स्वास्थ्य

उपचारका लागि प्रधानमन्त्री आज पुन: सिंगापुर जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे आम जनमानसमा निकै चासो रहेको छ ।

तर, उनको स्वास्थयको यथार्थ अवस्था के छ भन्ने जानकारी नै नगराई १० दिनको अन्तरालमा प्रधानमन्त्री पुनः आज सिंगापुर प्रस्थान गर्दैछन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो साढे १ बजे थाई एयरको नियमित उडानबाट उनी सिंगापुर प्रस्थान गर्दैछन् ।

उनको साथमा पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिव्या सिंहसहितको एक सानो टोली रहेको छ ।

२७ साउनमा फर्किएका प्रधानमन्त्रीले यस बीचमा केही भाषणका दौरान आफू ठिक रहेको र विपक्षीले आफ्नो मृत्युको कामना गर्न भ्याएको सम्म भने ।

तर, उनलाई के भइरहेको छ र अब केका लागि सिंगापुर जान लागेका हुन् भन्नेबारे भने सरकारले आधिकारिक जानकारी जनतालाई गराउन उचित ठानिरहेको छैन ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार चिकित्सकको सल्लाह अनुसार नै उनी सिंगापुर जान लागेका हुन् ।

प्रधानमन्त्रीले सिंगापुरमा रहँदा त्यहास्थित नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य उपचार गराउन छन् ।

अघिल्लो पटक उनी ९ दिनसम्म सिंगापुर बसेका थिए । उनको खर्च भने व्यक्तिगत रहेको बताइएको थियो । १२ वर्ष अगाडी मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीको स्वास्थ्य अवस्था उनी फर्किएपछि मात्र प्रष्ट हुने भएको छ ।