घूमघाम

कीर्तिपुर अर्थात सानो नेपाल

​​प्रेमकृष्ण श्रेष्ठ / किर्तीपुर

हालै नवनियुक्त पर्यटन मन्त्री माननीय योगेश भट्टराईले कीर्तिपुरको पुष्पलाल स्मृति प्रतिष्ठानमा राखेको एक बधाइ सभाको सम्बोधनमा आफूले जीवनको महत्वपूर्ण समय कीर्तिपुरमा बिताएकोले कीर्तिपुरसँग टाढा हुन नसक्ने कुरा राखे । दश मिनेटको भाषणमा ‘कीर्तिपुर’ शब्द कतिपटक उनको ओठमा पुष्पित भयो, गिन्तीसाध्य थिएन ।

आज नीति निर्माताको झुण्डमा यस्ता मानिसको संख्या पातलै होला, जस्ले जीवनको महत्वपूर्ण समय कीर्तिपुरमा नबिताएको होस् । यहाँको एउटै कोठामा दसौं रंग पोतिन्छन्, एउटै झ्यालमा यहाँ बाह्रौ पर्दाको बदली हुन्छ । देशका सत्ततरै जिल्लाकै बिद्यार्थीहरु यो सानो पर्यटकीय नगरीमा सपना पछयारहेका पाइन्छन् । यतै मैले तामाङ्ग र बाहुनको संयोजन देखेको छु । मण्डल र क्षेत्री आपुसमा होलीमा रंगिरहेको पाएको छु । मालामा कुनै जातिको फूल अछुटो छैन यो सानो नगरीमा । यसैले यो भन्न सकिन्छ, कीर्तिपुर सानो नेपाल हो । यही सानो नेपालको प्रभावस्वरुप, नेपालको जुनसुकै ठूल्ठूला अन्य ‘पुरहरु’मा हुने शभाहरुमा पनि यो सानो ‘कीर्तिपुर’ सगर्व उच्चरित हुन्छ ।

यस्ता यस्ता देशैभरिका मनमुटुसँग न्यानो सम्वन्धको बावजुद पनि कीर्तिपुर चोइटिएको छ कता, कता । उजुरी कतै पनि छैन, यद्यपि कीर्तिपुरको सवालमा, पहिलादेखि नै राज्य पीडक जस्तो देखिन्छ भने कीर्तिपुर पीडित । एसएलसी दिँदा राजेन्द्रलक्ष्मीको वीरताको वारेमा लेख्नुस भनेर प्रश्न सोध्दा एक पाना नै भर्ने आम नेपालीले, कीर्तिपुरका एक विराङ्गना नारी कीर्तिलक्ष्मीको नामसम्म सुनेको छैन । त्यही विराङ्गना नारी न हुन्, जस्को ‘कीर्ति’ले कीर्तिपुर बन्यो । त्यही इतिहासले जित्ने ‘लक्ष्मी’ अमर बनाइन भने हार्ने ‘लक्ष्मी’ मारिइन । जित्नेहरुको पनि इतिहास हारिसकेको छ आज । यसैले आज कीर्तिपुरको ‘कीर्ति’लाई पनि खोजी खोजी लेख्नुपर्छ । अझै लेखिएको छैन । एक थान अन्याय यसैमा भयो कीर्तिपुरलाई ।

राजालाई भगवान्को औतार मानी, राजाको टाउकोसम्म फर्काउने कीर्तिपुरेको प्रतिकुल परिस्थितिमा त्यही टाउको फिर्ता लिएकाहरुले नाक, कान काटियो भन्छन्, अन्यायको अर्को अध्याय यो । कीर्तिपुरमाथि भएको अन्यायको गिन्ती गरेर साध्य छैन ।

छिमेकी काकाले औँला भाँच्दै भन्नुभयो, बल्खु नपुग्दै मेरो दश रोपनी जग्गा थियो सवै विश्वविद्यालयमा लाग्यो । यसो भन्दा उनका आँखा भुलभुल थियो । बल्खुको जग्गा आज आनाको ५० लाख भन्दा बढी होला । यो हिसावले रोपनीको छ, आठ करोड आउँछ । यस्तै यस्तै औँला भाँच्नेहरुको कथै कथा छ, कीर्तिपुरमा ।

त्रिभूवन विश्वबिद्यालय देशकै त्यो फूलवारी हो, जहाँ कीर्तिपुरका सारा जनताको आँसुको शीत लागेको छ । आज कीर्तिपुरमा कुनै गरिब बाउलाइ छोराले ‘सुकुम्वासी’ भनेर गाली गर्छ भने त्रिविको माटामा गएर आँसुको ढिका खसाल्दै रुन्छन् । आफू निभेर देश बालेका जनताको छोराछोरीलाई त्रिविले के दियो त आज ? चारैतिर लखेटेर भागेर आएको त्यो त्रिविलाई संरक्षण दिने घरपेटीलाई त्रिविले के ज्याला दियो त ? विश्वबिद्यालयले त्यत्रो चर्चेको जग्गा छ, तर कोही कीर्तिपुरेलाई हृदयघाट भयो भने पुग्नुपर्छ उहीँ पन्ध्र किलोमिटर टाढा शिक्षण अस्पताल । कीर्तिपुरलाई टेकेर नेताहरुले प्रजातन्त्र कमायो, आखिर वीर शहीदहरुको शहर, नेताहरुको स्वार्थपूर्तिपछि यो कीर्तिपुर, माउसुलीको परित्यक्त पुच्छर जस्तै रहयो । जुनै सफल जीवनले, यो कुरा सहर्ष स्वीकार्छन कि म अतीतको कुनै समय कीर्तिपुरको पाँगामा बस्थेँ, नगाउँमा, चोभारमा, भाजुंगलमा आदि इत्यादि ।फलानो ज्यापुचाले दशदिन हामीलाई भात खुवायो, तिलानो ज्यापुचाले आफूहरु छिँडीमा सुतेर हामीलाई महिनौँ कोठामा सुताए । यस्ता किस्सा धेरैको मुख मुखमा छ, तर आज सताको नसामा तिनै ज्यापुहरुको नामसम्म याद छैन तिनीहरुलाई । बर्षेनी हजारौ बिद्यार्थीहरु झोला लिएर आउँछन्, पढाइ पुरा गर्छन् र झोला लिएर हजारौँ उतै फर्कन्छन् । जस्ले जे भनोस्, गौँथलीको गुँड जस्तो कीर्तिपुरले धेरै यस्ता आगन्तुकलाई उज्ज्वल भविष्यको कामना गरी, हात हल्लाएर बिदाइ गरेको छ । कीर्तिपुरले सँकटमा थुप्रै नेताहरुलाई पाले । जव सतामा पुगे तिनै नेताहरु, देशको मानचित्र टेबुलमा ओछयाए, कीर्तिपुर देखेनन् तिनै नेताहरुले, जहाँको ज्यापूहरुको हत्केला सापति लिएर ताली बजाउन लगाएका थिए, गणतन्त्रको लागि, बसाठ्ठी—त्रिसाठ्ठीको जनआन्दोलनमा । छाती थाप्न लगाएका थिए छयालीस सालमा प्रजातन्त्रका लागि ।

सायद सबै कीर्तिपुरवासीलाई यो कुरा काँडा जस्तो बिझदो हो, कीर्तिपुरको वारेमा धेरैजसोलाई नाम सुनेको छौ भनेर सोधे कीर्तिपुरमा विश्वविद्यालय छ होइन र भनेर प्रतिप्रश्न पाइन्छ । मानौ विश्वविद्यालय कीर्तिपुर हो र कीर्तिपुर विश्वबिद्यालय हो । यो भन्दा अर्को कीर्तिपुरको पहिचान छैन । शिक्षाको फूलवारी यहाँ हुनु गर्वको कुरा हो तर कीर्तिपुरमा विश्वविद्यालय मात्र मगमगाएको छैन । कीर्तिपुरबाट विश्वविद्यालयको एक थुँगा फूल हटाएर हेरे पनि कीर्तिपुर प्राकृतिक, सांस्कृतिक र भाषिक विविधताको फूलमाला हो । विश्वविद्यालय स्थापनापूर्व पनि कीर्तिपुरको एउटा छुट्टै पहिचान थियो ।गोर्खाली सेनाले दुईपटक आक्रमण गरेर पनि पराजय भोगेको कीर्तिपुरमै हो । कालु पाण्डेको शिर काटिएकोदेखि सुरप्रताप शाहको आँखा यतै्र फोडिएको थियो । गोर्खाली सेनाको खोसिएका हातहतियार अझै कीर्तिपुरको बाघभैरव मन्दिरको भितामा झुन्डयाइएका छन् । देशमै प्रतिष्ठित बाघभैरव मन्दिर, कीर्तिपुरको उचाइमा रहेको उमामहेश्वरको मन्दिर, चोभारको डाँडो, आदिनाथ मन्दिर, टौदहको निलो छाती, पुष्पलाल पार्कको शीरमा फुलेका हरियो वन कीर्तिपुरका सम्पदाहरु हुन् । कति रमणीय र पर्यटकीय थलो हो भनेर प्रसिद्ध निवन्धकार शंकर लामिछानेले आफ्नो आत्मपरक निवन्धमा टुरिष्टसित कीर्तिपुर घुम्दाको प्रसंग जोडेका छन र ‘कीर्तिपुरलाई हातीवन आमाको काखमा जान बामे सरेको केटो’ उपमा दिएका छन् ।

कीर्तिपुरको विगतको जति प्रभा छ, भविष्यको पनि त्यतिकै आभा छ । भोलिको दिवशमा, होमस्टेको नगरीको रुपमा चिनिँदैछ, कीर्तिपुर । कीर्तिपुरले आफ्नै ब्राण्डको आलोकमा ‘युद्धपार्क’ उजागर गर्दैछ । हरित नगरीको रुपमा आफ्नो परिचय छाती खुलाएर दिँदैछ । विश्वभरि मनाइने पर्यटन वर्षलाई पछयाउँदै, दुई हजार वीसको लागि कीर्तिपुरको हत्केलाभरि फूलगुच्छा छ । स्वप्नद्रष्टाको परिकल्पनामा बुनिँदै, बुनिँदै गइरहेको छ, कीर्तिपुर ।

कीर्तिपुरको भूगोलमा रहेर सगर्व यो प्रश्न गर्न सकिन्छ, कीर्तिपुरमा के छैन ? कीर्तिपुर आफैमा एउटा पूर्ण शहर हो । प्रकृतिले सम्पन्न छैन कि ? संस्कृतिले महाजन होइन कि ? भाषाले कुबेर बनेन कि ? कीर्तिपुरको भिता भितामा कोरिएको छ, इतिहासमा नभएका इतिहासहरु । बाघभैरव मन्दिरभरि टाँगेका हतियारलाई पढने हो भने थाहा पाइन्छ, राज्यको सामाजिक शिक्षाले कीर्तिपुरलाई कति विभेद गरेको छ । ।

कीर्तिपुर, कहिले मदन भण्डारीको अविरमा रंगियो त कहिले प्रचण्डको फूलमालामा गुटमुटिए । यहीँको भूमिमा, छयालीस सालमा चार जना शहीदहरुले सहादत प्राप्त गरे । कीर्तिपुर वीरहरुको शहर, यो कुरा हरेक अखवारमा लेख्नुपर्छ अव । अप्ठयारो पर्दा मात्र शरण माग्ने ठाउँ हुनु भएन कीर्तिपुर । सुखमा पनि राज्यले ‘चेयसर्’ गरोस् कीर्तिपुरसित समृद्धिको । कीर्तिपुरले राज्यको धेर्रै व्यवस्था फेरे, आज दुई तिहाइको सरकारले कीर्तिपुरको अवस्था फेर्नुपर्छ । होइन भने कीर्तिपुर अव अर्को संकटमा मौन रहन सक्छ । हत्केलाहरु लाटो भएर ताली नबोल्न सक्छन् । महामारीमा मात्र सम्वन्ध केलाउँदै आउने पाहुनाको लागि ‘अतिथि देवो भव’ च्यातिन सक्छ । जीवनको अमूल्य हिस्सा यतै बिताएकाहरुले कीर्तिपुर अर्थात सानो नेपालको अन्तर्ध्वनी सुनोस, यही नै अपेक्षा लिएर कीर्तिपुरबासीको स्पन्दन गुञ्जायमान छ ।