समाचार

देशले एकै दिन गुमायो दुई प्रतिभा

काठमाडौं । शनिवार एकै दिन कलाकार सुभद्रा अधिकारी र पत्रकार डायलसन अधिकारीको निधन भएको छ ।

वरिष्ठ कलाकार सुभद्रा अधिकारीको काठमाडौंमा निधन भएको हो भने पत्रकार अधिकारीको भने सप्तरीमा भएको सवारी दूर्घटनामा ज्यान गएको हो ।

वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा निधन भएको हो । उनी लामो समयदेखि निमोनियाबाट ग्रस्त थिइन् ।

पारिवारिक स्रोतका अनुसार केही दिन अगाडी मात्र उनलाई अस्पतालबाट घरमा ल्याइएको थियो ।

थुप्रै चलचित्र तथा टेलिचलचित्रमा अभिनय गरेकी अधिकारी करीव ४ दशकदेखि नेपाली कलाकारितामा सक्रिय रहेकी थिइन् । कन्यादान, चिनो, भाउजुजस्ता चर्चित चलचित्रमा उनले जिवन्त अभिनय गरेकी छन् ।

 

उता, शनिबार बिहानै सप्तरीको कञ्चनरुप गाउँपालिकामा सवारी साधन दुर्घटनामा परी पत्रकार डायलसन अधिकारीको मृत्यु भएको हो ।

दुर्घटनामा अन्य चार जना घाइते छन् । उनी रेडियो नेपालका बुटवल संवाददाता हुन् ।

बा १६ च २२३५ नम्बरको जीप शनिबार पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनरुप नगरपालिका ११ स्थित बक्साहा भन्ने स्थानमा दूर्घटनामा परेको प्रहरीले पुष्टी गरेको छ ।

रुपन्देही जिल्ला, तिलोत्तमा नगरपालिका ( ३ ) का स्थायी बासिन्दा ३५ वर्षीय अधिकारी उक्त भेगका लोकप्रिय पत्रकार थिए ।

तिलोत्तममा नगरपालिको आयोजना गर्न लागेको लगानी सम्मेलनको तयारीस्वरुप नगरपालिकाका पदाधिकारी र पत्रकारसहितको टोली पूर्वी नेपालतर्फ जाने क्रममा दूर्घटनामा परेको बताइएको छ ।

दुर्घटनामा रुपन्देही व्यापार संघका अध्यक्ष जेपि कँडेल, वडाध्यक्षहरु सोहन चौधरी, तारानाथ पाण्डेय र चालक अशोक भण्डारी घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।