बिचार

अमेरिका : एक नयाँ बिद्यार्थीको अनुभव

ऋतिका प्रसाईं/टेक्सस

सानैदेखि अमेरिका भनेपछि हुरुक्कै हुन्थे । के छ होला त्यो अमेरिकामा ? कस्तो होला त्यो ठाउँ ? भन्ने बिचारले नै मन फुरुङ्ग हुन्थ्यो । बिएस्सी गर्ने बित्तिकै अमेरिकामा मास्टर्स डिग्री गर्ने रहर जाग्यो । अन्तरमनले देखेको सपना पुरा गर्नु पर्छ भन्ने सोच राखें । आवश्यक प्रकृयाहरु पुरा गरेपछि अन्तत; अमेरिका टेक्न सफल पनि भए । म छात्रवृतिमा आएका कारण अरु बिद्यार्थी जस्तो समस्या पनि थिएन ।

आएको २-४ दिन अमेरिकाका केही सहरहरु आफ्ना आफन्तजनको सहयोगमा घुमें । यो एउटा सुनौलो मौकाको रुपमा लिएँ ।काठमाडौंमा धुलो र धुवादेखि वाक्क भएर आएकी म अमेरिकाकाको वातावरणबाट निकै प्रभावित भएँ । यहाँका हरेक कार्यशैली निकै नै तेजस्बी रहेछन ।

भखरै अमेरिका टेकेकी हुँदा यता रहेका साथीभाईहरु पालैपालो भेट्न पनि आइरहे ।थोरै बेरलाई भएपनि मैले नेपाल बिर्सिएकी थिए । बिस्तारै बिस्तारै अमेरिकाका अरु मानिसहरुसंग पनि चिनाजानी बढ्दै गयो । प्राय ग्यास स्टोर र वाल्मार्टमा बिद्यार्थी भेट्न थालेपछी मनमा अनेक प्रश्नहरु उठ्न थाल्यो । घण्टा घण्टामा पैसा पो फल्दो रहेछ भन्ने बोध हुन थाल्यो । दिनमा १८ घण्टासम्म रेस्टुरेण्टमा पोछा लगाउने बिद्यार्थी पनि भेटें । खटेको देखेर सकारात्मक र नकारात्मक दुबै खालको भावना मनमा आयो । सम्पूर्ण हप्ताभर १० घण्टाको दरले ७० घण्टासम्म काम गर्ने पनि भेटें । हुन त काम ठुलो सानो हुदैन । श्रममको सम्मान भएको ठाउँ रहेछ भन्ने ज्ञात भयो । आफुले सक्ने जति काम गर्न पाउनु सबैको अधिकार पनि हो । 

तर कतिपय यस्ता विद्यार्थी भेटें, जो नेपालबाट १२ पास गरेर यता आएर घण्टा घण्टामा कमाईको लोभमा परेर आफ्नो भविष्य बिग्रिएको दृष्टान्त समेत सुनाउने गर्थे । धेरै जस्तो सम्पर्क बिद्यार्थीहरु नै हुन थाल्यो । कोही विश्वविद्यालयको फी तिर्न घोटिनु परेको छ भन्थे । कोही नेपालमा कमाएर पठाउनु पर्ने भएका कारण पढाई समेत बिथोलिएको बताउँथे । राती कामबाट लखतरान भएर कोठामा आएपछि आमाले कर लगाई लगाई खुवाएको सम्झिदा रुदै सुतेको सुनाउने पनि भेटियो । छुट्टीमा साथीभाईसंग सराङ्कोटको डाडाँमा घण्टौं रमाएर बिताएका यादरुले पनि निक्कै सताउँदो रहेछ बिधार्थीहरुलाई । 

बाबुको गालीले छुँदै नछुनेहरुलाई यता साहुको हेपाइले साह्रै पिरोलेको रहेछ ।नेपालमा आफु बस्ने घरलाई झुपडी देख्नेहरु यता कोठा भाडा तिर्न नसकेर छटपटिएका रहेछन् ।

यद्यपी जे जस्तो भएतापनि भेटेका मध्ये थोरै मात्र नेपाल फर्कने चाहना राख्दथे । नेपालमा रोजगारीको भयानक दुरावस्थालाई देख्दा उनीहरुलाई डर लाग्दो हो !

मान्छेले परेपछि मरुभूमिमा पनि बाँच्ने उपाय निकाल्छ भने जस्तै अमेरिकामा विद्यार्थीहरुको संघर्ष देख्दा, भोग्दा र सुन्दा उनीहरुले गरेको परिश्रमले हरेकलाई जीबनको ठुलो पाठ सिकाएको छ ।

नेपालबाट भर्खर भर्खर आउने म जस्ताको लागि त झन हरेक चिजमा सिक्नु पर्ने, जान्नुपर्ने अवस्था परिरहन्छ । 

बिद्यार्थीको अवस्था, अनुकुल समय, शारिरीक क्षमता अनुसारको काम चाहेजति गर्न सकिने र अलिअलि गर्दै पढाईलाई निरन्तरता दिन सकिने भएको कारण पनि अमेरिका बिद्यार्थीको आकर्षण बनेको महसुस गरें । थप के पनि हो भने, बिकसित छ र बिकसित भएकै कारण प्रत्यक बिद्यार्थीको आखाँको तारा बनेको छ । अझ भन्नुपर्दा MS र Phd गर्न चाहने बिधार्थी को लागि त पहिलो रोजाई नै बनेको छ । 

संघर्ष गरेर केही गर्छु वा सिक्छु भन्ने चाहाना राख्नेहरुका लागि अमेरिकाले अनेकौं अवसर दिंदो रहेछ । 

तर भबिष्यको ख्याल नराखी आफ्नो गन्तब्य बिर्सिने विद्यार्थीहरुका लागि भने अमेरिका एक भुमरी जस्तै बन्न सक्छ । हुनत मैले २ महिना आफूले देखे भोगेको अनुभव शेयर गरेको हुँ । सबैलाई मलाई जस्तै लाग्नेछ भन्नु उपयुक्त हुँदैन । समग्रमा भन्दा स्वतन्त्रताको देशमा वास्तवमै स्वतन्त्रता भरपुर रहेछ । आगामी अनुभव लेख्नै गरौंला ।image1.jpeg

 

Sent from my iPhone