समाचार

भद्रगोललाई दर्शकको झटारो, यूट्यूवमा लाइकभन्दा धेरै डीसलाइक

काठमाडौं । मूख्य कलाकार बाहिरिएपछि आएको टेलिफिल्म भद्रगोललाई दर्शकले नेगेटिभ प्रतिक्रिया दिएका छन् ।

भद्रगोलको शुक्रबार प्रसारण भएको नयाँ एपिसोडलाई दर्शकले विफल पारिदिएका हुन् ।

आइतबार साँझसम्म यस एपिसोडमा १७ हजार लाइक आएका छन् । २८ हजार डिसलाइक छन् । यसको मतलव करीव दोब्बर संख्यामा दर्शकले यो टेलिफिल्मलाई मन पराउन सकेनन् ।

नेपाल टेलिभिजनबाट प्रशारण हुने चर्चित हास्य टेलिश्रृंखला भद्रगोल ६ हप्तापछि पुन प्रशारणमा आएको थियो ।

आर्थिक लेनदेनमा कुरा नमिलेपछि भद्रगोलबाट निर्देशकद्वय कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेसहित २१ जनाको पुरानो टिम बाहिरिएको छ ।

मिडिया हबले कलाकारको नयाँ टिम बनाएर भद्रगोल पुनः प्रसारणमा ल्याएको छ । भद्रगोलमा पाँडे, जिग्री, बले र कक्रोसको भूमिकालाई दर्शकले खुब मन पराएका थिए ।

नयाँ श्रृंखलामा भने निर्देशनको जिम्मेवारी ज्योती काफ्ले र अशोक धितालले पाएका छन् ।

उता, कट्टेल र घिमिरेसहितको टोली भने नयाँ टेलिफिल्मको तयारीमा जुटेको बताइएको छ । नेपालमा टेलिभिजन संसारमा हास्य टेलिफिल्मले राम्रो लोकप्रियता पाइरहेका छन् ।