समाचार

कुश भित्राउँदै, बुबाको मुख हेर्ने दिन आज

काठमाडौं । हिन्दु धर्मावलम्बीहरुले घरघरमा कुश भित्राएर आज कुशे औंसी मनाउँदैछन् । हरेक वर्ष भाद्र औंशीका दिन यो पर्व मनाइन्छ ।

ब्राह्मणले विशेष पूजाआजा गरी भित्राएको कुशलाई आआफ्ना जजमानका घरमा पुरयाउने र त्यसवापत जजमानले दान दक्षिणा गर्ने प्रचलन रही आएको छ ।

कुश केवल धार्मिक अनुष्ठानमा प्रयोग हुने वनस्पति मात्र होइन, यसको बहुआयामिक महत्व रहेको छ । वैज्ञानिक दृष्टिकोणबाट पनि कुशको विशेष महत्व रहेको छ ।

देव तथा पितृ कार्यमा कुश अनिवार्य हुन्छ । कुश भगवान विण्णुको प्रतिक समेत मानिन्छ । त्यसकारण विण्णु विराजमान नभएको धार्मिक अनुष्ठान पुरा नहुने विश्वास रहेको छ ।

आज बुबाको मुख हेर्ने दिन पनि हो । यस दिन काठमाडौंको गोकर्णमा ठूलो मेला लाग्छ । बुबा नहुनेहरुले यस स्थानमा पुगी स्वर्गीय पिताको नाममा श्राद्ध गर्छन् ।

बुबा हुनेहरुले भने आफ्ना बुबालाई मिठो मसिनो खुवाएर यो चाड मनाउने प्रचलन छ । दुई दिन पछि तीजको दरखाने दिन ।

सोहीकारण चेलीहरु माइतिबाट आफ्नो बुबालाई उपहार बोकेर आजै माइतितर्फ लाग्ने र तीज सकाएर घर फर्कने परम्परागत प्रचलन हो ।