समाचार

रवि लामिछानेविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा टिभि रवि लामिछानेसहित तीन जनाले दुरुत्साहन गरेको निष्कर्षमा प्रहरी पुगेको छ ।

उनीहरुविरुद्ध आइतबार आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोग लिएर प्रहरीले १० दिनसम्म यस घटनाको सुक्ष्म अध्ययन गरेको थियो ।

आइतबार चितवन प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत आइतबार लामिछानेसहित पत्रकार युवराज कँडेल र नर्स रुकु कार्कीविरुद्ध आत्महत्या दुरुत्साहन गरेको मुद्दा दर्ता गरेको हो ।

गत वर्षदेखि आत्महत्याको घटनामा दुरुत्साहतको मुद्दा आकर्षित हुने कानून कार्यान्वयनमा छ । त्यसकारण अब आत्महत्यालाई पनि हत्याको केशसँग जोडेर हेर्न थालिएको छ ।

दुरुत्साहन प्रमाणित भए अधिकतम ५ वर्ष जेल र ५० हजार रुपैयाँसम्मको जरिवाना तोकिएको छ । चितवन प्रहरीका अनुसार मुद्दा दर्ता भएपछि आइतबार अभियुक्त कार्कसँग अदालतले वयान लिएको छ ।

लामिछाने र कँडेलको वयान भने आइतबार हुन सकेन । त्यसकारण सोमबार बिहान १० बजे उपस्थित गराउने गरी पुनः प्रहरी हिरासतमै राखिएको छ ।

जिल्ला अदालतमा अभियोग लागेका तीन जनाकै वयान हुनेछ । त्यसपछि मात्र थुनछेक बहस प्रारम्भ हुने कानूनि प्रावधान रहेको छ ।

पुडासैनीले चितवन पुगेर एक होटेलमा आत्महत्या गरेपछि अनुसन्धानका क्रममा उनको मोवाइलमा भिडियो रेकर्ड भेटिएको थियो ।

जसमा उनले यी तीन जनालाई आफ्नो आत्महत्याको मूख्य कारण भएको बताएका थिए । त्यसपछि प्रहरीले तीनै जनालाई पक्राउ गरी अनुसन्धान अगाडी बढाएको थियो ।

प्रहरीले टिभी प्रस्तोता लामिछानेलाई पक्राउ गर्नासाथ उनको समर्थनमा चितवनमा प्रदर्शन भइरहेको छ ।

प्रहरी, राजनीतिक दल र प्रशासनले भने प्रहरीलाई निष्पक्ष छानविनमा असर पुग्ने गरी कुनै पनि गतिविधि नगर्न सर्वसाधारणलाई सचेत समेत गराएको छ ।

प्रहरीका अनुसार बरामद भिडियो अडिट भएको छैन । भिडियो बाहेक अन्य अनुसन्धानबाट पनि लामिछानेको संलग्नता पुष्टी हुने आधार फेला परेको प्रहरीले उल्लेख गरेको छ ।

खासगरी कार्की र लामिछानेले पक्राउ अघि सार्वजनिक गरेको धारणा र पक्राउ पछिको धारणा फरक फरक पाइएपछि प्रहरीलाई थप प्रमाण मिलाउन बल पुगेको बताइएको छ ।

पत्रकार पुडासैनी लामिछानेको कार्यक्रम सिधा कुरा जनतासँग जोडिएका थिए । नर्स कार्की भने पुडासैनीको केटीसाथी रहेको र उनीसँग राम्रो सम्बन्ध रहेको थियो । पुडासैनी भने विवाहित हुन् ।