समाचार

शेर्पा किदुगको खेलकूद प्रतियोगिता सम्पन्न

न्यूयोर्क/अमेरिका
शेर्पा किदुगको २३ औं खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । युनाइटेड शेर्पा एसोसिएशनले हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको छ । त्यसै अन्तरगत दुई साता अघि ग्रीष्मकालीन खेलकूद प्रतियोगिता सम्पन्न भएको हो ।
बिभिन्न खेलमा भएको प्रतियोगितामा यस वर्षको भलिबल उपाधि सिन्धु समाजले हात पारेको थियो । भने तमु समाज न्युयोर्क दोश्रो भएको थियो । फुटबल तर्फ एन वाई एन एफ सि ले प्रथम पुरस्कार लिएको थियो भने युनाइटेड शेर्पा फुटबल क्लब दोश्रो स्थान ओगट्न सफल भएको थियो । ३५ वर्ष भन्दा माथि उमेर समुहको फुटबलमा प्रथम पुरस्कार एन वाई जि एफ सि (गुरुङ समाज) ले हात पारेको थियो । दोस्रो पुरस्कार घ्याल्सुम्दो सेवा संस्थाले लियो ।
फुटबलको फेयर प्ले अवार्ड एन वाई जि एफ सी ले प्राप्त गरे भने ३५ वर्ष माथिको समुहको फेयर प्ले अवार्ड तामाङ् सोसाइटीले पाएको थियो । विजयी खेलाडीलाई नेपाली महावाणिज्यदूत पुष्पराज भट्टराई, किदुगका अध्यक्ष उर्गेन शेर्पा, किदुगका ट्रस्टी संयोजक पेम्बा ग्याल्जेन शेर्पा, उपाध्यक्ष तथा खेलकूद संयोजक फुर्वा शेर्पा र युनाइटेड शेर्पा फुटबल क्लबका जेनेरल म्यानेजर छिरिङ् ग्याल्जेनले शील्ड, प्रमाणपत्र, ट्रफी र मेडल वितरण गरेका थिए ।
न्युयोर्क शहरको दुईटा बेग्ला बेग्लै पार्कमा एकै साथ शुरु भएको प्रतियोगितामा फुटबल, भलिबल, १०० मिटर दौड, छेलो, पुरुष टग् अफ वार, महिला टग् अफ वार, स्पून रेस, स्याक् रेस, म्युजिकल चेयर लगायत थुप्रै खेलहरु खेलाइएको थियो । किदुगको गल्फ प्रतियोगिता एक महिना अघि नै सम्पन्न भएको थियो । खेलाडीको अत्यधिक चापका कारण बास्केटबल खेल दुई महिना पछि सारिएको छ ।
‘मिनी ओलम्पिक’ उपनामले चिनिने उक्त प्रतियोगितामा न्युयोर्क सिटीका काउन्सिल मेम्बर कोस्टा कन्स्टेन्टटिनिडिसको प्रमुख आतिथ्यमा उदघाटन गरिएको थियो । कार्यक्रममा काउन्सिल मेम्बर कोस्टाले किदुगले आफ्नो मौलिक संस्कृति संरक्षणका लागि बिभिन्न कार्यक्रमहरु, शेर्पा भाषा, नेपाली भाषा, मौलिक नाचगानका कक्षाहरु, थुप्रै खेलकुद कार्यक्रमहरु संचालन गर्दै आएको बताएका थिए । किदुगले न्युयोर्क शहरमा उदाहरणीय काम गरेको भन्दै कोष्टाले खुलेर प्रसंसा गरेका थिए । कोष्टाले समाज सेवामा विशिष्ट योगदान पु¥याउने शेर्पा किदुगका पदाधिकारीलाई सिटी काउन्सिलका तर्फबाट कदर पत्र समेत प्रदान गरेका थिए । शेर्पा किदुगका अध्यक्ष उर्गेन शेर्पाले काउन्सिल् मेम्बरलाई मायाको चिनो स्वरुप बुद्ध स्तुप प्रदान गरेका थिए ।
महावाणिज्यदूत भट्टराईले खेलकूद लगायत विभिन्न कार्यक्रमहरु आयोजना गरी शेर्पा किदुगले नेपाली डायस्पोरामा एकता र सद्भाव बढाउन अग्रणी भूमिका निर्वाह गरिरहेको बताएका थिए ।