घूमघाम

दशैंदेखि छठसम्म हवाई भाडामा १० प्रतिशत छूट

काठमाडौं । आन्तरिक उडानमा असोज १२ देखि कात्तिक १७ गतेसम्म १० प्रतिशत छूट पाइने भएको छ । वायुसेवा संचालक संघ (आयोन)को आइतबार बसेको बैठकले छूट दिने घोषणा गरेको हो ।

निजी वायुसेवा कम्पनीहरुले पहिलो पटक छूट योजना ल्याएका हुन् । यसअघि दशैं र तिहारमा टिकट समेत किन्न नपाइने नेपालमा पछिल्लो समय वायुयानको वृद्धिले कम्पनीहरुसँग पर्याप्त मात्रामा टिकट उपलब्ध छन् ।

सोहीकारण अधिकांश टिकट बिक्रि गराउने योजनासहित कम्पनीहरुको यो रणनीति आएको हो ।

आयोनका अध्यक्ष क्या. रामेश्वर थापाका अनुसार यस्तो छूट पाउन भने टिकट सम्बन्धित कम्पनीको काउन्टरबाटै खरीद गर्नुपर्छ ।

सामान्यतया यात्रुले ट्राभल, टूर तथा टिकेटिंग एजेन्सीबाट टिकट खरीद गर्ने गर्छन् । त्यस बेला भने कम्पनीहरुले छूट नदिन सक्छन् ।

तर, जुन कम्पनीको टिकट लिने हो, सोही कम्पनीको काउन्टरबाट लियो भने छूट उपलब्ध हुने आयोनले उल्लेख गरेको छ ।