फिचर

देशको सबैभन्दा ठूलो अटोमेला शुरु, विद्यूतीय सवारी भित्राउन अर्थमन्त्रीको आग्रह

काठमाडौं । नाडा अटो शो २०१९ प्रारम्भ भएको छ । यो नेपालको सबैभन्दा ठूला अटो मेला हो ।

जहाँ व्यवसायीहरुले आआफना उत्पादन तथा वस्तुको प्रदर्शनी र बिक्रि गर्छन् । आम अटोप्रेमी जनताले पनि यस मेलामा उत्साहपूर्वक सहभागिता जनाउँछन् ।

नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालले हरेक वर्ष यसै समयमा नाडा अटो शो आयोजना गर्दै आएको छ ।

मंगलबारबाट शुरु मेला १५ भदौंसम्म चल्नेछ । अर्थमन्त्री डा. युवराज खतिवडाले मेलाको शुभारम्भ गरे ।

कार्यक्रममा उनले विद्युतीय सवारी साधनलाई सरकारले प्रोत्साहनको नीति लिएको भन्दै त्यसतर्फ केन्द्रित हुने आग्रह गरे ।

शोमा सवारी साधन, पार्टपुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाका स्टल राखिएका छन् ।

यो नाडाको १४ औं संस्करण हो । काठमाडौं भृकुटीमण्डपस्थित कभर्ड हल, ठूलो चौर तथा बगैंचा समेत भाडामा लिएर अटो शो संचालन गरिएको छ चाडपर्व नजिकिएको समयमा आयोजना हुने यस मेलामा सबैभन्दा बढी सवारी साधनको बिक्रि तथा बुक हुने गर्छ ।

प्रदर्शनीमा अटो सम्वन्धि सेवा सुविधाबारे जानकारी दिन वित्तिय सेवा, विक्रिपछिका सेवा एवं बीमा क्षेत्रका छुट्टाछुट्टै स्टल राखिएका छन् ।

ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी जनचेतनाका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखा, काडमाडौंको सुचना कक्ष समेत यहाँ राखिएको छ ।

आयोजकका अनुसार प्रदर्शनीमा १६० वटा स्टल र ब्लक रहेका छन् ।

आयोजकका अनुसार २३ वटा ब्राण्डका चार पाङग्रे, १९ वटा ब्राण्डका दुई पाङग्रे, १२ वटा ब्राण्डका लुब्रिकेन्ट, ९ वटा ब्राण्डका टायर, ५ वटा ब्राण्डका ब्याट्री, १४ वटा पार्ट-पुर्जा एवम् ग्यारेज उपकरण कम्पनी तथा १३ वित्तिय संस्थाका स्टल यहाँ राखिएको छ ।