समाचार

५ महिनामा विपद्ले लियो २७१ को ज्यान

प्रतिकात्मक तस्वीर

काठमाडौं । प्राकृतिक विपत्तिमा परी ५ महिनाको अवधिमा २ सय ७१ जना मानिसले ज्यान गुमाउन बाध्य भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार वैशाख २०७६ यता प्राकृतिक विपत्तका कारण ति मानिसको ज्यान गएको हो । यसबीचमा ६ सय ४६ जना मानिस घाइते भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

सबैभन्दा धेरै बाढी पहिरोले नेपालीको ज्यान लिएको छ । बैशाखयता बाही पहिरो, चट्टयांगबाट बढी मानिसले ज्यान गुमाउनु परेको हो ।

यी घटनाका कारण ७ सय ६७ जनाले आफ्नो थातथलो छाडी विस्थापित हुनु परेको छ ।

गुल्मी, काठमाडौं, रोल्पा, रुकुमसहित पहाडी इलाका र पूर्वी तराइका धेरै जिल्ला प्राकृतिक प्रकोपबाट प्रभावित भए ।

प्राकृतिक विपत्तिका कारण १ हजार ६३ चौपाया मरेका छन् । ४ हजार ६०७ घर डुबानमा परेको तथ्यांक सरकारले सार्वजनिक गरेको छ ।

यसअवधिमा १५ पुल क्षतिग्रस्त भएका छन् । विपदले दुई अर्ब ४२ करोड ५५ लाख बराबरको धनमाल क्षति भएको आंकलन प्रहरीले गरेको छ ।

यद्दपी यसवर्ष अझै मनसुन सकिएको छैन । पश्चिमी वायुको प्रभावले पुनः सक्रिय भएको मनसुनका कारण पछिल्लो तीन चार दिन यता देशभर लगातार वर्षा भइरहेको छ ।