका अध्यक्ष तथा आयोजक संस्था नीलकृष्ण जसोदा फाउण्डेशनका अध्यक्ष ईश्वर सिटौला लगायत महत्वपूर्ण व्यक्तित्वहरुको उल्लेख्य उपस्थिति थियो ।
आयोजक संस्था र जनजाति महासंघको कार्यक्रमका साथै रोशन सुवेदीको तर्फबाट गरी कूल २२ सय डलर मदर राजनलाई प्रदान गरिएको छ ।