विश्व

हङकङमा गोर्खा सैनिकको भरोसा, विमानस्थलपछि अब रेल्वे स्टेशनमा समेत गोर्खा

हङकङ । हङकङमा तीन महिना भन्दा लामो समयदेखिको आन्दोलनका क्रममा आन्दोलनकारीले निसाना बनाउन थालेको विमानस्थल र रेल्वे स्टेशन सुरक्षाको जिम्मा अब क्रमशः गोर्खा सैनिकलाई दिन थालिएको छ ।

हङकङमा गोर्खा सैनिकलाई अति संवेदनसिल क्षेत्रको मात्र सुरक्षा गर्न दिइन्छ । तर, पछिल्लो समय आन्दोलनकारीले बढी सेवा प्रभवित हुने क्षेत्रहरुलाई आन्दोलनको निसाना बनाएका छन् ।

किनकी हङकङमा विमानस्थल र रेल्वेमा दैनिक हजारौं मानिसले सेवा लिन्छन् । यो ट्रान्जिट प्वाइन्ट भएका कारण पनि यहा संसारभरका पर्यटक प्रभावित हुने गरेका छन् ।

रेल्वे स्टेशनमा प्रदर्शनीकारीले तोडफोड गर्ने, बिना पैसा यात्रा गर्ने र अराजकता फैलाउन थालेछि गोर्खा सैनिक परिचालन गर्नुपरेको सरकारको भनाई छ ।

बिहीबारबाटै गोर्खा सैनिकलाई रेल्वे स्टेशनमा खटाउन थालिएको थियो । शनिबारबाट थप गोर्खा सैन्य स्टेशनमा खटिने भएका छन् । हङकङ विमानस्थलमा करिब सय जना गोर्खा सुरक्षाकर्मीले अहिले पनि सुरक्षा दिइरहेका छन् ।

हङकङमा नेपाली सुरक्षाकर्मीलाई विशेष प्राथमिकता दिइन्छ । विश्वासिलो र भरपर्दो सेवाका रुपमा उनीहरु गोर्खा सैनिकलाई लिने गर्छन् ।

हङकङमा सुपुर्दगी सम्बन्धी विधेयकको विरोधमा शुरु भएको आन्दोलन क्रमशः स्वतन्त्रताको मागतर्फ उन्मुख भइरहेको छ । दिनहुँ प्रदर्शन जारी रहेको छ ।

पछिल्लो समय प्रदर्शनकारीले प्रतिवन्धमा रहेको राष्ट्रिय गान सार्वजनिक स्थलमा गाएर सरकारको विरोध गरिरहेका छन् । उनीहरुले वर्तमान चिनियाँ राष्ट्रिय गान बहिष्कारको नीति लिएका छन् ।

हजारौं प्रदर्शनकारी स्वतन्त्रताका लागि लडौंं, हङकङको गौरव कायम राखौं भन्ने सन्देशसहित प्रतिवन्धित राष्ट्रिय गान गाउँदै आन्दोलन गरिरहेका छन् ।

एजेन्सी