विश्व

हिमालयन टू रुट कार्यान्वयनमा म्यानमार सकारात्मक

काठमाडौं । नेपाल र म्यानमारबीच हिमालयन टू रुट टुंगोमा पुर्याउने सहमति भएको छ ।

दुवै मुलुक निकट भविश्यमै यस सम्बन्धमा छलफल गरी रुट कार्यान्वयनमा लैजाने सम्बन्धमा सहमत भएका हुन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण र म्यानमारको हवाई नियामक निकायका प्रमुखबीचको बैठकमा उक्त सहमति भएको प्राधिकरणले उल्लेख गरेको छ ।

यो रुट नेपाली आकासलाई पूर्वमेची देखि पश्चिम महाकालीसम्म नै छुने गरी नेपालले प्रस्ताव गरेको हवाई रुट हो ।

काठमाडौं, बागडोग्रा, गुहाटी, सिलचर, इम्फाल, कुनमिङ हुँदै हङकङसम्म पुग्ने जहाजका लागि छोटो दूरी हुने गरी यो रुट निर्धारण गर्न खोजिएको छ ।

यो रुट का लागि नेपालले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनमै प्रस्ताव गरिसकेको छ ।

यो रुट भारत, चीन र म्यानमारको अनुमतिमा खुल्न सक्छ । भारतले अनुमति दिइसकेको छ भने चीन र म्यानमारको अनुमति पाए खुल्न सक्छ ।

यस रुटले नेपालको हवाई यात्रा यूरोपसम्म पुग्दा करीव २० मिनेट छोटिने छ भने नेपाली आकास प्रयोग गरी उड्दा धेरै विदेशी कम्पनीको समय कम हुनेछ । यता, नेपालले आफ्नो आकास प्रयोग गर्न दिएवापत रकम पनि प्राप्त गर्छ ।