डायस्पोरा

चुनावी माहोल बनाउँदै अमेरिका भ्रमणमा आचार्य

न्यूयोर्क

गैर आवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय अध्यक्षका लागि उम्मेद्वारी घोषणा गरेका वर्तमान उपाध्यक्ष कुल आचार्यले अमेरिकाको भ्रमण सम्पन्न गरेका छन् ।

गत साता न्यूयोर्क ओर्लिएका आचार्य यहाँको गैर आवासीय नेपाली संघ च्याप्टर एवं नेपाली समयुदायका बिभिन्न गतिविधिमा सकृयहरुलाई भेटेपछि टेक्सास गएका थिए । त्यहाँ उनको एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल शाह लगायत पदाधिकारीसँग छलफल एवं अन्तरकृया भएको थियो ।

अमेरिकाको अन्य राज्यमा बस्ने धेरै नेपालीहरुले निम्तो दिए पछि यसपाली दुई ठाउँ मात्र पुग्न संभव भएको आचार्य विश्वन्यूजलाई बताए । अमेरिका पछि उनी क्यानडाको टोरन्टो गएका थिए । त्यहाँ उनको एनआरएनए क्यानडाका नव निर्वाचित पदाधिकारी लगायत अभियन्ताहरुसँग भेट भएको थियो । अमेरिका क्षेत्रको भ्रमण अत्यन्त फलदायी रहेको र मौका मिले अन्य राज्य एवं शहरमा बस्ने नेपालीहरुसँग पनि अन्तरकृयाका लागि छिटै आउने उनले प्रतिकृया दिए ।

१२ बर्ष अघि एनआरएन अभियानमा जोडिएका आचार्य एनआरएनए बेलायतको कार्यसमिति सदस्य, अध्यक्ष, केन्द्रीय सदस्य, युरोप संयोजक हुँदै गत अधिवेशनमा केन्द्रिय उपाध्यक्ष निर्वाचित भएका थिए । १२ देखि एनआरएनए अभियानमा रहँदा सिकेको ज्ञान र आर्जेको भावनालाई नेतृत्वमा पुगेर नेपालसँग जोड्ने आफ्नो मुख्य अठोट रहेको उनले बताए । अब केही महिना भित्रै हुने एनआरएनए केन्द्रीय कमिटीको निर्वाचनमा आचार्यसँग अर्का उपाध्यक्ष कुमार पन्तको प्रतिश्पर्धा हुने देखिएको छ । पन्त जर्मनी निवासी हुन् ।