समाचार

जेष्ठ नागरिकलाई हवाई भाडामा छूटबारे सुझाव दिन समिति गठन

काठमाडौं । सरकारले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई आन्तरिक उडानको हवाई भाडामा छुट दिन गरेको घोषणा कार्यान्वयनका सम्बन्धमा अध्ययन गर्न समिति गठन गरेको छ ।

पूर्वसचिव सूरेशमान श्रेष्ठको अध्यक्षतामा गठन भएको यस समितिले आन्तरिक उडानका सन्दर्भमा उठेका समग्र विषयमा अध्ययन गरी सरकारलाई सुझाव दिने जिम्मेवारी पाएको छ ।

खासगरी ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकको हवाई भाडामा ५० प्रतिशत छूट, हवाई भाडामा विदेशी र नेपालीलाई रहेको विभेद, नेपालमा हपाई इन्धन महंगो हुँदा वायुसेवा कम्पनीलाई परेको मर्काका विषयमा पनि सुझाव दिन समिति गठन गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ ।

समितिले सरोकारवाला निकायसँग छलफल गरी कार्यान्वयनको आधारसहित सुझाव दिने छ ।

समितिमा अर्थ मन्त्रालयका सहसचिव, उद्योग मन्त्रालयका सहसचिव, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक, नेपाल वायुसेवा निगमका निर्देशकस्तरका प्रतिनिधि, लेखा विज्ञ सौरभ रिजाल र वायुसेवा संचालक संघ नेपालका प्रतिनिधिलाई सदस्य तोकिएको छ ।

पर्यटन मन्त्रालय, हवाई उद्योग व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचिव सदस्य सचिव रहने गरी समिति बनाइएको हो । समितिले ३० दिनको समयावधि पाएकोछ ।