स्वास्थ्य

ट्रम्प राष्ट्रपति चुनिएपछि स्वास्थ्य बीमा गुमाउनेको संख्या बढ्यो, साढे आठ प्रतिशत अमेरिकी बीमा बिहिन

न्यूयोर्क
राष्ट्रपती डोनाल्ड ट्रम्पले राष्ट्रपतीको पदभार सम्हालेसँगै स्वास्थ बीमा गुमाउने अमेरिकीको संख्या उकालो लागेको छ । मंगलवार प्रकाशित संघीय तथ्यांक अनुसार ट्रम्पले कार्यभार सम्हालेपछि स्वास्थ्य बीमा गुमाउनेको संख्या दुई लाखले बढेको हो ।

अमेरिकी केन्द्रीय तथ्यांक विभागको सर्भेक्षण अनुसार सन् २०१८ मा मा बीमा बिहिन अमेरिकीको संख्या दुई करोड ७५ लाख पुगेको छ । सन् २००९ पछि पहिलो पटक अमेरिकामा बीमा बिहिनको संख्या बढेको हो । पूर्व राष्ट्रपति बाराक ओबामा राष्ट्रपतिमा चुनिएपछि बीमा बिहिनको संख्या घट्दै अाएकाे थियो । उनले ओबामा केयर कार्यक्रम मार्फत बिपन्नहरुलाई बीमाको दायरमा समेटेका थिए । ट्रम्प लगायत रिपब्लिकनहरु सुरु देखिनै ओबामा केयर खोस्ने पक्षमा भए पनि सकेका छैनन् । तर, यसका कैयन् प्रावधान वर्तमान सरकारले यसमा कडाइ गरेको छ ।

डेमोक्र्याटहरुले ट्रम्प प्रशासनले ओबामा केयर हटाउन नसके पछि नागरिकले पाइ रहेको सुविधामा बिभिन्न छिद्रको प्रयोग गरि कटौती गर्दा बीमा बिहिनको संख्या बढेको भन्दै आलोचना गरेका छन् ।

‘राष्ट्रपति ट्रम्पको निर्दयी स्वास्थ्य नीतिका कारण २० करोड नागरिकले आफ्नो आफ्नो बीमा गुमाइ सके, कुनै भवितव्य या केही भइहाले कसरी उपचार गर्ने भन्ने भय र चिन्तामा नागरिकहरु जीवन बिताउन बाध्य भएका छन्’ अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख एवं डेमोक्रेटिक नेतृ न्यान्सी पिलोसीले भनेकी छिन् ।

यस्तै सिनेटका डेमोक्रेटिक नेता चक स्हुमरले स्वास्थ्य सुरक्षणप्रति रिपब्लिकनको पछिल्लो प्रहारले नागरिकहरुलाई जोखिममा धकेलेको टिप्पणी गरेका छन् ।

तथ्यांक विभागका अनुसार सन् २०१७ को अन्त्यतिर दुई करोड ५६ लाख अमेरिकीसँग कुनै पनि स्वास्थ्य बीमा थिएन । गत बर्ष यो बढेर दुई करोड ७५ लाख पुगेको छ । यसरी कुल अमेरिकी जनसंख्याको यो साढे आठ प्रतिशत जनता स्वास्थ्य बीमाबाट बञ्चित भएका हुन् । २०२० को राष्ट्रपतिय प्रतिश्पर्धामा रहेका सबै डेमोक्र्याट नेताहरुले स्वास्थ्य बीमालाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन् ।