समाचार

ठूलो कारोबार गर्ने व्यक्ति अब सरकारको निगरानीमा

काठमाडौं । ठूलो कारोबार गर्ने व्यक्ति तथा संस्थामाथि अब सरकारले निगरानी बढाउने भएको छ ।

सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धमा कम्पनीहरुलाई जारी गरिने निर्देशिका २०७६ ल्याउन लागेको सरकारले अब एक पटकमा २५ लाख र सो भन्दा माथिको कारोवार गर्ने व्यक्ति तथा संस्थामाथि निगरानी बढाउने भएको हो ।

ठूलो कारोबार गर्ने व्यक्ति तथा संस्थाले तीन पुस्ते विवरण भरेपछि मात्र कारोकार गर्न पाइने गरी निर्देशिका ल्याउन लागेको कम्पनी रजिष्ट्रार कार्यालयको भनाई छ ।

खासगरी जोखिमपूर्ण अवस्थाका व्यक्ति र उनीहरुको परिवारमा विशेष निगरानीमा राख्दै अब कम्पनीहरुले ठूलो कारोबारीको कारोबारमा कडाई गर्नु पर्ने भएको छ ।

सरकारले कम्पनीहरुलाई जिम्मेवार बनाएर व्यक्ति तथा संस्थाको कारोबारमाथि निगरानी बढाउन लागेको हो ।

वार्षिक १ करोडभन्दा बढीको र एक पटकमा २५ लाखसम्मको कारोबार गर्ने व्यक्ति तथा संस्थालाई ठूला कारोवारीको परिभाषामा राखिएको छ ।

कारोबार गर्ने व्यक्ति वा संस्था वास्तविक धनी वा हिताधिकारी भए–नभएको पहिचानका लागि यस्तो नियम लागु गर्न लागिएको कार्यालयले उल्लेख गरेको छ ।

अब कारोबारमा व्यक्तिको नाम, ठेगाना, जन्ममितिदेखि तीनपुस्ते विवरण अनिवार्य लिनु पर्ने र नलिए सम्बन्धित कम्पनीमाथि कारवाही हुने भएको छ ।

पेशागत विवरण, परिवारको सदस्य उच्च पदीय हैसियतमा रहे–नरहेको समेत उल्लेख गरेपछि मात्र कारोबार गर्र्ने गरी निर्देशिका आउँदैछ ।

यो निर्देशिका १ असोजबाट कार्यान्वयन गर्ने तयारी सरकारको रहेको छ । व्यक्ति तथा संस्थासँग उल्लेखित विवरण माग नगरी कारोबार गरे त्यसमा सजायको भागिदार सम्बन्धित कम्पनी हुने गरी कानून बताइएको छ ।

सम्पत्ति शुद्धिकरणसम्बन्धी कानूनहरुले उच्च पदस्थ व्यक्तिहरुलाई जोखिमपूर्ण सूचीमा राखेका हुन्छन् । त्यसकारण उनीहरुको कारोबार बढी निगरानी गर्ने गरिन्छ ।

अब कम्पनीहरुले उच्च पदस्थ व्यक्तिको पहिचान गरी उनीहरुको व्यक्तिगत विवरण नियमित रुपले अद्यावधिक गर्नुपर्ने कानून बन्दैछ ।