स्वास्थ्य

देशभर फैलदै डेंगु

काठमाडौं । सरुवा रोग डेंगुले महामारीको रुप धारण गर्ने संकेत देखिएको छ । सरकारले डेंगु नियन्त्रणबाहिर गएको भन्दै यसले महामारीको रुप धारण गरिसकेको बताएको छ ।

बिहीबार स्वास्थ्य तथा जनसङख्या मन्त्री उपेन्द्र यादवले रोग नियन्त्रणमा सुरक्षाकर्मी परिचालन आवश्यक भइसकेको बताएको थिए ।

मन्त्रालयअन्तर्गत ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. विवेककुमार लालका अनुसार डेंगु डरलाग्दो गरी फैलिएको छ ।

जसलाई नियन्त्रण गर्न निकै मुस्किल परिरहेको छ । नेपालमा पहिलो पटक सुनसरीको धरान नगरपालिकामा यो रोग देखिएको थियो ।

तर, अहिले देशको अधिकांश भूभागमा डेंगुले फैलावट देखाइसकेको छ । डेंगु ४२ जिल्लामा फैलिएको मन्त्रालयले उल्लेख गरेको छ ।

देशभर डेंगुबाट १५ सय ३७ जना संक्रमित भेटिएका छन् भने ३ जनाको ज्यान गइकसेको छ । यो रोग जुनसुकै उमेर समूहका व्यक्तिलाई लाग्न सक्छ ।

एकपटक एक प्रकारको डेंगु लागिसकेपछि जीवनभर त्यसै प्रकारको लाग्दैन । तर अन्य प्रकारको डेंगु लाग्न सक्छ । यो रोग लामखुट्टेको टोकाईका कारण लाग्ने गर्छ ।

पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक डेंगु हो । ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगुका सुरुवाती लक्षण यस रोगमा देखिन्छन् ।