फिचर

नेपाल कुनै सैन्य गठबन्धनमा सहभागी हुँदैन : प्रचण्ड

इलाम । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्ति अमेरिकालाई उत्तेजित बनाउन नआएको स्पष्ट पारेका छन् ।

उनले नेपाल विश्वका कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट पार्दै यो अडानमा यथावत रहेको बताएका छन् ।

इलाममा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले नेपाल असंलग्न र स्वतन्त्र परराष्ट्र नीतिमा अडिग रहेको बताएका हुन् ।

केही दिन अगाडी चिनियाँ विदेश मन्त्रीसँगको भेटमा प्रचण्डले नेपाल इन्डो प्यासिफिक सैन्य गठबन्धनमा सहभागी नहुने भनेर दिएको अभिव्यक्ति बाहिरिएपछि अहिले हंगामा भइरहेको ।

खासगरी यसलाई अमेरिकाले नेपालको चिनियाँ झुकावका रुपमा व्याख्या गरेको छ । किनकी यो सैन्य गठबन्धन अमेरिकाको नेतृत्वमा गठन भएको हो ।

प्रचन्डले भने नेपालको विदेश नीति अनुसार नै आफूले अभिव्यक्ति दिएकाले यसमा भ्रम हुनु पर्ने कुनै कारण नरहेको बताएका छन् ।

बिम्स्टेक वा इन्डो प्यासिफिक कुनै पनि सैन्य समूह, गठबन्धन या अभ्यासमा आफूहरु संलग्न नहुने उनको भनाई छ ।

रणनीतिक खालका सैन्य अभ्यासमा नेपाल तटस्थ बस्ने नीति रहेको उनको भनाई छ । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणमा प्रधानमन्त्री, परराष्ट्र मन्त्री र आफ्ने अडान यसमै रहेको प्रचण्डको दावि छ ।

उनले नेपाल एक चीनको नीतिमा समेत अडिग रहेको प्रतिक्रिया दिए ।

क्यूवा वा भेनेजुएलाका विषयमा आफूले दिएका अभिव्यक्ति पनि नेपालको परराष्ट्र नीति अनुसार नै भएको उनको भनाई छ ।

यसले अमेरिकालाई उत्तेजित बनाउनु पर्ने कारण नभएको उनले स्पष्ट पारे । कुनै पनि देशको आन्तरिक मामिला त्यहीँ देशले टुंग्याउनुपर्छ भन्नेमा पार्टी र सरकार अडिग रहेको उनको भनाई छ ।