बिचार

जनप्रिय बन्ने कि नेताप्रिय पत्रकारज्यू ?

सुनिलमणि दाहाल / वाशिंगटनडिसी

नेपालमा धेरै जनताहरुले संबिधान प्रदत्त हकाधिकार समेत पाउन सकेका छैनन् । अर्कातर्फ जनप्रतिनिधिहरू र राज्य सयन्त्रका कर्मचारीहरु भने पुस्तौ पुस्तालाई पुग्ने सम्पति जोडेर हाई सुखमा छन् । देशमा ब्यापक भ्रष्टाचार मौलाउनु, जताततै  राजनीतिक हस्तक्षेप हुनु,  सुशासन कायम नहुनु आदि जस्ता कारणले जनतामा नैरास्यता बढन गएकोमा दुई मत छैन । यस्तो अवस्थामा र त्यसले निम्त्याएको बिसंगति औंल्याउँदै रवि लामिछाने उदाएका हुन् । टेलिभिजनको पर्दाबाट चिच्याए, कराए र ती शासकहरूलाई खवरदारी गर्दै ललकारे । धेरैको सातो खाए, धेरैको दुखमा मलमपट्टी लगाए पनि ।

रवि लामिछाने एक सामान्य टेलिभिजन प्रस्तोता हुन । उनका पछाडि यत्रो ठुलो जात किन लाग्यो ? भनेर बजारमा चर्चा चुलिएको छ । त्यो भिडमा सवैको भनाई एउटै छ: देशमा रोजीरोटी जोडन कठिन भएकाले एउटा गरिवको छोरा/छोरी बैदेसिक मेनपावर एजेन्सीमा जान्छन । त्यही ठगिन्छन् । त्यसका लागि टेलिभिजनवाट रवि नै वोले ।राज्यले उचित सम्बोधन गर्न सकेन । जसोतसो खाडीको रापमा काम गर्न जान्छन । तलव नपाएर उनीहरूको सडकको वास हुन्छ । त्यहाँ राज्य बोलेन । दूतावास बोलेन । रवि बोले । एउटा किसान आफ्नो जग्गाको काम मिलाउन मालपोत जान्छ । त्यहॉ घुस मागिन्छ । त्यहॉ काम नहुंदाको तनावमा प्रशासन मौन रहंदा क्यामेरा तेर्स्याउन रवि नै पुगे । सरकारी अधिकारीहरूले ज़िम्मेवारीपूर्वक सेवाग्राहीको काम नगरी अकुत सम्पति जोडदा होस् वा राजनितिक नेताहरूको अप्रत्यासित बढ्दो आर्थिक हैसियत बारे अख़्तियार बोलेन । रवि नै बोले। विचौलिया, ठेकेदार, कमिशनखोर तथा राज्यलाई कर नतिर्नेहरूलाई सरकारले तह लगाउन सकेन । रविले त्यस्ता गलत काम बारे टेलिभिजनवाट खवरदारी गरि नै रहे ।

जनताले रविको यस्तै कामलाई मन पराए ।उनको काममा विश्वास र भरोसा गर्दै उनलाई हिरो बनाए । त्यसैले रविका पछाडी उर्लदो भिड देखियो । उता कमजोर सरकारी संयन्त्र, राज्य हॉक्ने राजनितिक दल र त्यसका कार्यकर्ता लगायत त्यसको आडमा चल्ने केही मिडियाहरू र आफुलाई अव्वल दर्जाको पत्रकार भन्नेहरूलाई त्यही भिडले यति बेला भिलेन जस्तै बनाईए ।

रविको एग्रेसिभ/ मिसन पत्रकारिताको शैली कति ठिक र कति बेठिक त्यसको मापन जनता आफैले गरेका छन् । तर रविको पत्रकारिताको शैलीसंग असन्तुष्ट अर्काथरी पत्रकारहरु लगायत मुलधारका मिडियाहरु उनको शैलीप्रति आपत्ति जाहेर गर्दै आएका छन् ।

जनताले हिरो बनाएका रविबाट बरिष्ठ भनाउँदा केही पत्रकार लगायत राजनितिक दलको छत्रछायॉमा हुर्किएका मिडियाकर्मीहरूको छटपटी शुरू भयो । रविको हिरोईजमले विस्तारै मुलधारका मिडियाकर्मीहरूलाई छायॉमा पार्यो । एकले अर्कालाई सिध्याउने खेल शुरू भयो ।उता रविको कार्यक्रमबाट हतास बनेकाहरू रविलाई कसरी साईजमा ल्याउन सकिन्छ भनेर दर्हो च्याखे थापेर बसेका थिए । यसै बीच शालिकरामको रहस्यमय मृत्यु र उनले छोडेको भिडियोको आधारमा रविलाई चक्रव्यूहमा फसाउन भरपुर कसरत भएको हो ।

हरेक चिज लिमिटमा पुगेपछी टुंगिन्छ । अत्याधिक जनता रविको पक्षमा उभिए । रवि भर्सेस राज्य जस्तो देखियो । यतिबेला आरोपीहरुलाई भरपर्दो कारण बिना थुनछेक गरेको । जनताको व्यापक बिरोध र दबाबका कारण सरकारले सेफ ल्याण्डिङ्गको बाटो रोज्दै प्रहरी र सरकारी वकिललाई प्रयोग गरी कमजोर आरोपपत्र दाखिला गराएको भन्ने चर्चा पनि सुनिएको छ । अर्का तर्फ, सर्पपनि मर्ने लठ्ठी पनि नभाचिने रणनीतिको प्रयोग गर्दै यस प्रकरणलाई लम्ब्याई केही शर्त सहित रबिलाई कोठा भित्र थुनी ब्लाकमेलिङ्गको खेल शुरु भएको समेत चर्चा गरिदै छ। 

कानूनका कारणले नागरिक पिडित हुन्छन् भने त्यो कानून परिवर्तन गर्नु पर्दछ । त्रुटिपूर्ण कानूनको हवाला दिएर नागरिकको हुर्मत लिने काम सरकारी पक्षबाट बन्द गर्नु पर्ने बिचार धेरै विद्वानहरुले राखेका छन् ।  

रविलाई ठूलो संख्याका जनताको साथ थियो यसर्थ थप षडयन्त्र गरी जेलमा कोच्न सक्ने गुन्जाईस रहेन । तर रविको ठाउंमा अन्य सामान्य नागरिक भएको भए के हुन्थ्यो ? एउटा सामान्य व्यक्तिले सहजै भन्छ; त्यो व्यक्तिलाई सिध्याउन प्रहरी र सरकारी वकिल समेतको सेटिंग मिलाई नक्कली आरोप पत्र खडागरी नख्खु चलान गरिन्थ्यो । जव शक्ति केन्द्र दर्हो हुन्छ र सरकारी संयन्त्रमा हस्तक्षेप हुन्छ तव शुसासन समाप्त हुन्छ । कुनै व्यक्ति मन नपर्दा आफ्नो पदीय दायित्व र अधिकारको दुरूपयोग गरिंदो रहेछ भन्ने शालिकराम/रवि प्रकरणमा देखियो । जुन अन्तत बिफल जस्तै देखिएको अवस्था छ ।

यसरी पनि हेरौं, रविको धन्यवाद सभामा उर्लिएको जनसागरलाई नेपालका प्रमूख मुलाधारे मिडियाहरुले देखेनन् । किनकि उनीहरुको नजर कहिले पनि भुईमान्छेहरुमा पर्दैनन् । त्यस कार्यक्रममा आफ्ना खेमाका नेता भएको भए हाम्रा पत्रकार बन्धुहरुले आफ्नो पत्रकारिताको धर्म निर्वाह गर्ने थिए । यस्तै धर्म र साहुकारिता गरेर उनीहरु पत्रकारितामा बेस्सरी जमेका छन् ।

रवि प्रकरणमा आफुलाई अब्बल दर्जाको पत्रकार भन्नेहरु यतिबेला मौन ब्रतमा छन् । धेरै नेताहरुले जनसागर देखेर जिब्रो टोकेका छन् । अन्त्यमा, तलको फोटोमा देखिएको तर मुलधारका मिडियाले नदेखेको ‘धन्यवाद सभा’ को जनलहर जनता कै हो। जुन जनताले ठुला परिवर्तन गरेका थिए । यसलाई भेडा भनि होच्याउने काम बन्द गरौं ।पत्रकारज्यु, तपाईको कलमले भूंई मान्छेका कथा कहिलै पाएन । सधै नेताहरूको गुनगान लेख्दाको नियति तपाईले भोग्दै हुनु हुन्छ । साहुकारिता बन्द गरौ, पत्रकारिता गरौं ।