विज्ञान प्रविधि

पेट्रोलियम पाइपलाइन उद्घाटन दुई प्रधानमन्त्रीबाट, के भने मोदी र ओलीले ?

काठमाडौं । दक्षिण एसियाकै पहिलो ट्रान्स बोर्डर पेट्रोलियम पाइपलाइन मंगलबारबाट औपचारिक रुपमा संचालनमा आएको छ ।

चिनियाँ विदेशमन्त्रीबाट सोमबार मात्रै नेपालसँग सम्झौता भई ३५ करोडको अस्पताल बनाउने भन्ने खबरको आलोचना भइरहेको बेला भारतले एक ठूलो र रणनीतिक महत्वको परियोजना नेपाललाई सुम्पेर फेरी एक पटक नेपालीको मन जित्ने कोसिस गरेको छ ।

मंगलबार सिंहरबारस्थित प्रधानमन्त्री कार्यालयको ‘एक्शन रुम’ मा प्रधानमन्त्री केपी शर्मा ओली र भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले स्वीच थिचेसँगै यो परियोजनाको शुभारम्भ गरिएको हो ।

नेपाल आयल निगमका अधिकारीले पाइपबाट खसेको तेल बोतलमा थाप्नेर त्यसलाई भण्डार गर्ने ट्यांकीमा खसालेका थिए ।

पाइपलाइनमा पहिला नै तेल पठाएर मंगलबार शुभारम्भ गरिएको हो । यसको भब्य तयारी अमलेखगन्जमा समेत भएको थियो ।

भारतको मोतीहारीबाट नेपालको अमलेखगञ्जसम्म ६९ किलोमिटर लामो पेट्रोलियम पाइप लाइन दक्षिण एशियाकै पहिलो क्रस बोर्डर पाइपलाइन हो । यस पाइपलाइनबाट २० लाख टन प्रतिवर्ष तेल आयात गर्न सकिने बताइएको छ ।

पाइपलाइनको उदघाटनका लागि एक्सन रुममा भेला भएका मन्त्रीहरुसँगै प्रधानमन्त्री ओलीले भारतले नेपालको विकासमा पुर्याएको सहयोगको प्रशंसा गरे ।

गोरखा र नुवाकोटमा भूकम्पपछिको पुनर्निर्माणमा भारतीय पक्षबाट भइरहेको कामको पनि प्रधानमन्त्रीले प्रशंसा गर्न छुटाएनन् ।

उनले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्ता समेत दिन भ्याए । त्यसपछि आफ्नो मन्तब्य राखेका भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था र त्यसका वावजुत देखाएको सक्रियताको खुलेर प्रशंसा गरे ।

उनले मित्र प्रधानमन्त्री ओलीसँग भेट्न ईच्छुक रहेको समेत उल्लेख गरे । उनले छिट्टै नेपाल आउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री मोदीले पछिल्ला केही वर्षमा भारत र नेपालवीच उच्च राजनीतिक तहमा निकटता बढेको भन्दै उक्त पहलकदमीका लागि प्रधानमन्त्री ओलीलाई धन्यवाद दिए ।

जनता जनताबीचको सम्बन्धले नै नेपाल र भारतको महत्व दर्शाउने भन्दै उनले यसलाई जारी राख्नुपर्ने उल्लेख गरे ।