विश्व

खुल्ने भयो मलेसियाको रोजगारी

काठमाडौं । अन्ततः मलेसियाको रोजगारी खुल्ने भएको छ । करीव डेढ वर्षदेखि ठप्प रोजगारी खुलाउने सहमति दुई मुलुकबीच सहमति भएको छ ।

बन्द रोजगारी तत्काल खुलाउने सहमति भएको हो । नेपाल र मलेसियाबीच सहसचिव स्तरमा उक्त सहमति भएको हो ।

दुबै देशका श्रम मन्त्रालयका सहसचिव स्तरीय प्राविधिक समितिमा यस्तो सहमति जुटेको श्रम तथा रोजगार मन्त्रालयले जानकारी दिएको छ ।

सहमति अनुसार नेपालबाट शून्य लागतमा नयाँ कामदार मलेसिया जान पाउनेछन् । कामदार जाने प्रक्रियामा लाग्ने खर्च रोजगारदाता कम्पनी स्वयमःले बेहोर्नुपर्ने भएको छ ।

अर्कोतर्फ नेपालमा मेडिकल गर्दा लागेको कामदारको खर्चसमेत पहिलो महिनाको तलब आउने समयमा रोजगारदाता कम्पनीले नै थपेर कामदारीलाई दिनु पर्ने सहमति जुटेको छ ।

यी दुई मुलुकबीच गत कात्तिकमा भएको श्रम मसझदारी कार्यान्वयन गर्ने सहमति भएको मन्त्रालयले जानकारी दिएको छ । दुई देशबीचको पछिल्लो समझदारीसँगै अब मलेसियाको रोजगारी सूचारु हुने भएको हो ।

अब मलेसियाका लागि १२२ वटा स्वास्थ्य संस्थाले मेडिकल गर्न पाउने भएका छन् । शून्य लागतमा कामदार लैजाने सहमति भएसँगै मलेसियामा सरकारले लिएको अडान सफल समेत भएको छ ।

मलेसिया जाने कामदारमाथि शोषण र ठगी भएको भन्दै सरकारले १२ जेठ २०७५ देखि मलेसियाका लागि श्रम स्वीकृति दिन बन्द गरेको थियो । श्रममन्त्री गोकर्ण विष्टले ठगी गर्ने कम्पनी र व्यक्तिमाथि व्यापक कारवाही चलाएको थिए ।

गत १२ कात्तिकमा मलेसिया जाँदा एक रुपैयाँ पनि शुल्क तिर्नु नपर्ने र लागेको सबै शुल्क रोजगारदाताले नै बेहोर्ने गरी मलेसिया सरकारसँग श्रम समझदारी भएको थियो ।

तर, मलेसियाले पुरानै कम्पनीहरुमार्फत नयाँ कामदारको भिसा प्रक्रियाअघि बढाउन खोजेपछि नेपाल सरकारले आलटाल गर्दै आएको थियो ।