समाचार

भाजपा वरिष्ठ नेता आड्वाणीको दाबि भारत नेपालको विकास भएको हेर्न चाहन्छ

नयाँ दिल्ली
भारतीय जनता पार्टी (भाजपा)का वरिष्ठ नेता लालकृष्ण आड्वाणीले नेपाल–भारत सम्बन्ध जति निकट र सुमधुर हुन्छ त्यति नै दुवै देशलाई फाईदा हुने बताएका छन् । नयाँ दिल्लीमा रिपोटर्स क्लबले गरेको कार्यक्रममा आड्वाणीले भारत नेपालको बिकास हेर्न चाहेको बताए । उनले भने,‘नेपाल र भारतबीच आर्थिक, सामाजिक र राजनीतिक रुपमा गहिरो सम्बन्ध छ । हामीबीचको जनस्तरको सम्बन्धले दुई देशबीचको सम्बन्ध झनै बलियो बनाएको छ ।’ आड्वाणीले भारतले नेपालको विकास हेर्न चाहेको बताए । उनले थपे,‘मलाई विश्वास छ अब नेपालले छिट्टै आफ्नो विकास र समृद्धि हाँसिल गर्छ । नेपालको विकासमा भारत सरकारको पूरापुर सहयोग रहन्छ ।’ पछिल्लो समय नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्धमा कुनै समस्या नरहेको पनि उनको दाबी थियो । उनले भने,‘हामीबीच कुनै समस्या छैन, नेपाल र भारतबीच सदियौंदेखि सुमधुर सम्बन्ध रहेकोले हामीबीच हरेक रुपले घनिष्ठ सम्बन्ध छ ।’ भारतले नेपालको राजनीतिमा हस्तक्षेप गर्दैन भारतीय जनता पार्टीकै अर्का बरिष्ठ नेता मुरली मोहन जोशीले पनि नेपाल–भारत सम्बन्ध सुमधुर रहेकोले आगामी दिनमा थप मजबुद हुने स्पष्ट पारे । जोशीले नेपालमा धार्मिक स्वतन्त्रता वा धर्मनिरपेक्षता, वा हिन्दूराष्ट्र जे भएपनि त्यसमा आफूहरुको कुनै हस्तक्षेप नहुने बताए । उनले भने,‘नेपाललाई के बनाउने ? वा के नबनाउने भन्ने विषय त्यो नेपाल र नेपाली जनताले नै तय गर्ने कुरा हो । नेपालको आन्तरिक राजनीतिमा भारतले कहिल्यै हस्तक्षेप गर्दैन् ।’ भारतमा नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न लागेको सुनाउँदै उनले आगामी दिनमा नेपाल–भारत सम्बन्ध झनै बलियो हुने विश्वास दिलाए । त्यस्तै, भारतीय जनता पार्टीका प्रभावशाली नेता, पूर्व अध्यक्ष एवम् पूर्व गृहमन्त्री राजनाथ सिंहले नेपाल–भारत सम्बन्ध अब धेरै राम्रो हुने विश्वास दिलाए । सिंहले आफूहरुले नेपालको आर्थिक प्रगति र उन्नति चाहेको सुनाउँदै त्यसको लागि भारत सरकार जस्तोसुकै सहयोग गर्नपनि तयार रहेको स्पष्ट पारे । उनले भने,‘नरेन्द्र मोदीको नेतृत्वमा अब बन्ने सरकारले नेपालको विकास र समृद्धिमा झन धेरै सहयोग गर्छ ।’ अहिले नेपाल–भारतबीच कुनैपनि दरार र असमझदारी नरहेको पनि उनले जिकिर गरे । उनले भने,‘मोदी दोस्रो कार्यकालको लागि प्रधानमन्त्री बन्दै हुनुहुन्छ, अब बन्ने उहाँको नेतृत्वको सरकारले नेपाल–भारत सम्बन्ध मजबुद बनाउँछ । प्रभावकारी बनाउँछ ।’ फरक प्रसँगमा उनले नेपाल र भारतबीच भएका सबैखाले समस्याहरु हल गर्नका लागि बनेको नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह ईपिजीले तयार पारेको प्रतिवेदनमा भारतले अब छलफल गर्ने बताए ।