स्वास्थ्य

बिग्रदैछ मौसम, सचेत रहन आग्रह

फाइल तस्वीर

काठमाडौं । देशभर मौसम अदलबदल भइरहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले सचेत रहने सर्वसाधारणसँग आग्रह गरेको छ ।

बाढी सूचना केन्द्रका अनुसार ठूला र साना नदीहरुमा पानीको बहाव बढ्न सक्ने सम्भावना रहेको छ ।

देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने र पश्चिमी पहाडी भू-भागका मेघगर्जन तथा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई रहेको छ ।

शनिबार दिउँसो पूर्वी तथा मध्यपहाडी भू-भागका केही स्थानमा भारी वर्षा हुने सम्भावना छ । शनिबार र आइतबार कन्काई, कमला, बागमती र महाकाली नदीमा बहाव बढ्ने अनुमान गरिएको छ ।

यी नदीको किनारमा बस्ने मानिसले सचेतना अपनाउनु पर्ने बाढी सूचना केन्द्रको भनाई रहेको छ ।

झापा, मोरङ, इलाम, उदयपुर, सिन्धुली, कैलाली, कञ्चनपुरलगायत जिल्लामा बग्ने नदीमा पानीको बहाव बढ्न सक्ने अनुमान गरिएको छ ।

साना र ठाडो खोलाहरुमा पनि अकस्मात बाढीको सम्भावना रहेको केन्दको भनाई रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार चुरेबाट बहने नदीमा पानीको बहाव आकस्मिक वृद्धि हुन सक्छ ।

बिहीबारदेखि सक्रिय रहेको बादलले देशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ ।