समाचार

नेपाल–भारत पेट्रोलियम पाइपलाइन यसकारण नेपालको लाइफलाइन

काठमाडौं । नेपाल–भारत पेट्रोलियम पाइपलाइन औपचारिक रुपमा सुरुवात भएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले मंगलबार औपचारिक रुपमा सुरुवात गरेका हुन् । दुवै देशका प्रधानमन्त्रीले आ–आफ्नो ठाउँबाट स्वीच थिचेर पाइपलाइनको सुरुवात गरेका हुन् ।
नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गाइनले दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पाइपलाइन भएको बताए । अमलेखगञ्ज मोतिहारी पेट्रोलियम पाइपलाइनको प्रधानमन्त्री ओलीले सिंहदरबार र भारतीय प्रधानमन्त्री मोदीले नयाँ दिल्लीमा रहेको कार्यालयबाट संयुक्त रुपमा स्विच थिचेर उद्घाटन गरे । दुवै प्रधानमन्त्रीले नेपालको बिकासमा यो पाइपलाइन लाइफलाइनको रुपमा परिणत भएको बताएका छन् ।
भिडियो कन्फरेन्सिङ प्रविधिमार्फत क्रस बोर्डर पेट्रोलियम पाइपलाइनको मंगलबार दिउँसो उद्घाटन भएसँगै नेपालमा पेट्रोलियम पदार्थ आउन सुरु भएको छ । नेपालको अमलेखगञ्ज र भारतको मोतिहारी डिपोमा स्क्रिनको व्यवस्था गरेर दुवै देशका प्रधानमन्त्रीले गरेको उद्घाटनको दृश्य हेर्ने व्यवस्था मिलाइएको थियो । २०६१ सालमा नेपाल–भारतबीच भएको सम्झौताअनुसार पाइपलाइन निर्माण गरिएको हो । पाइपलाइनको ओली र मोदीले २०७४ सालमा संयुक्त रुपमा स्वीच थिचेरै शिलान्यास गरेका थिए ।
पाइपलाइन ७० किलोमिटर लामो छ । नेपालतर्फ पाइपलाइनको लम्बाई ३६ किलोमिटर र भारततर्फ ३४ किलोमिटर रहेको निगमका प्रवक्ता गोइतले जानकारी दिए । पाइपलाइनका लागि भारतले २ अर्ब २५ करोड भारतीय रुपैयाँ लगानी गरेको छ । नेपालले ७५ करोड रुपैयाँ लगानी गर्ने सम्झौता भए पनि लगानी भएन । पाइपलाइनबाट प्रतिघन्टा दुई सय किलोलिटर पेट्रोलियम पदार्थ आउने निगमका प्रवक्ता गोइतले बताए ।
निगमले मंगलबारदेखि नै दैनिक ४८ लाख लिटरसम्म डिजल पाइपलाइनबाटै आउने जानकारी दिएको छ । पाइपलाइनका कारण नेपालमा पेट्रोलियम पदार्थको भाउ सस्तो हुने अनुमान गरिएको छ । उद्घाटन कार्यक्रममा भारतीय आयल कर्पोरेसनका कार्यकारी निर्देशक अभिजित चौधरी र नेपालको तर्फबाट निगमका अधिकारीहरु दुई दिनअघि नै अमलेखगञ्ज पुगेका थिए । मंगलबारदेखि डिजल मात्र आउन थालेको छ । नेपालमा डिजलको माग धेरै भएकाले पाइपलाइनबाट सुरुमा डिजल मात्रै आउने भएको छ । अमलेखगञ्जबाट अहिले दैनिक २० लाख लिटर डिजल भित्रिने भएकाले अन्य क्षेत्रमा पनि यहीबाट डिजेल लैजान सकिने छ ।
अमलेखगञ्जमा तेल भण्डारणका लागि ४१ लाख लिटरका दुई, ३९ लाख लिटरका २ समेतको १ करोड ६० लाख लिटर भण्डारण गर्नसक्ने ट्यांकीको व्यवस्था गरिएको छ । सुरक्षाका लागि पनि सबै प्रकारको व्यवस्थापन गरिएको छ । नापजाँच, तेल कन्ट्रोललगायतका लागि आवश्यक प्रविधि जडान गरेर काम थालिएको हो । नेपालमा डिजेलको मुल्य केहीदिनमा घट्ने अनुमान गरिएको छ । डिजेलको मुल्य घट्दा त्यसको सकरात्मक असर अनेक क्षेत्रमा पर्ने गर्छ ।
पेट्रोलियम पाइपलाइनलाई नेपाली अर्थतन्त्रको हिसाबले निकै महत्वपूर्ण मानिएको छ । पटक–पटकको अवरोधलाई पन्छाउँदै आउने तेल नै ऊर्जाको मुख्य स्रोतको रुपमा रहेको थियो । तर मंगलबारदेखि नेपाली अर्थतन्त्रमा नयाँ अध्याय सुरु भएको छ । विकासको गतिले बिस्तारै भए पनि आफ्नो स्थान ओगटेको सम्बद्ध क्षेत्रका जानकारहरुले बताएका छन् । अर्थशास्त्री डा. चन्द्रमणी अधिकारीले नेपालको विकासमा दलहरु नै जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन् ।
भारतबाट आउने भनिएको रेलको चर्चा पाइपलाइनसँगै सुरु भएको छ । समयमा नै काम सम्पन्न भएकाले अहिले रेल सेवा पनि समयमै हुनेमा आशावादी देखिएको अर्थशास्त्रीहरुको भनाइ छ । चिनियाँ रेलको सपना देखेका आम नागरिकले भारतीय रेल सेवा काठमाडौँसम्म बिस्तार भएमा ठूलो राहत महसुस गर्ने थिए । त्यसले देशको आर्थिक विकासका लागि कोसेढुंगाकै रुपमा काम गर्ने विश्वास व्यक्त गरिएको छ । निकट भविष्यमा हुने भनिएको भारतीय राष्ट्रपति र प्रधानमन्त्रीको भ्रमणका बेला रेलका विषयमा ठोस सहमति हुने अपेक्षा गरिएको छ ।