बिचार

वाहन, बृक्ष र विमानस्थल देउता र वाहनको शास्त्र

पुरुषोत्तम लम्साल / भर्जिनिया

धर्मशास्त्रका कालिगढहरुले तयार गरेका सृजनाको विविधता अलौकिक छ । हजारौं वर्षअगाडि पनि प्रकृति र जीवजन्तुलाई सुरक्षित राख्न उनीहरुले अपनाएको उपाय अनौठो छ । नपत्याए हेर्नुहोस् त हामी कसरी गाई, गोरु, भैंसीको पूजा गरिरहेका हुन्छौं ? हामी कसरी मुसा, (सर्प) साँप र गोहीको संरक्षण गरिरहेका हुन्छौं ? हामी कसरी सिंह, बाघ र कुकुरहरुको रक्षाकवच बनिरहेका हुन्छौं ? कसरी गरुढ, काग र हाँसहरुप्रति सकारात्मक सोचिराखेका हुन्छौं ? प्रकृति, मान्छे र जीवजन्तुसहितको सभ्यतालाई यहाँसम्म ल्याइपुर्याउन उनीहरुले लगाएको बुद्धि जति जुक्तिपूर्ण छ उति युक्तिसंगत पनि छ भनेर विज्ञानले स्वीकार गरिसकेकै छ ।

स्रष्टाहरुले साँप (सर्प)लाई शिवजीको गलामा बेरिदिए र त्यसको पूजाअर्चना गर्न भनिदिए । मुसालाई गणेशजीको बाहन बनाइदिए र त्यसलाई नमार्न सचेत गराए । (घरमा छुचुन्द्रोको उत्पात हुँदा पनि हजुरआमाले बरु नातीले बन्द गरिदिएको दुलो खोलिदिनुभयो तर गणेशको बाहन भनेर त्यसलाई मार्न दिनुभएन ।) उनीहरुले कुमारलाई मयुर दिए, विष्णुलाई गरुढ दिए र महादेवलाई नन्दी (साँढे) । जसैजसै देवता उसैउसै वाहन । यमराजलाई भैंसी, कृष्णलाई गाई र सूर्यलाई घोडा दिए । ऋषीमुनीहरु शनिलाई काग दिन्छन्, इन्द्रलाई हात्ती र कालभैरवलाई कुकुर दिन्छन् । सरस्वतीलाई हाँस, गंगालाई गोही, दुर्गालाई सिंह, पार्वतीलाई बाघ, लक्ष्मीलाई उल्लु दिन्छन् । जुन प्रकृति र स्वभावका भगवानको नाममा आराधना गर्छौं त्यही प्रकृति र स्वभावका जीवजन्तु तत तत पात्रहरुलाई छुट्याएर ऋषीमुनीहरुले पर्यावरणको पक्षमा विष्मयकारी काम गरेका रहेछन् ।

कणकणमा भगवान भनेर सिकाउनुको अर्थ प्राणीप्राणीमा पनि भगवान छ भन्नु नै हो । र, प्राणी र जीवजन्तुप्रति हिंसक नहोऊ भन्नु नै हो । अर्थात् प्रकृतिको रक्षा नै गुह्य कारण हो । जीवजन्तुलाई हिंसाबाट बचाउन अपनाइएको यो शास्त्रीय उपाय नै हो । ईश्वरको नाममा प्रकृति र मान्छेबीच सम्बन्धका यी व्याख्या पौराणिक, धार्मिक, किम्बदन्ती जे लागे पनि यसले प्रकृति र पर्यावरणलाई नै जोड दिइरहेको हुन्छ ।

अपुत्रलाई वृक्ष पुत्र

महाभारतको अनुशासन पर्वमा भीष्मपितामह र युधिष्ठिरबीच एउटा संवाद छ । संवादमा भीष्मपितामह बृक्ष र जलाशायको महत्वबारे महाराज युधिष्ठिरलाई उपदेश दिइरहेका छन् ।

पितामह भन्छन्, ‘बृक्षारोपण गर्ने र जलाशाय बनाउनेहरुले पनि उत्ति नै महत्व पाउँछन् जति महत्व सत्य बोल्नेहरुले प्राप्त गर्छन् ।’ संवादमा भीष्मले सत्य बोल्ने संकल्पसँगै प्रकृति र प्राणीहितका लागि बृक्षारोपण र जलाशाय निर्माणको पनि संकल्प लिन युधिष्ठिरलाई सल्लाह दिन्छन् ।

प्राणी हित र जगत कल्याणलाई एकै स्थान दिएर गरिएको जंगलको वर्णनमा बृक्षलाई पुत्रसमान स्याहार गर्न पनि सुझाइएको छ । संवादमा भनिएको छ, ‘जसरी सुयोग्य पुत्रले मातापिताको हित गर्छन् त्यसरी नै बृक्ष र जंगलले पनि समाजको हित गरिरहेको हुन्छ (तस्मात तडागे सद्बृक्षा रोप्याः श्रेयोर्थिना सदा, पुत्रवत् परिपाल्याश्च पुत्रास्ते धर्मतः स्मृताः) ।’

सन्देश चाँहि समाज र राज्यभित्र रहेका मानव र प्राणीजगतको कल्याणका लागि राज्यले नै बृक्षारोपण, वनजंगल र जलायशायको विकास र विस्तार गर्नपर्दछ र त्यसको दायित्व असल शाषककै हो भन्ने नै हो । ततः शिवं कुसुमित बालपादपं  । रुख सधैं शिवरुप (कल्याणकारी) हुन्छन् ।

जेत नाम गरेका व्यक्ति ठूलो वनका मालिक थिए । एक दिन राजा सुदत्त वन दिएर चाहिए जत्ति धन र दौलत लिन आग्रह गर्दै जेतकहाँ पुगे । तर जेतले वनले दिइरहेको सुख र आनन्द महाराजको धन र दौलतले वनको पुरै क्षेत्रफल भरिदिए पनि प्राप्त नहुने भन्दै राजाको आग्रह अस्वीकार गरिदिन्छन् । अश्वघोष काव्यको वनमालिक जेतबाट भन्छन् सर्वकाल सुखप्रदत्तम वनं रम्यं ददर्थ बहुपादपम् ।

‘सर्वभुतेषु कारुण्यं मैत्री च’ भने पनि वा ‘सर्वभूतेषु दया हि धर्म’ भने पनि भनिएको आखिर प्राणी हित हो र यो पर्यावरणको सन्दर्भमा हूबहू लागू हुन्छ । हामी दश पुत्रबराबर एक बृक्ष भन्ने सभ्यताबाट उठेका हौं । जसको पुत्र छैन उसका लागि बृक्ष नै पुत्र हो भन्ने मान्यताबाट प्रकृतिको रेखदेख र संरक्षण गर्दै आएको सभ्यताको पछिल्लो अंश हौं । गुणको हिसावमा भगवान बराबर बनाएर, स्याहार र सम्मान दिएर स्वास्थ्य र वातावरणले प्रतिफल ग्रहण गर्दछ भनेरै ‘अश्वत्थ सर्व वृक्षाणाम’ भनिएको हो । ‘वटमूले स्थितो ब्रम्हा, वटमध्ये जनार्दनः वटाग्रे तु शिवो देव सावित्री वटसंश्रिता’ भनेर हरेक वटवृक्षमा भगवानको वास देख्ने संस्कृति छ पूर्वीयहरुको । र, हामी त्यही पूर्वीय संस्कृतिको एक अंश हौं । रामायणको गोदावरी, पञ्चवटी भने पनि वा कृष्णकालीन अक्षयवटी भने पनि सारमा बृक्षहरुकै संकलित स्वरुपको अभिव्यक्ति हो । अर्थात् जहाँ नदी र जंगल त्यहाँ सभ्यताकै चिनो र उपहार ।

(भीष्मपितामहले भने जस्तो सुयोग्य शाषक पाइएको हुँदो हो त काठमाण्डौ उपत्यकाका जलाशाय र हिटीहरु ध्वस्त हुँदैनथे । सुयोग्य शाषक पाइएको हुँदो हो त सयौं वर्षदेखि गर्तमा पुरिएका जनकपुरका जलाशायहरुले पनि जीवन पाउँथे । )

दशकअगाडि एउटा शोधको सामना गर्नेक्रममा मान्य विद्वानले मलाई ‘तपाईले वातावरण पत्रकारिताको अभ्यासको शोध गर्नुभएको हो कि शास्त्र र वातावरणको सम्बन्ध केलाउनुभएको ?’ भनेर सोधे । मैले ‘हाम्रो आजको वातावरण र पर्यावरणप्रति हाम्रो पत्रकारिताले गरेको वा देखाएको चिन्ताभन्दा हजारौं वर्षअगाडिका ऋषीमुनीहरुले देखाएको चासो र सरोकोर बढी रहेछ’ भनें ।

‘कसरी ?’, उनले सोधे ।

भलै त्यो पत्रकारिता थिएन तर पञ्चतत्व अथवा पञ्चमहाभूत परिकल्पना र व्याख्या आजको विज्ञानले गरेको होइन, वैदिक सभ्यताले गरेको हो । स्थूल शरीर स्वस्थ रहन मान्छेको मस्तिष्कमा पाँच कोषबीच सन्तुलन आवश्यक हुन्छ, त्यस्तै सृष्टि सन्तुलित राख्न आकाश, वायु, अग्नि, जल र पृथ्वीका अवयवको सही उपयोग र संरक्षण आवश्यक हुन्छ । खगोलिय अध्ययनदेखि पाँच इन्द्रियको व्याख्या समेत यसैमा समेटिएका छन् । र, यी सबै हामीले भन्ने गरेको वातावरण र पर्यावरणको अंश हो । र, यी सबैमा आजको विज्ञानलाई बाटो देखाउने त तिनै शास्त्रीय मत रहेछन् । केही स्वाँठहरुले रुढी, अन्धविश्वासी र पाखण्डी भनेको विषयको गर्त उधिन्दै यो यो कारणले हाम्रो वातावरण पत्रकारिताको अभ्यास टीठलाग्दो छ भन्दा उहाँहरुलाई अलि सहज लागिरहेको थिएन ।

अहिले नीजगढ विमानस्थलको चर्चा छ । पत्रकारिता हुन्छ र हुँदैन भन्नेमा बाँडिएको छ । सपनाको मोहरमा जति चमक छ, यथार्थको सिक्का भने उस्तै खोटो छ । मोहरको चमकले निम्त्याउन सक्ने संकट गोप्य कागजातमा लुकाइएको छ, सार्वजनिक बहसको हिस्सा बनाइएको छैन ।

बसाईको सन्दर्भ

संघीय नेपालको २ नम्बर प्रदेशमा पर्ने बारा जिल्लाको निजगढमा दुई चार लाख रुख जबरजस्ती काटेर विश्वकै चौथो ठूलो विमानस्थल बनाउन नेपाल सरकार कम्मर कसेर लागेको छ । केही प्रश्न गरिरहेका छन्, एकाध बाघ, गैंडा, हात्ती अलपत्र हुँदैमा देशको अर्थतन्त्रलाई नै कायापलट गर्ने विमानस्थल निर्माण अभियानविरुद्ध बोल्ने ? केही भनिरहेका छन् एकाध लाख रुख काटेर न चारकोशे सकिन्छ न नेपालको वन, किन रँडाको ? अर्कोथरि भनिरहेछ धावन मार्ग त बनाउने हो, रुखै जाबो त काट्ने हो आकाशै खसाल्न लागेको पनि होइन, धर्ती नै सिध्याउन लागेको पनि होइन । केही थान चरा, केही घाँसपात र केही जंगली जनावरका लागि सुवर्णकल्पनाले ओतप्रोत भएको समृद्दीको संवाहक विमानस्थल चाँहिदैन भन्ने ? नेपालसँग कूल भूभागको अझै ४५ प्रतिशत क्षेत्रफलमा वनजंगल छ भने जाबो नीजगढको पाँच दश हजार हेक्टर वन मासेर विपत्ति आउँदैन भन्ने पनि उति नै छन् ।

सुन्दा मनकारी लाग्छ विमानस्थलको विषय । मुहुनीमय छ । कर्णप्रिय छ । जादुयी छ । समृद्दिको भावनाले छपक्कै भिजेको छ । कसरी हुन्छ आरो चलाईहाल्न र खन्ती गाडी हाल्न र डोजर कुदाईहाल्न हतारो छ । झ्याप्पै पाँच वर्षमा संसारका ठूला देशका बडेमानका जहाज, यात्रु र सामान निजगढमा भरिभराऊ बनाएर तीनकोटी नेपालीको भाग्यको फैसला हातहातै लेखिन लागेको झैं छ ।

तर होइन । विमानस्थल वायुपंखी घोडा चढेर आउने होइन । हामीले देखेको ठूला आयोजनाहरुको नियति आँखै अगाडि छ । अर्थ राजनीतिको दाउपेच र बेथितिले गाँजेको व्यवस्थाका भुक्तमानहरुले नीजगढलाई पनि चुरे क्षेत्रको नियतिमा पुर्याउने सम्भावना बढी छ । तीन, पाँच, दश र पन्ध्र वर्ष लगाएर दीगो विकासको अवधारणामाथि अन्धाधुन्द आरा डोजर चलाएर ‘परेको देखाजायगा !’ भन्ने सम्भावना बढी छ ।

अर्को अंकमा यसै विषयमा निरन्तर रहनेछौं ।