समाचार

आजबाट सोह्र श्राद्ध शुरु

काठमाडौं । शनिबारबाट हिन्दु धर्मावलम्बीहरुले पितृको सेवामा सोह्र श्राद्ध मनाउँदैछन् । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म सोह्र श्राद्ध गरिन्छ ।

शनिबार पहिलो दिन प्रतिपदा तिथिमा पर्ने श्राद्ध गरिन्छ । आज बिहान ९ बजेसम्म पूर्णिमा र त्यसपछि प्रतिपदा तिथि लाग्ने पञ्चांक निर्णायक समितिले जानकारी दिएको छ ।

सोहीकारण शनिबार बाटै सोह्रश्राद्धको काम प्रारम्भ भएको छ । सोह्र श्राद्धभर दिवङ्गत पितृलाई सम्मान गर्ने, तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यस मासलाई सोह्र श्राद्ध भनिएको जानकारहरु बताउँछन् ।

चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा रहेको छ ।

नेपालीहरुको महान चाड बडादशैं र तिहार के मूखमा सोह्रश्राद्ध गरी पितृलाई खुसी बनाउने तथा सम्मान व्यक्त गर्न यो प्रचलन प्रारम्भ भएको हो ।

सोह्रश्राद्धबाट पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने मान्यता रहेको छ ।

सोह्रश्राद्धका अवसरमा काठमाडौँको गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती उत्तरगया, चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाट, त्रिवेणीलगायत तीर्थस्थलमा पनि पितृप्रति श्रद्धाभावकासाथ श्राद्ध गर्नेको घुइँचो लाग्ने गर्दछ।

सोह्र श्राद्ध सकिएकै भोलीपल्टबाट नवदूर्गा प्रारम्भ हुन्छ ।