फिचर

'होटेलका कर्मचारीलाई हँसिलो राख्नुहोस, धेरै पाहुना आउँछन्'

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आतिथ्य सेवाका उद्यमीलाई कर्मचारीलाई खुसी राख्न आग्रह गरेका छन् ।

खुसी कर्मचारीले सेवा दिएमात्र धेरै ग्राहक आउने र व्यवसाय फस्टाउने भन्दै उनीहरुको सेवा सुविधालाई बोझका रुपमा नलिन आग्रह गरेका छन् ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री विष्टले श्रम सम्बन्धमा निकै सुधार भएको भन्दै अब आफ्नो कर्मचारीबाट बढी भन्दा बढी फाइदा लिन उद्यमीलाई सुझाव दिए ।

त्यसका लागि ऐनले तोकेको सेवा सुविधा दिएर खुसी राख्न समेत आग्रह गरे । ऐनले नेपालमा श्रमिकको न्यूनतम ज्याला १३ हजार ५ सय तोकेको छ । तर, यही ज्याला पनि धेरै भएको भन्दै उद्यमीहरुले गुनासो गरिरहेका छन् ।

नेपालमा एक जना मजदुरको दैनिकी चलाउन कम्तिमा २२ हजार रुपैयाँ आवश्यक रहेको विभिन्न अध्ययनले देखाएको भन्दै मन्त्री विष्टले न्यूनतम ज्यालामा सम्झौता नगर्न सचेत गराएका हुन् ।

कार्यक्रममा होटेल संचालकहरुले सामाजिक सुरक्षा कार्यक्रम अनिवार्य गर्दा अन्यौल भएको भन्दै यसका प्रावधानलाई खुकुलो बनाउन आग्रह गरेका थिए ।
सरकारले १ साउनबाट सामाजिक सुरक्षा योजना अनिवार्य गरेको छ । अहिलेसम्म ४ हजार प्रतिस्ठान र ४० हजार मजदुर यस योजनामा समोवश भइसकेको श्रम मन्त्रालयले जानकारी दिएको छ ।