बिचार

दोश्रो बजारमा उतार चढाव एक विश्लेषण

निरन्जन फुयाल / प्रवन्धक नेप्से

पृष्ठभूमी

पूँजीबजारको प्रमुख उद्देश्य छरिएर रहेका स–साना वचतलाई एकत्रित गरी पूँजीका रुपमा उद्योग धन्दा तथा विकास निर्माणमा दीर्घकालिन लगानीका लागि आवश्यक ब्यवस्था गर्नु हो । पूँजी परिचालन र त्यस पछिको कारोवारका हिसाबले यसलाई प्राथमिक बजार र दोस्रो बजारका रुपमा वर्गिकरण गरिन्छ । प्राथमिक बजारमा वचतका रुपमा छरिएर रहेको रकमलाई एकत्रित गरी पूँजीको रुपमा संकलन गर्ने र संगठित संस्था वा सरकार मार्फत पूँजी परिचालन गरिन्छ । यसरी पूँजी परिचालन गर्न विभिन्न धितोपत्रहरु जस्तै शेयर, विभिन्न अवधिका ऋणपत्रहरु, सामूहिक लगानीकोषका इकाई, आदि उपकरणहरु प्रयोग गरिन्छ । त्यसैगरी पूँजी बजारको अर्को पक्ष दोश्रो बजारको प्रमुख उद्देश्य लगानीकर्ताहरुलाई तरलता उपलब्ध गराउनु हो । तरलता दोस्रो बजारले लगानीकर्ताहरुलाई प्रदान गर्ने सुविधा हो जसले गर्दा चाहेको वखतमा चाहेको धितोपत्र बजार मूल्यमा खरिद विक्री गर्ने अवसर लगनाीकर्ताहरुले प्राप्त गर्दछन् । प्राथमिक बजारमा प्रयोग भएका उपकरणहरुलाई सहज रुपमा खरिद विक्रीको प्रबन्ध गरी लगानीकर्ताहरुलाई आफ्नो लगानी नगदमा परिवर्तन गर्ने अवसर दोश्रो बजारले उपलब्ध गराउछ भने नयाँ लगानीकर्ताहरु पनि सहज रुपमा बजारमा प्रवेश गर्न सक्छन् । तर दोश्रो बजारमा भएको कारोवारवाट सरकार वा संगठित संस्थाले थप पूँजी प्राप्त गर्न सक्दैनन् ।

पूँजी परिचालन गर्ने मुख्य उद्देश्य प्राप्तीका लागि प्राथमिक बजारले नै कार्य गर्ने हुँदा, कतिपय अवस्थामा दोश्रो बजारलाई “सिमित लगानीकर्ताहरुले चलखेल गरी कमाउने स्थान, जुवा घर, केही लगानीकर्ताहरुको वा ब्रोकरको कब्जामा रहेको बजार” भनेर चित्रण गर्ने गरेको पाईन्छ । दोश्रो बजारमा एकै दिनमा कुनै पनि धितोपत्रको मूल्य घटबढ हुने, छोटो अवधिमा नै लगानीकर्ताहरुले नाफा आर्जन गर्ने वा नोक्सानी ब्यहोर्ने गर्दछन् । अझ दोस्रो बजारका लगानीकर्ताहरुले सूचनालाई सही रुपमा प्राप्त गर्न नसकेमा वा प्राप्त सूचनालाई उपयोग गर्न नसकेमा लगानीकर्ता नोक्सानीमा पर्न सक्दछन् । के साँचै दोस्रो बजार सधै उतारचढाब हुने, धेरै जोखिम रहेको र पूँजी परिचालनका लागि खासै आवश्यक छैन त ?

 

उतारचढाब किन त ?

तरलता उपलब्ध गराउनुका साथै दोश्रो बजारको एक प्रमुख कार्य धितोपत्रको उचित मूल्य निर्धारण पनि हो । यसरी धेरै भन्दा धेरै लगानीकर्ताहरुको सहभागिता एवम् पहुँच भएमा त्यस्तो बजारले निर्धारण गर्ने धितोपत्रको मूल्य उचित मानिन्छ । तर निरन्तर उतारचढाब हुनु उचित हो त ? धितोपत्रको कुनै निश्चित मूल्य हुन सक्दैन ?

वित्तशास्त्रमा धितोपत्रको मूल्य निर्धारण गर्ने विभिन्न तरिका उपलब्ध छन् । तर बजारको वास्तविक मूल्य कुनै पनि सिद्धान्त अनुसार गणना गरिएको मूल्यसँग नमिल्न सक्छ । किनभने बजारमा धितोपत्रको मूल्य निर्धारण वास्तविक रुपमा माग र आपूर्तिका आधारमा हुन्छ । यस्तो माग र आपूर्तिलाई कम्पनी वा संगठित संस्थाले भविष्यमा उपलब्ध गराउन सक्ने प्रतिफलको सम्भावनाले असर गर्दछ । तर कम्पनीको प्रतिफल उक्त कम्पनीको काम कार्वाही, भविष्यको योजना, देशमा रहेको विद्यमान आर्थिक एवं सामाजिक अवस्था आदि धेरै कुराले असर गरेको हुन्छ । साथै त्यस्ता कम्पनीहरुले समय समयमा जारी गर्ने सूचना तथा जानकारीहरुले पनि धेरै असर गरेको हुन्छ । हरेक लगानीकर्ताले प्राप्त गरेको जानकारी एवं ज्ञानका आधारमा निर्णयमा पुग्दा वा शेयरको बजार मूल्य अनुमान गर्दा कुनै एक खास मूल्यमा सवै लगानीकर्ता पुग्न सक्दैन । त्यसैले प्रत्येक लगानीकर्ताले बजारमा उपलब्ध माग र आपूर्तीलाई हेरेर र आफुले आकलन गरेको मूल्यलाई आधार मानेर खरिद वा विक्री आदेश दिन्छ । यसैगरी बजारमा सिमित सूचना र सिमति ज्ञान भएका धेरै लगानीकर्ताहरु रहन्छन् । यस्ता लगानीकर्ताहरुलाई बजारमा उपलब्ध कुनै पनि सूचनाले प्रभाव पार्न सक्छ भने कतिपय अवस्थामा अपूर्ण सूचना वा गलत सूचनालाई सत्य मानी हल्लाका भरमा बहुसंख्याक लगानीकर्ताहरुले लहडका भरमा खरिद वा विक्री गर्ने गर्दछन् । यसले गर्दा बजारमा निरन्तर उतार चढाब हुन जान्छ । धेरै उतार चढाब भएको बजारमा बढि जोखिम हुन्छ । तर उतार चढाब नहुने बजारमा लगानीकर्ताको खासै सहभागिता रहदैन । त्यसैले एक निश्चित विन्दुसम्म बजारमा उतार चढाब हुनु पर्छ । यसलाई बजारको सुन्दर पक्षको रुपमा लिईन्छ । (Speculation is considered as beauty of secondary market)

दोश्रो बजारको महत्व:

यस्तो जोखिम सहितको बजार किन आवश्यक छ त ? माथि नै उल्लेख गरिसकिएको छ; दोस्रो बजारको प्रमुख कार्य प्राथमिक बजारका लगानीकर्ताहरुलाई तरलता उपलब्ध गराउनु र धितोपत्रको उचित मूल्य निर्धारण गर्नु हो । यही कारणले प्राथमिक बजारमा पूँजी निर्माण सम्भव भएको हो । यसले लगानीकर्तालाई Exit point उपलब्ध गराउँछ । एक पटक लगानी गरे पछि त्यसलाई विक्री गर्न नसकिने हो भने प्राथमिक बजारको धितोपत्रमा लगानी गर्न लगानीकर्ताहरु उत्साहित हुदैनन् र यसले गर्दा कम लागतको पूँजी निर्माण गर्ने धितोपत्र बजारको उद्देश्य पुरा हुन सक्दैन । जब जब दोस्रो बजारका परिसूचकहरु सकारात्मक हुन्छन् त्यस वेला नै प्राथमिक बजारले बढि भन्दा बढि पूँजी परिचालन गर्ने गरेको विभिन्न अध्ययनहरुले प्रमाणित गरहेको छ । त्यसैगरी कुनै पनि देशमा विदेशी लगानी गर्नु भन्दा अगाडि लगानीकर्ताले त्यस देशको पूँजी बजारको परिसूचक हेरेर मात्र आफ्नो निर्णय गर्ने गर्दछ । त्यसैले दोस्रो बजार परिसूचकलाई समग्र अर्थतन्त्रको ऐना (Barometer or Mirror of economy) पनि भनिन्छ । यसले देशको समग्र लगानी अवस्था, लगानीकर्ताको मनोवल आदिलाई प्रतिनिधित्व गर्दछ ।  

साथै प्रभावकारी दोश्रो बजार भएको देशमा कम लागतमा सहजै दीर्घकालिन पूँजी निर्माण भई उद्यमशिलता भएका ब्यक्तीहरुले सजिलै पूँजी परिचालन गरी उद्योग ब्यवसाय गर्न सक्छन् । तर दोस्रो बजार कुशल हुनका लागि त्यस बजारमा धेरै लगानीकर्ताहरुले धेरै भन्दा धेरै कम्पनीका अनेक प्रकारका धितोपत्रहरु स्वतन्त्र रुपमा खरिद विक्री गर्ने अवसर प्राप्त गर्नु पर्दछ । साथै ती कम्पनी तथा धितोपत्रका वारेमा आवश्यक जानकारी तथा सूचना सजिलै संग प्राप्त हुनुका साथै सवै लगानीकर्ताहरुको त्यस्ता सूचनामा समान पहुच रहुनु पर्दछ । यसो भएमा मात्र लगानीकर्ताहरुलाई तरलता उपलब्ध भई पूँजीबजारमा पूँजी निर्माण प्रकृयामा तिब्रता आउछ । यसका लागि सम्बन्धित नियमक निकायहरुले उचित नीति निर्माण गर्नुका साथै ब्यापक सहभागिताका लागि उच्चतम प्रविधिको प्रयोग गर्नु पर्छ । यसै गरी बजारमा लगानीकर्ताहरुलाई विभिन्न क्षेत्रका धितोपत्रहरुमा लगानी अवसर प्राप्त हुन सके कम जोखिम सहितको पोर्टफोलियो निर्माण गर्ने अवसर प्राप्त हुन्छ । साथै भहअजबलनभ तचबमभम Exchange traded funds (ETFs), विभिन्न प्रकारका Derivatives instruments आदि बजारमा उपलब्ध भएमा लगानीकर्ताहरुको जोखिम बहन गर्न सक्ने क्षमता अनुसार लगानी रणनीति तयार गर्न सक्छन् । यस्तो भएमा बजारमा आउन सक्ने अनावश्यक उतार चढाबलाई नियन्त्रण गरी धेरै लगानीकर्ताहरुलाई बजारमा समावेश गर्न सकिन्छ र पूँजी बजारले आफ्नो मुख्य उद्देश्य अनुसार कम लागतको पूँजी सहज तरिकाले निर्माण गर्न सक्छ ।