फिचर

वायुसेवा कम्पनीमा ठूला जहाज भित्राउने होड, श्रीले ल्यायो पाँचौं जहाज

काठमाडौं । नेपालमा हवाई यात्रुको बढ्दो चापसँगै निजी क्षेत्रका वायुसेवा कम्पनीबीच जहाज भित्राउने होड तिब्र बनेको छ ।

कम्पनीहरु खासगरी ठूलो क्षमताका जहाजमा केन्द्रित देखिएका छन् । आइतबार मात्र श्री एयरलाइन्सले बम्बाडियर जहाज काठमाडौं अवतरण गरायो ।

यो श्री एयरलाइन्सको पाँचौ जहाज हो । कम्पनीसँग यसअघि चार वटा जहाज थिए । ९ एन-एएनएफ जहाज काठमाडौं अवतरण गरेको कम्पनीले जनाएको छ ।

यो कम्पनीले सन् २०१७ बाट आन्तरिक उडान थालेको हो । छोटो समयमै तिब्र बजार बिस्तार गरिरहेको यो कम्पनी बुद्ध र यति एयरलाइन्सपछि आन्तरिकतर्फ सबैभन्दा बढी यात्रु बोक्ने नेपाली कम्पनी हो ।

कम्पनीले आगामी साता थप एक जहाज ल्याएर कूल जहाज संख्या ६ पुर्याउने योजनामा छ । क्यानडामा बनेको बम्बाडियर ८० सीट क्षमताको जहाज हो ।

यो कम्पनीले निकट भविश्यमा बाह्य उडानको समेत तयारी गरिरहेको छ ।

उता, बुद्ध एयरले पनि निकट भविश्यमा थप एटीआर जहाज ल्याउने बताएको छ । उक्त कम्पनीसँग ७२ सीट क्षमताका ठूला जहाजको बाहुल्य छ ।

दुई साता अघि मात्र यति एयरले एक एटीआर जहाज भित्राएर आक्रामक बजार बिस्तारमा लागिसकेको छ ।

कम्पनीहरुबीच तराई भेगका ठूला विमानस्थलमा तिब्र प्रतिस्पर्धा छ । जसको फाइदा भने यात्रुले पाउने छन् ।